गृहमन्त्री लगायतका नेताहरूद्वारा आचारसंहिता उल्लंघन, उम्मेदवारी रद्द हुन सक्ने
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ताका क्रममा गृहमन्त्री बालकृष्ण खाँण लगायतका नेताहरूले आचारसंहिता उल्लंघन गरेका छन्।
निर्वाचन आचारसंहिता, २०७९ मा उम्मेदवार, प्रस्तावक र समर्थक सहित २५ जनाभन्दा बढीको जुलूस लिएर जान नहुने व्यवस्था छ। तर, यो प्रावधान सरकारमै बसेका नेताहरूले समेत पालना गरेनन्।
जस्तो गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खाँण असोज २३ गते रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्न दलबल सहित गए। उनी प्रदेश सभा सदस्यका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र कांग्रेसकै रामचन्द्र ढकाल सहित मनोनयन दर्ता गर्न गएका हुन्।
दलबल सहित उम्मेदवारी दर्ता गर्न जानेमा गृहमन्त्री खाँण एक्ला भने छैनन्। नेकपा (एमाले), कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका पार्टी तथा कतिपय स्वतन्त्र उम्मेदवारहरू समेत जुलूस सहित उम्मेदवारी दर्ता गर्न पुगे। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत जुलूस सहित निर्वाचन आयोगको कार्यालय गए।
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहालले पञ्चेबाजा सहित उम्मेदवारी दर्ता गरेको भिडिओ सार्वजनिक गरेका छन्। बाजागाजा र झाँकी लिएर उम्मेदवारी दर्ता गर्न जानु पनि निर्वाचन आचारसंहिता विपरीत हो।
उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिताको १३ (ण)मा भनिएको छ, ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक र समर्थक सहित पच्चीस जनाभन्दा बढीको जुलूस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकी सहित जान नहुने।’
बिहानीले दिनको सङ्केत गर्छ भने जस्तै उम्मेदवारी दर्तामा देखिएको उल्लंघनले प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा आचारसंहिता पालना हुनेमा आशङ्का जन्माएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ मा आचारसंहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सक्ने प्रावधान छ।