उम्मेदवारी खारेजविरुद्ध राजु गुरुङ सर्वोच्चमा, शुक्रबार पेशी
प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेज गरिएका नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन्।
प्रतिनिधि सभा सदस्यका लागि उनले रुपन्देही २ बाट उम्मेदवारी दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो।
त्यसका विरुद्ध उनले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उम्मेदवारी रद्द गर्ने निर्णय बदरका लागि आदेश माग गरेका छन्।
गुरुङको निवेदनमा शुक्रबार पेशी तोकिएको छ। शुक्रबार एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको सर्वोच्चको पेशी सूचीमा उल्लेख छ।
उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए। निर्वाचन अधिकृतले ब्यांकिङ कसूर लागेकाले उनको उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो।
रुपेन्देही २ मा नेपका (एमाले)बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बनेका छन्। आयोगले गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज गरेपछि पौडेललाई सहज हुने देखिएको छ।