पशुपतिमा पार्किङ लथालिङ्ग, कोषको बेवास्ताले आगन्तुकलाई सास्ती
पशुपतिनाथ मन्दिर क्षेत्रको पार्किङ स्थल व्यवस्थित नहुँदा दर्शन गर्न र अन्तिम संस्कारमा आउनेहरूले सास्ती खेप्नु परेको छ।
विगतको पार्किङ क्षेत्र गौरीघाटतर्फ पार्किङ गर्दा बाटो साँघुरो हुने र बौद्ध-जोरपाटी जाने सवारी साधनको चाप बढेपछि पार्किङका लागि हालको खुला चौर छानिएको हो। तर, पानी जम्ने र हिलो हुन थालेपछि आउजाउमै समस्या भइरहेको छ।
हाल पार्किङ स्थल बनाइएको सुमार्गी भवन अगाडि पानी जम्ने गरेको छ। अस्थायी पार्किङको लागि भनेर छानिएको यस ठाउँमा पार्किङ गर्न थालिएको लामो समय भए पनि पार्किङ व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले ध्यान दिएको छैन।
पार्किङस्थल अस्थायी भएकाले केही समस्या भए पनि खासै ठूलो व्यवधान नभएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीकाे भनाइ छ। “पशुपति क्षेत्रमा व्यवस्थित पार्किङका लागि नयाँ गुरुयोजनाका साथ अघि बढ्ने योजना छ,” अधिकारीले भने, “नयाँ गुरुयोजना मन्त्रालयमा पेश गरिसकेका छौं।”
पशुपति क्षेत्रमा कुनै पनि निर्माण कार्य गर्दा विस्तृत विवरण र योजना पुरातत्व विभागबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ। पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले निर्माण कार्य गर्दा निश्चित मापदण्ड पूरा हुनुपर्छ। कोषले तयार पारेको पार्किङ स्थलको गुरुयोजना हाल स्वीकृतीको प्रक्रियामा रहेको छ।
“संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गुरुयोजना स्वीकृत हुन्छ वा हुँदैन भन्ने चुवावपछि मात्र थाहा हुन्छ,” अधिकारीले भने, “हाल हामीले हिलो र पानीले समस्या नहोस् भनेर पार्किङ स्थलमा ग्राबेल हालेका छौं। पार्किङ समय पनि दुई घण्टालाई मात्र तोकेको छौं, तसर्थ खास समस्या छैन।”
अहिले पार्किङ स्थल बनाइएको ठाउँमा विगतमा मान्छेहरूले जग्गा ओगटेर घर बनाएका थिए। पशुपति विकास कोषले अतिक्रमण गरेर बसेकालाई हटाएर खुला गराएको हो। पशुपति क्षेत्रलाई व्यवस्थित गर्ने काम भने प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन।
विगतमा गाडीलाई पशुपति मन्दिर नजिकैको वृद्धाश्रमसँगैको बाटोमा पनि पार्किङ गर्ने गरिएको थियो। त्यहाँ अहिले जुत्ता राख्ने स्टल बनाइएको छ। तर, लामो समयदेखि कुमारीगालमा बस्दै आएका शान्त खरेल पार्किङले गर्दा पशुपति दर्शनमा समस्या हुने गरेको बताउँछन्। “पशुपतिको पश्चिमतर्फको उमाकुण्ड क्षेत्रमा पनि पार्किङ गर्ने दिएका छन्। मान्छे पनि हिँड्नुपर्ने, गाडी पनि गुड्नुपर्ने ठाउँमा पार्किङ गर्न दिँदा समस्या भइरहेको छ,” खरेल भन्छन्।
स्रोत र साधनको दुःख नभएको कोषले पार्किङजस्तो सामान्य काम पनि व्यवस्थित गर्न नसकेको आक्रोश पशुपति दर्शनका लागि आएका पवन सिग्देलको थियो। “यत्रो आस्थाको केन्द्रमा कहाँ-कहाँका मान्छे धाएर आउँछन्। जाबो पार्किङको काम पनि मिलाउन नसकेकोे कोषले गर्छ चाहिँ के?,” उनले भने, “फेरि हामीले पैसा तिररै पार्किङ गर्ने हो। शुल्क लिएपछि सुविधा दिनेबारे पनि सोच्नु पर्यो नि।”