सात व्यवसायी कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको चुनावी मैदानमा
नेपाली कांग्रेसबाट अर्बपति विनोद चौधरी सहित कम्तीमा सात व्यवसायीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
अर्बपति व्यवसायी विनोद चौधरी पहिलो पटक चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसका तर्फबाट नवलपरासी-१ बाट उनी उम्मेदवार बनेका छन्।
चौधरी यसअघि नेपाली कांग्रेसकै तर्फबाट समानुपातिक सांसद थिए। २०७४ सालको निर्वाचनअघि चौधरी नेपाली कांग्रेस प्रवेश गरेका थिए। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा चौधरीलाई नेकपा (एमाले)ले सभासद् बनाएको थियो।
चौधरी सहित कम्तीमा सात व्यवसायीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट चुनावी प्रतिस्पर्धा गर्दै छन्। उनीहरूलाई सत्तापक्षीय गठबन्धनले सघाउनेछ।
चितवन-२ मा व्यावसायिक पृष्ठभूमिका उमेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। शिक्षा, जलविद्युत्, हस्पिट्यालिटी लगायतका क्षेत्रमा लगानी भएका श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्री छन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्। श्रेष्ठ पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्।
मोरङ-३ मा मेडिकल कलेज सञ्चालक सुनील शर्मा उम्मेदवार बनेका छन्। उनले २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका थिए। शर्माको विभिन्न मेडिकल कलेजमा लगानी छ।
कांग्रेसले संखुवासभामा दीपक खड्कालाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। उनको पनि राजनीतिकसँगै व्यावसायिक पृष्ठभूमि छ। खड्काको जलविद्युत् लगायत क्षेत्रमा लगानी छ। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनी उम्मेदवार थिए।
त्यसै गरी, रसुवामा निर्माण व्यवसायी मोहन आचार्य नेपाली कांग्रेसका तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै छन्। उनको रसुवा कन्स्ट्रक्सन नेपालकै ठूला निर्माण व्यवसायी संस्थामध्ये एक हो। आचार्यले २०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए। कांग्रेसले रामेछापमा पनि निर्माण व्यवसायीलाई नै प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनाएको छ। निर्माण व्यवसायी कान्छाराम तामाङ कांग्रेसका तर्फबाट रामेछापमा चुनावी मैदानमा छन्।
गोरखा-१ मा व्यवसायी राजेन्द्र बजगाईंले टिकट पाएका छन्। बजगाईंले २०७४ को निर्वाचनमा प्रदेश सभामा प्रतिस्पर्धा गरेका थिए। उनी पर्यटन व्यवसायी हुन्।