मकवानपुरमा तीन हजार नाघे डेंगी संक्रमित
मकवानपुरमा डेंगी संक्रमितको संख्या तीन हजार ३५८ जना पुगेको छ।
संक्रमितमध्ये एक हजार ८८२ जना पुरुष र एक हजार ४७६ जना महिला रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। जसमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा छन्। आइतबार हेटौंडामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या दुई हजार ७९५ जना पुगेको छ।
आइतबार नै थाहा नगरपालिकामा थप २५ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १०० पुगेको छ। यसै गरी, हालसम्म मकवानपुरगढीमा ५४, बागमती र कैलाश गाउँपालिकामा ६-६, मनहरी गाउँपालिकामा ३१२, इन्द्रसरोवर गाउँपालिकामा एक, भीमफेदी गाउँपालिकामा २८, बकैया गाउँपालिकामा २३, राक्सिराङ गाउँपालिकामा नौ, ठेगाना नखुलेका २० जना र अन्य जिल्लाका चार जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
डेंगी संक्रमणबाट हेटौंडामा एक एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।