दशैंमा ब्यांकबाट आठ अर्ब झिकियो
दशैं अवधीमा ब्यांकबाट करीब रु. आठ अर्ब निक्षेप झिकिएको छ।
दशैंका बेला ब्यांकको निक्षेप घटेको छ। नेपाल ब्यांकर्स संघको तथ्यांक अनुसार, दशैंको एक सातामा ब्यांकबाट करीब रु. आठ अर्ब निक्षेप झिकिएको छ।
ब्यांकमा १४ असोजसम्ममा रु. ४५ खर्ब १९ अर्ब निक्षेप रहेकोमा २१ असोजसम्म आइपुग्दा निक्षेप रु. ४५ खर्ब ११ अर्बमा ओर्लिएको छ। पछिल्ला ६ साता ब्यांकमा लगातार बढेको निक्षेप दशैंमा भने घटेको हो। दशैं खर्चका लागि सर्वसाधारणले रकम झिकेका कारण निक्षेप बाहिरिएको अनुमान छ।
यो अवधिमा ब्यांक कर्जासमेत घटेको छ। १४ असोजमा रु. ४१ खर्ब ९७ अर्ब रहेको कर्जा एक सातापछि रु. ४१ खर्ब ९३ अर्बमा ओर्लिएको छ।
कोभिड १९ को प्रभाव मत्थर भएसँगै गत वर्षदेखि नै ब्यांक तथा वित्तीय संस्थाहरु लगानीयोग्य रकमको अभावसँग जुधिरहेका छन्।
कर्जा प्रवाहका तुलनामा निक्षेप नबढेपछि ब्यांक तथा वित्तीय संस्था लगानीयोग्य रकमको चापमा छन्। जसकारण ब्यांक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा दुबैको ब्याजदर उकालो लागिरहेको छ। अहिले एक वर्षे मुद्दति निक्षेपको ब्याजदर १२.३३ प्रतिशत पुगिसकेको छ।
ब्यांक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारीसम्म पुगेपछि उद्योगी व्यापारीले ब्याजदर नियन्त्रणको माग गर्दै आएका छन्। ब्याजदर घटाउने उपाय खोज्न अर्थ मन्त्रालयले गठन गरेको समितिले बजारको ब्याजदर नियन्त्रणमा हस्तक्षेप गर्न नहुने निष्कर्ष निकालेको छ। अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदी नेतृत्वको समितिले बजारको ब्याजदरलाई हस्तक्षेप गरेर नियन्त्रण गर्न नहुने सुझाव बुझाएको हो।
यसैबीच, ब्यांक तथा वित्तीय संस्थाले कात्तिकबाट लागू हुने गरी पूरानो कर्जाको ब्याजदर बढाउने तयारी गरेका छन्। लागतमा वृद्धिसँगै नयाँ कर्जाको ब्याजदर शुरुमैं उच्च भएपनि पूरानो कर्जाको ब्याजदर भने तीन–तीन महीनामा मात्रै पुनरावलोकन गर्न पाइने प्रावधान छ। जसअनुसार, असार मसान्तपछि पूरानो कर्जाको ब्याजदर परिवर्तन हुन पाएको थिएन।
ब्यांकको आधार दरमा बढोत्तरीसँगै असोज मसान्तमा ब्याजदर बढाएर पुनरावलोकन गरिने तयारी छ । जसअनुसार, पूरानो ऋणीले यसअघिको भन्दा थप ब्याजदर तिर्नुपर्ने हुनसक्छ।