झलनाथका छोरासँग जोडिएको मुद्दाले राजु गुरुङको उम्मेदवारी खारेज
रुपन्देही–२ मा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनबाट उठेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।
स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उजुरीमाथि छानबिन गर्दा गुरुङ अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जनाएका छन्।
पूर्व प्रधानमन्त्री झलनाथ खनालका छोरासँग जोडिएको ब्यांकिङ कसूर सम्बन्धी मुद्दाका कारण गुरुङको उम्मेदवारी खारेज भएको हो। गुरुङ र खनालका छोरा निर्भीक चित्रकार खनाल लगायत ६ जनालाई जिल्ला अदालत काठमाडौंले चेक अनादर सम्बन्धी मुद्दामा २०७८ मंसीर १२ गते दोषी ठहर गरेको थियो।
गुरुङ र निर्भीकको संलग्नता रहेको नर्थ वेस्ट नेपाल इन्फा प्रालिले दुई करोड २५ लाख रुपैयाँ नतिरेपछि २०७६ सालमा ब्यांकिङ कसूर सम्बन्धी उजुरी परेको थियो। सोही उजुरीमा सुनुवाई गर्दै अदालतले जरिवाना सहित बिगो तिराउने फैसला गरेको थियो।
रुपन्देही–२ मा हाम्रो नेपाली पार्टीका कमल भुसालको पनि उम्मेदवारी खारेज भएको छ।
यो क्षेत्रमा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन्।