विद्युत् निर्यात एक अर्ब युनिट नाघ्यो, झण्डै आठ अर्ब आम्दानी
भारततर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको छ। विद्युत् निर्यातबाट सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी भएको छ।
भारततर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्री शुरू गरेको थियो। त्यसयता असोज २५ सम्म एक अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको विद्युत् प्राधिकरणले जनाएको छ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। “विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रा लागि अर्को कोशेढुंगा हो,” उनले भने। निर्यात गरिएको विद्युत्को प्रति युनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ।
शुरूमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि जेठ २७ देखि ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट चार अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ। यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् निर्यातबाट करीब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्को औसत दर प्रति युनिट सात रुपैयाँ ९१ पैसा रहेको छ।
भारततर्फ नेपालले थप विद्युत् निर्यातका लागि पहल गरे पनि भारतले यसको अनुमति दिएको छैन। जसकारण अहिले दैनिक ३०० मेगावाट हाराहारीमा विद्युत् खेर गइरहेको अनुमान छ।