‘नेपाली साहित्यको समस्या विचारको होइन, व्यापकताको हो’
‘कुनै पनि कुराको विश्वव्यापीकरणका लागि पहिले त त्यसको सिद्धान्तीकरण हुनुपर्यो कि त साहित्य, लेखरचना आदिलाई अनुवाद गर्नुपर्यो। तर, हामीले नेपाली साहित्यलाई सीमित घेरामा राखेका छौं।’
अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तो सांस्कृतिक अध्येता/अनुसन्धाता पनि हुन्। खास गरी दक्षिणएशियाली संस्कृतिमाथि गहन दृष्टि राख्दै आएका उनीसँग समसामयिक समाज, सबल्टर्न साहित्य र अनुसन्धानको अवस्थामा केन्द्रित रहेर सुमन मण्डलले गरेको कुराकानीको सारः
तपाईंद्वारा सम्पादिन लिटरेरी थ्योरी एन्ड क्रिटिसिज्मः रिसेन्ट राइटिङ्स फ्रम साउथ एशिया किताब भर्खरै निस्किएको छ। दक्षिणएशियाली सन्दर्भमा सबल्टर्न साहित्यलाई कसरी हेर्नुहुन्छ?
बृहत् सिद्धान्त र साहित्यको कुरा गर्दा, उत्तर–औपनिवेशिक सिद्धान्त, साहित्य र कला पनि सबल्टर्नको चिन्तनबाट निस्केको छ। यसैले मैले यो किताबमा उत्तर–औपनिवेशिक प्रकृतिका लेख सङ्कलन गरेको छु। यसमा उपनिवेशका समस्या र नारीवादी लेखहरू छन्। अनि अतिया हुसैनको उपन्यास सनलाइट अन अ ब्रोकन कोलम र टैगोरको ‘चोखेरवाली’ जस्ता साहित्यमाथि लेखिएको लेख पनि छन्। अंग्रेजीमा लेखिएका दक्षिणएशियाली लेख र किताब त पढिएका छन्, तर यिनको आलङ्कारिकता, रेह्टोरिक, भाषा र तर्कको मर्मलाई खासै ध्यान दिइएको पाइँदैन। मैले यस किताबमा यी पक्ष पनि हेर्ने प्रयास गरेको छु। लेखाइ, वाक्य संरचना र विधिबारे छलफल गरेको छु।
कुनै पनि भाषामा लेख्दा त्यसको सांस्कृतिक प्रभावमा लेखक परिहाल्छ। कसैसँग कुनै हतियार छ भने त्यसको प्रयोग गर्नुपर्छ। अंग्रेजी सञ्चार, संवाद, साहित्य, कला, प्रस्तुतिको शक्तिशाली हतियार हो। उसैको भाषा लिएर उसैमाथि लेख्नु, व्याख्या र विश्लेषण गर्नु हतियार प्रयोग गर्नु हो। प्रतिवाद त्यति वेला मात्र सफल हुन्छ जब म तपाईंको हतियार तपाईंमाथि नै प्रयोग गर्न सक्छु। यसैले अंग्रेजीमा लेख्ने बित्तिकै औपनिवेशिक भइँदैन। सलमान रुश्दी भन्छन् कि अंग्रेजीसँग ‘हाइब्रिडाइज’ गर्ने शक्ति छ। यसैले यो प्रतिवादको सशक्त भाषा हो। यसैले यो हाइब्रिडाइज्ड अंग्रेजी दक्षिणएशियाली अंग्रेजी लेखनमा पनि देखिन पर्यो। यसैले मैले दक्षिणएशियाली– श्रीलंका, बाङ्लादेश, पाकिस्तान र भारतका लेखकहरू समावेश गरेको छु।
रवीन्द्रनाथ टैगोरले राष्ट्रवादलाई सङ्कीर्ण विचार भन्दै यसले समाजमा विषमताको बीजारोपण गर्ने बताएका थिए। दक्षिणएशियाको सामाजिक परिवेशमा राष्ट्रवादको सवाललाई तपाईंले कसरी हेर्नुभएको छ?
टैगोरले त्यस वेलाको परिस्थिति हेरेर विश्लेषण गरेका थिए। राष्ट्रवादको सांगठनिक स्वरूपले मानिसले आफैंलाई सर्वोत्कृष्ट ठान्ने, त्यागको भावना नष्ट गरिदिने भन्दै उनी यसलाई ठूलो खतरा भन्थे। राष्ट्रवादको यो विकराल रूप यूरोपमा त हिटलरकै वेलादेखि थियो। नभन्दै अहिले दक्षिणएशियामा यही राष्ट्रवाद फर्किएको छ, खास गरी भारतमा। हामीले राष्ट्रवादलाई नकारात्मक र सकारात्मक दुवै दृष्टिले हेर्नुपर्छ। तर, हामी अहिले केवल सकारात्मक रूपले हेरिरहेका छौं। राष्ट्रवाद आदेशात्मक हुन्छ। यो राजनीतिक रूपमा व्यापक, लेख संरचनामा भावुक अनि सैन्य रूपमा आधिकारिक हुन्छ। आलङ्कारिकतामा ‘फासिस्ट’ हुन्छ। यसले हामी र अरूलाई छुट्याउँछ र अरूको सफाया गर्छ।
मुलुकको राजनीति सुधार्नमा प्राज्ञ, लेखक, साहित्यकार वा विश्वविद्यालयहरूको कस्तो भूमिका हुन्छ? पछिल्ला दिन यिनीहरू बढी नै राजनीतिक भएको आरोप छ नि!
विश्वविद्यालयले जुनसुकै कुरालाई विश्लेषण गर्छ। विश्वविद्यालय साहित्य, कला, विज्ञान र अरू विषय जत्तिकै राजनीतिको पनि थलो हो। यसले राज्य र शासकलाई प्रश्न सोध्नैपर्छ। विशेष गरी मानविकीको काम यही हो। विश्वविद्यालयले सिद्धान्तको कुरा मात्र गर्दैन, समाजको व्याख्या र विश्लेषण पनि गर्छ। फ्रान्सेली विद्वान् ज्याक डेरिडाका भनाइमा विश्वविद्यालय यस्तो थलो हो जसले मानव जाति र मानव अधिकार, मानवता विरुद्ध अपराधका विषयसम्म पनि प्रश्न सोध्न सक्छ। यसमा कुनै प्रतिबन्ध हुनु हुँदैन। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), ढाका विश्वविद्यालय र केही हदसम्म त्रिभुवन विश्वविद्यालयले पनि प्रश्न गरिरहेकै छन्। तर, यिनीहरूले राजनीति गरेको भन्दै सङ्कीर्ण आरोप लगाएर अप्ठ्यारोमा पार्ने प्रवृत्ति छ।
तपाईंले दक्षिणएशियामै वैकल्पिक साहित्यको खाँचो औंल्याउँदै आउनुभएको छ। यो भनाइको अर्थ के हो?
हामीले अहिले भारतकेन्द्रित मानसिकताबाट मात्र दक्षिणएशियालाई हेरिरहेका छौं। नेपाल वा बाङ्लादेशको दृष्टिकोणबाट हेरिए यसको भूराजनीतिक चरित्र बेग्लै हुन्छ। हुन त भारतको हजारौं वर्षको विज्ञता र दर्शन, धार्मिक भाष्य अनि साहित्यिकता छ। तर, यही पक्षबाट मात्र हेर्दा दक्षिणएशिया प्रष्ट देखिँदैन। नेपालको दृष्टिकोणबाट हेरिए उत्तरतिर तिब्बत र चीनको सम्बन्धको पनि कुरा आउँछ। त्यसैले हेर्ने स्थान र दृष्टिकोण फेर्नुपर्छ।
वैकल्पिक र सबल्टर्न साहित्यबीच समानता वा द्वन्द्व केकस्ता छन्?
यसको व्याख्या गाह्रो छ। सबल्टर्नको कुरा भन्नैपर्छ, तर भनेपछि यसले पोल्छ पनि। यसमा द्वन्द्व भएकैले मलाई मन पर्छ, तर मानिसहरू यसलाई मन पराउँदैनन्। सबल्टर्न साहित्य र कलाको प्रसङ्गमा म नेपाली दोहोरी गीत, मिथिला कला र प्रेमचन्द अनि फणीश्वरनाथ रेणुको साहित्य सम्झिन्छु। तुलना पनि गर्छु। मिथिला कलाको सिर्जनशीलता दोहोरीसँग समानान्तर देख्छु। दोहोरीमा सामूहिक वार्तालापको विशेषता छ, बहुलता छ। स्वच्छन्द भावहरू स्वस्फूर्त रूपमा आइरहेका हुन्छन्। दोहोरीको आधुनिकीकरण पनि भएको छ। लोकदोहोरीका तात्त्विक, अनुभवपरक र द्वन्द्वात्मक पक्षहरू खास छन्। गायत्री स्पिभाकको शब्दमा दोहोरी एउटा राष्ट्रिय वस्तु हो, तर राष्ट्रियता होइन। यो एउटा मौलिकता हो। दोहोरीले गाउँघरको स्मृति सिर्जनशीलताको रूपमा पेश गरेको हुन्छ, समूहहरूले एकअर्कासँग वार्तालाप गरेका हुन्छन्। द्वन्द्व, स्मृति, कल्पनासँगै यसको आफ्नै परिष्कृत भाषा पनि छ।
तर, रेणुको मैला आँचल वा कितने चौराहें र प्रेमचन्दको गोदान पनि सबल्टर्न साहित्य हो। सबल्टर्न बोलीलाई उनीहरूले संगठित हिन्दी भाषा मार्फत प्रतिनिधित्व गरेका छन्। त्यसैले यो दोहोरी र मिथिला कलाभन्दा फरक छ। प्रस्तुति र प्रतिनिधित्व सबल्टर्नका दुई फरक पक्ष हुन्। स्वच्छन्द रूपमा आत्मसात् गरेर कसैले समाज वा गाउँघरको कथा लेख्न सक्छ। वर्ड्सवर्थले पनि गाउँघरको कथालाई अंग्रेजी साहित्यमा संगठनात्मक तरीकाले लेखे। तर, प्रेमचन्द र रेणुले गाउँघरमै बसेर निकै आत्मसात् गरेर गाउँघरको कथा लेखे। शहरमा बसेर गाउँको कथा लेखेनन्।
कुनै विषयको अनुसन्धानका लागि त्यसको बृहत् र सघन अध्ययन आवश्यक पर्छ। नेपाली विश्वविद्यालयहरूमा यस्तो वातावरण कत्तिको छ?
गायत्री स्पिभाक डेथ अफ अ डिसिप्लिन किताबमा के भन्छिन् भने, जबसम्म समाजशास्त्र, मानविकी र साहित्यको विधिलाई संयोजन गर्न सकिँदैन तबसम्म राम्रो अनुसन्धान हुँदैन। आआफ्नो घेरो र टोलीमा खुम्चिएर अनुसन्धान हुँदैन। समाजशास्त्रको अनुसन्धान अनुभवपरक मात्र हुन्छ त? लिखित सिद्धान्त अध्ययनको शिक्षा त साहित्यले नै दिइहाल्छ। कुनै पनि कुराको गुह्य अनुसन्धान गर्ने, साहित्यको प्लट र चरित्र आदि सबै पक्षलाई हेरी व्याख्या गर्ने विधि भनेको चिन्तनशील अनुसन्धान हो। यससँगै अनुभवपरक अध्ययन पनि जरुरी छ। दुइटै विधि मिले मात्र अनुसन्धान राम्रो हुन्छ। तर, हाम्रो विश्वविद्यालय टोलटोलमा बाँडिएको छ। इतिहास, भूगोल, विज्ञान, साहित्यका अलग अलग बाकस छन्। यस्तो पद्धतिले अनुसन्धान राम्रो हुँदैन। वातावरणको अनुसन्धानका लागि कुनै व्यवस्थापकीय ज्ञान आवश्यक भए सम्बन्धित विद्यार्थीले त्यो विषय पढ्न पाउनुपर्छ, चाहे अर्कै विभागमा जान किन नपरोस्। आफ्नै टोल वा विभागमा खुम्चिएर अनुसन्धान पूर्ण हुँदैन। ज्ञानमा गतिशीलता हुनुपर्छ।
तपाईंको आफ्नै अनुसन्धान र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूमा शिक्षण विधिप्रतिको धारणा कस्तो पाउनुहुन्छ?
मलाई अनुसन्धानको ऊर्जा कक्षाकोठाले दिन्छ। अध्यापन गरिनँ भने म केही पनि होइन। कक्षाकोठालाई अनुसन्धानका गतिविधिसँग जोड्नुपर्छ। विश्वविद्यालय त अनुसन्धानको थलो हो, तर हाम्रो शिक्षा डिग्री दिन र जागीर पाउनमै सीमित छ। उच्च शिक्षामा त विद्यार्थीले दुई–तीन वर्ष अनुसन्धानलाई दिनैपर्छ। कक्षाकोठा आफैंमा पूर्ण नहुने भएकाले फिल्डमा गएर अनुसन्धान गर्नैपर्छ। तर, हाम्रो पद्धतिमा ९० प्रतिशत कक्षाकोठा छ। मेरो विचारमा ६०/७० प्रतिशत नै अनुसन्धान हुनुपर्ने हो। अमेरिकी, यूरोपेली विश्वविद्यालयहरूमा यस्तै हुन्छ। हामीकहाँ विद्यार्थीले डिग्री पाइसकेपछि अनुसन्धान गर्न कुनै प्रोत्साहन पाउँदैन। डिग्री पाएपछि उपयोगिता पनि हुनुपर्यो नि। खासमा समस्या पहिचान गर्ने र त्यसबारे लेख्ने काम नै डिग्रीपछि शुरू हुने हो। सुविधासम्पन्न अनुसन्धानले जबसम्म संस्थागत रूप लिँदैन तबसम्म अगाडि बढ्न सकिँदैन। यस्तो संस्था विश्वविद्यालयले मात्र बनाउन पर्छ भन्ने छैन, सरकारी वा गैरसरकारी पनि हुन सक्छ। तर, यसमा विश्वविद्यालयकै मुख्य भूमिका रहन्छ। सबै अनुसन्धान राम्रो नहोला, तर त्यसले नयाँ अनुसन्धानको बाटो खोल्छ।
साहित्यतर्फ नै फर्कौं, अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको स्थान कस्तो पाउनुहुन्छ?
नेपाली साहित्यको अनुवाद व्यापक छैन, खास गरी अंग्रेजीमा। नेपाली साहित्यको समस्या विचार र सम्पन्नताको होइन, व्यापकताको हो। अनुवादले साहित्यलाई व्यापक बनाउँछ। अंग्रेजी विश्वव्यापी रूपमा स्विकारिएको भाषा हो। कुनै पनि कुराको विश्वव्यापीकरणका लागि पहिले त त्यसको सिद्धान्तीकरण हुनुपर्यो कि त साहित्य, लेखरचना आदिलाई अनुवाद गर्नुपर्यो। तर, हामीले नेपाली साहित्यलाई सीमित घेरामा राखेका छौं। केही अनुवाद भएका छन्, दक्ष अनुवादक पनि छन्। तर, व्यापक हुन सकेको छैन।
(हिमालको २०७९ असोज अंकबाट।)