चुनाव उठ्ने भएपछि योजना आयोग उपाध्यक्ष पौडेलको राजीनामा
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले पदबाट राजीनामा दिएका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तय भएसँगै पौडेलले २० असोजदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। पौडेल चितवन क्षेत्र नं १ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुँदै छन्।
सार्वजनिक पद धारण गरेको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था भएकाले उनले राजीनामा दिएका हुन्। २०७८ साउन १२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई आयोगको उपाध्यक्ष बनाएको थियो।
पौडेल सहित अर्का अर्थशास्त्री स्वर्णीम वाग्लेले चितवन १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुन इच्छा देखाएका थिए। तर, वाग्लेलाई पछि पार्दै पौडेलले टिकट पाएका छन्।