उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने
प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गराएकाहरू विरुद्ध आज उजुरी दिन सकिनेछ।
असोज २३ गते मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा आज बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने सकिने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार‚ प्रतिनिधि सभातर्फ दुई हजार ५०२ जनाले मनोनयन दर्ता गरेका छन्। जसमध्ये पुरुष दुई हजार २६९ र महिला २३३ जना रहेका छन्। यस्तै‚ प्रदेश सभा तर्फ तीन हजार ४३६ जनाले मनोनयन दर्ता गरेका छन्। जसमध्ये पुरुष तीन हजार १३९‚ महिला २९६ र अन्य एक जना रहेका छन्।
असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ। यस्तै‚ असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। आगामी मंसीर ४ गते निर्वाचन हुने कार्यतालिका छ।