बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चार दलको चेतावनी
सत्तारूढ चार दलले आआफ्ना पार्टीबाट बागी उम्मेदवार बनेका कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असोज २५ गते संयुक्त विज्ञप्ति मार्फत उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका हुन्। निर्वाचन आयोगले दिएको मितिभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीबाटबाट निष्कासन गरिने उनीहरूको चेतावनी छ।
“निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवार फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने व्यवहोरा अवगत गराइन्छ,” विज्ञप्तिमा भनिएको छ।
गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको सहमति विपरीत बागी उम्मेदवारी परेपछि उनीहरूले यस्तो निर्देशन दिएका हुन्।