कारबाही गर्ने अधिकारसहित आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्ला आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्।
जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेमा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख तथा आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता पौडेलले बताए।
सबै जिल्ला अधिकृतलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको अधिकार पनि दिइएको छ। त्यसको जानकारी सम्बन्धित जिल्लाको आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउन भनिएको छ।
आचारसंहिताको पहिलो संशोधनमा प्रत्येक जिल्लामा आयोगले तोकेका वा खटाएको नेपाल सरकार वा प्रदेश सरकारको अधिकृतस्तरको कर्मचारीले निर्वाचन आचारसंहिता अधिकृतका रूपमा काम गर्ने उल्लेख छ।
प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति रहने व्यवस्था रहेको छ। केन्द्रमा आयोगका आचारसंहिता हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति छ।