आयोगले दाहाललाई भन्यो–अचारसंहिता उल्लंघनमा तपाईंलाई किन कारवाही नगर्ने?
निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आचारसंहिता उल्लंघन गरेकाे भन्दै स्पष्टीकरण सोधेको छ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल पञ्चेबाजा सहित गोरखा–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गर्न गएका थिए। आयोगले असोज २६ गते दाहाललाई सात दिने स्पष्टीकरण सोधेको हो।
निर्वाचन आचारसंहिताको १३ (ण)मा भनिएको छ, ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक र समर्थक सहित पच्चीस जनाभन्दा बढीको जुलूस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकी सहित जान नहुने’ व्यवस्था छ।
“यहाँको मनोनयन दर्ता गर्ने क्रममा पञ्चेबाजाको प्रयोग भएको हो भने निर्वाचन आचार संहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ण) को व्यवस्थाको उल्लंघनमा यहाँलाई किन कारवाही गर्नुनपर्ने हो?” आयोगका कानून अधिकृतले दाहाललाई पठाएको स्पष्टीकरणमा भनिएको छ, ‘यो पात्र प्राप्त भएको मितिले सात दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णय अनुसार अनुरोध गरिन्छ।”
दाहाल लगायतका नेताहरुले उम्मेदवारी दर्ता गर्न जाँदा आचार संहिता उल्लघंन गरेको समाचार हिमालखबरले असोज २४ गते प्रकाशन गरेको थियो।
निर्वाचन आयोग ऐनमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था छ।