बलात्कार आरोपी सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको थियो। अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए। लामिछानेलाई प्रहरीले असोज २० गते नै नियन्त्रणमा लिएको भए पनि दशैंको बिदामा अदालत बन्द रहेकाले आज मात्र उपस्थित गराएको हो।
नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने विरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। जाहेरीमा उनले नाबालिकालाई भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।
जाहेरी परेका वेला लामिछाने क्रिकेट खेल्न विदेश गएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन भएका थिए। यसपछि नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।
यसपछि भने उनी आफैं स्वदेश फर्किएका थिए। त्यही वेला उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो।