जीटुजीको मल कात्तिक मसान्तमा मात्रै आउने
‘जीटुजी’ सम्झौता अनुसार भारतबाट ल्याइने ३० हजार मेट्रिक टन रासायनिक मल कात्तिक मसान्तभित्र आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
रोपाइँका लागि किसानलाई ‘फास्ट ट्रयाक’ बाट मल ल्याउन खोजिए पनि सफल हुन नसकेपछि गहुँ र अन्य बालीका लागि भने ‘जीटुजी’ प्रक्रियाको मल आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। “मल कात्तिक मसान्तसम्म नेपाल आइपुग्नेछ,” सञ्जेलले भने। दुई देशबीच खरीद सम्बन्धी कानूनी प्रावधान मिलाउन समय लागेकाले तत्काल मल ल्याउन नसकिएको उनले बताए।
मल उपलब्ध गराउने भारतीय कम्पनी (आरसीएफ)लाई भुक्तानी दिने प्रक्रिया अघि बढेको उनले जनाए। गत फागुनमा नेपाल र भारतबीच सरकारस्तरीय सहमतिबाट पाँच वर्षका लागि रासायनिक मल खरीदको सम्झौता भएको थियो।
कृषि सामग्री कम्पनीले चालू आर्थिक वर्षमा एक लाख मेट्रिक टन मलका लागि ग्लोबल टेन्डर आह्वान गरेकोमा ३० हजार मेट्रिक टन युरिया मात्र आइपुगेको छ भने ४० हजार मेट्रिक टन आउने प्रक्रियामा छ। ३० हजार मेट्रिक टन युरिया भने विशाखापटनम् बन्दरगाहमा आइपुगेको मन्त्रालयले जनाएको छ।
त्यसै गरी साल्ट ट्रेडिङसँग ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापटनम् बन्दरगाहमा आइपुगेको र असोज ३१ गते वीरगञ्ज आइपुग्ने कम्पनीले जनाएको छ। २७ हजार मेट्रिक टन युरिया मलको खरीद सम्झौता भइसकेको र सो मल मंसीर पहिलो हप्ता नेपाल आइपुग्नेछ। २० हजार मेट्रिक टन डीएपी मल खरीदका लागि टेन्डर भई खरीद सम्झौता हुने क्रममा रहेकाले मंसीर अन्तिमसम्म नेपाल आइपुग्नेछ। हाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमा सात हजार नौ सय ८९ मेट्रिक टन युरिया, ४२ हजार नौ सय ९३ मेट्रिक टन डीएपी, चार हजार तीन सय २२ मेट्रिक टन पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ।