टुकुचाको सुरूङ भत्काउने कि जोगाउने?
टुकुचालाई भूमिगत बनाउन निर्माण गरिएको संरचना भत्काउने भन्दा पनि यसमाथि भएको अतिक्रमणबारे सोच्न जरुरी छ।
टुकुचा (तुखुचा) लाई १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर जबराले केही ठाउँमा भूमिगत बनाएको संरचनालाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को निर्देशनमा धमाधम भत्काउँदा प्रशंसा र वाहवाही त मिल्यो, तर इतिहास, संस्कृति र पुरातत्वका सन्दर्भमा भने गम्भीर प्रश्न उठेका छन्। प्रश्न मेयर साह वा महानगरपालिकासँग मात्रै होइन, यसको समर्थनमा वाहवाह गर्नेहरूसँग पनि हो।
टुकुचालाई भूमिगत बनाउने इँटा निर्मित संरचना फगत भौतिक निर्माण मात्रै होइन, पुरातात्विक पनि हो। पुरातत्व सम्बन्धी नेपालको कानून ‘प्राचीन स्मारक संरक्षण ऐन’ले एक सय वर्षभन्दा पुरानो जुनसुकै भौतिक वस्तु वा संरचनालाई ऐतिहासिक तथा पुरातात्विक महत्त्वको मान्छ।
पुरातात्विक महत्त्वका कुरामा तत्कालीन ज्ञानविज्ञान, इतिहास, संस्कृति लगायतका विषयवस्तु निहित हुन्छन्, जुन भविष्यका लागि मार्गनिर्देशन गर्छन्। तर, टुकुचामाथि निर्मित संरचना भत्काउँदै गर्दा र त्यसको समर्थनमा भएको वाहवाहीले पुरातात्विक विषयवस्तुलाई ध्यान नदिएको, उपेक्षा गरेको र संवेदनशील हुन नसकेको देखिन्छ।
काठमाडौं उपत्यकाको नदी प्रणालीको एउटा हिस्सा टुकुचा हो। यहाँका सबै साना-ठूला नदी अन्ततः बागमतीमा विलय हुन्छन् र उपत्यकाबाट बाहिरिन्छन्। नदीको सोझो र सीमित अर्थ पानी बहने बाटो हो, तर खानेपानीको स्रोत पनि रहेको कुरा भुल्नु हुँदैन। दायाँबायाँको क्षेत्रलाई सिंचित गर्ने त भयो नै कृषिजन्य उत्पादनमा महत्त्वपूर्ण भूमिका हुन्छ।
विश्व मानव सभ्यताको विकास नदी किनारमै भएजस्तो काठमाडौं उपत्यकाको विकास पनि नदी किनारमै भएको छ। अझ नदीलाई काठमाडौंको सांस्कृतिक जीवनले तीर्थकै रुपमा अंगिकार गरेको छ। टुकुचाकै कुरा गर्ने हो भने पनि यसको दायाबायाँ थोरै सही तर धार्मिकस्थल बनेको छ।
टुकुचाको अर्को नाम इच्छुमती हो। यो कालमोचन घाटमा बागमती नदीसँग मिल्छ। त्यो दोभानलाई इच्छुमती तीर्थ नाम दिइएको छ।
तथापि, टुकुचा काठमाडौंमा लामो समयदेखि फोहर बगाउने र दुर्गन्धको पर्याय बन्दै आएको छ। सफा, स्वच्छ र पिउन योग्य पानी बग्ने नदीमा फोहर फाल्ने, घरघरको फोहोर बग्ने नालीलाई जोड्ने, नदीको भू-क्षेत्र मिच्ने र व्यक्तिगत संरचना बनाएर साँघुर्याउने काम हाम्रो जीवन दर्शनमा आएको परिवर्तनको परिणाम हो। यसमा राज्यले प्रोत्साहन मात्रै गरेन, राज्यकै विभिन्न निकाय संलग्न पनि भए।
नदीमाथिको यो कुकर्मलाई जायज ठहर्याउन आजको दिनमा टुकुचा भनेको नदी नै होइन, ढल मात्रै हो भन्ने भाष्य तयार पारिँदै छ। ‘ढाँटेको कुरा काटेर मिल्दैन’ भन्ने उखान टुकुचाको सन्दर्भमा ठ्याक्कै मिल्छ।
टुकुचाले पाएको नामले नै यो ढल होइन, नदी हो भन्ने प्रमाणित गर्छ। स्थानीय नेपालभाषामा ‘खु’ शब्दले नदी र शब्दको पछाडि प्रयुक्त हुने ‘चा’ शब्दले सानो अर्थ दिन्छ। ‘तु’ शब्दले उखुको अर्थ दिन्छ। उखुसँग यो नदीको खासै सम्बन्ध देखिँदैन, तर अन्य कुनै अज्ञात मूलशब्दको बिग्रह भएको अनुमान गर्ने ठाउँ भने दिन्छ।
त्यही ‘तु’ लाई गैर नेवारभाषीले ‘टु’ र ‘खु’लाई ‘कु’ बनायो। अर्थात् ‘तुखुचा’ नै ‘टुकुचा’ बन्यो। तर, नेवारहरू अहिले पनि यसलाई तुखुचा नै सम्बोधन गर्छन्।
यसले इच्छुमती नाम पाएको भलै पछि होला, टुकुचा भने चार-पाँच सय वर्षभन्दा अघि नै हो। ढल हुँदो हो त यसले कुनै नाम पाउँदैनथ्यो। ढलको पानी सफा, स्वच्छ र पिउन योग्य हुँदैनथ्यो। ढललाई बागमतीमा बिलय हुन दिइँदैनथ्यो। यहाँ भने बागमतीमा बिलय मात्रै भएको छैन, बिलय हुने स्थलले ‘इच्छुमति तीर्थ’ नाम पाएको छ।
नदी प्राकृतिक सम्पदा हुन्। प्राकृतिक भएता पनि मान्छेसँग सम्बन्धित हुनपुग्दा धार्मिक तथा सांस्कृतिक आस्था जोडिन पुग्छ। नदीलाई पवित्र र तीर्थको रुपमा ग्रहण गर्ने तथा त्यस वरिपरि देवस्थलको निर्माण हुने भएकाले प्राकृतिक मात्रै नभएर ऐतिहासिक तथा सांस्कृतिक महत्त्व पनि बोक्छन्। टुकुचाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको छ।
हात्तीसारको जय नेपाल हलदेखि कमलादीसम्म करीब पाँच सय मिटरको टुकुचा भूमिगत छ। नदीलाई भूमिगत बनाउने जिम्मेवारी त्यो समयका प्रख्यात इन्जिनियर जोगवीर स्थापितले पाएका थिए। संरचना गुम्बज शैलीमा निकै मजबुतसँग बनाइएको छ। यसको निर्माण सुर्की, चुना, माटो र इँटाबाट भएको छ। खोला छोप्न बनाइएको संरचनामा लगाइएको गारोको मोटाई १४ देखि २० इन्च छ। महानगरको डोजरले सितिमिति भत्काउन सकेकै थिएन।
कुनै पनि ठाउँको संरचना सय वर्ष पुरानो छ भने त्यसलाई हठात् भत्काउन मिल्दैन। टुकुचामाथि बनाएको संरचना त १३० वर्ष पूरानो छ। भूमिगत बनाइएको टुकुचा खोज्ने जिम्मा पुरातत्व विभागलाई दिनु पर्थ्यो वा विभागको सहयोग लिनु पर्थ्यो, तर महानगरले समन्वय समेत गरेन। डोजर लगाएर भूइँ खोतल्दै जाँदा इँटा निर्मित संरचना देखिएपछि नदी यही बाटो भएर बगेको भनेर निक्र्र्योल भइहाल्यो, त्यसपछि थप भत्काउनु पर्ने जरुरत नै थिएन।
महानगरले भत्काए लगत्तै गठित अध्ययन टोलीले टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने निष्कर्ष निकालेको छ। अध्ययन समितिका अनुसार टुकुचाको यो खण्ड प्राचीन भएको, वीरशमशेरका पालामा निर्माण भएको, बस्ती डुबान हुनसक्ने भएकाले त्यसलाई रोक्न संरचना (डुँड) बनाइएको तथ्य पत्ता लागेको छ। टुकुचाको संरचनामाथि महानगरले विना अध्ययन अन्धाधुन्ध डोजर चलाएको जनाउँदै अब त्यस्तो गर्न नदिने र जहाँ जहाँ खाल्डो खनेर संरचना भत्काएको छ, त्यहाँ मौलिक शैलीमै पुर्नुपर्ने विभागको भनाइ छ।
टुकुचालाई प्राकृतिक रुपमा नै बहन दिनुपर्ने कुरामा दुईमत छैन। २०६५ मंसिर १ गते मन्त्रिपरिषद्को बैठकले पनि टुकुचाको अतिक्रमित भाग खाली गर्ने तथा दायाँबायाँ चार-चार मिटर छाडेर मात्रै अरु संरचना बनाउने निर्णय गरेको थियो। त्यसकै आधारमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७७ मा डीपीआर तयार पारेको थियो।
अब प्रश्न उठ्छ, नदीलाई भूमिगत बनाउन निर्मित संरचना भत्काउनै पर्छ त? पुरातत्व विभागको निष्कर्ष छ- भत्काउनुहुँदैन। यसको अर्थ टुकुचाको मामिलामा दुई वटा दृष्टिकोण अपनाउनुपर्छ। पहिलो, भूमिगत गरिएको नदीलाई यथावत् नै राख्ने। दोस्रो, खुल्ला नदी आसपासमा रेखांकन गरी त्यसको बाहिरी स्थान खाली गराउनुपर्छ।
नदीलाई भूमिगत गरिएको ठाउँको जग्गा व्यक्तिलाई बेचबिखन गर्नुमा राज्यकै कमजोरी देखिएको छ। यस अवस्थामा छानबिन गरी दोषी र अतिक्रमणकारीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिई नदीको जग्गा नदीलाई नै दिने चाँजोपाँजो मिलाउनुपर्छ। यसरी प्राप्त हुने जग्गामाथि हिड्ने बाटो वा बगैंचा निर्माण गरेर महानगरको शोभा बढाउन सकिन्छ।
महाननगरका अनियमित संरचना भत्काउँदा पाएको प्रसंशा वा वाहीवाहीलाई टुकुचाको भूमिगत संरचना भत्काउने कार्यसँग जोड्न मिल्दैन। भत्काउने नै हो भने पनि यो महानगरसँग मात्रै सम्बन्धित कुरा होइन। यसका लागि विज्ञहरूसँग अनेक दृष्टिकोणबाट छलफल गरिनुपर्थ्यो। पुरातात्विक भएकाले भत्काउनै हुँदैन भन्ने जड दृष्टिकोण लिनु पनि हुँदैन। तर, त्यसबाट के कति फाइदा हुने हो भन्नेमा ध्यान दिनैपर्छ।
काठमाडौं महानगरले भने टुकुचाको यो ऐतिहासिक संरचना र नगरका अतिक्रमित संरचनामा केही फरक देखेन। यो दृष्टिकोण काठमाडौंजस्तो ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक नगरका लागि खतरनाक छ। पुराना कुरा भत्काउनु नै विकास निर्माणको शुरूआत हो भन्ने दृष्टिकोण अन्य क्षेत्रमा पनि हाबी हुने भएकाले काठमाडौं महानगरलाई यति वेला सचेत गराउनै पर्छ। यसअघि यस्तै दृष्टिकोण उपत्यका विकास प्राधिकरण लगायत निकायले लिएको थियो, जसले काठमाडौंको मूर्त तथा अमूर्त सम्पदालाई क्षति पुग्यो।
महानगरपालिकाले टुकुचामा देखाएको जाँगर बागमती, विष्णुमती लगायत अन्य नदीमा पनि नदेखाएसम्म खासै अर्थ लाग्दैन। टुकुचा एउटैले काठमाडौंलाई समेट्दैन। ध्यान दिनैपर्ने कुरा टुकुचामा जस्तो इतिहास र पुरातात्विक महत्वका संरचनालाई बेवास्ता गर्न मिल्दैन। हजारौं वर्षको सभ्यताले निरन्तरता पाइरहेको काठमाडौं उपत्यकाको अध्ययन अनुसन्धानका लागि आवश्यकता हेरी अन्तर्राष्ट्रिय परामर्श लिनुपर्नेमा महानगरले राष्ट्रिय निकायलाई पनि बेवास्ता गर्दै एक्लै हिड्छु भन्नु यहाँको संवेदनशीलतालाई आत्मसात गर्नुबाट चुक्नु हो।