पार्टी निर्णय विपरीत एमाले नेता मेन्याङ्बोले दिए सुनसरी १ बाट उम्मेदवारी
नेकपा (एमाले)का नेता मनोजकुमार मेन्याङ्बोले पार्टीको निर्णय विपरीत सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईलाई सहयोग गर्ने एमालेले निर्णय गरेकोमा असन्तुष्ट मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। शनिबार भएको एमाले-जसपाको सहमतिमा उक्त क्षेत्र जसपाको भागमा परेको छ।
एमालेले जयकुमार राईको नाम सर्वसम्मत सिफारिश गरेको थियो। तर‚ केन्द्रमा तालमेल हुँदा अशोक राईले उक्त क्षेत्र पाएका छन्। केन्द्रको उक्त निर्णयबाट असन्तुष्ट एमाले कार्यकर्ताहरू सहित धरान सभागृह पुगेर मेन्याङ्बोले उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीले पटक पटक गलत निर्णय गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ।
मेन्याङ्बो २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीका किरण राईसँग पराजित भएका थिए। हाल उनी एमालेको प्रदेश कमिटी सदस्य छन्।
एमालेले जसपासँग तालमेल गरेपछि असन्तुष्ट मेन्याङ्बोले शनिबार पार्टीका स्थानीय कार्यकर्ता र शुभचिन्तकको भेला गरी राति १२ बजेसम्म निर्णय सच्याउन अल्टिमेटम दिएका थिए। निर्णय नसच्चाए पार्टीको साधारण सदस्य समेत त्यागी स्वतन्त्र उम्मेदवारी दिने उनले चेतावनी दिएका थिए।
एमालेले जित्दै आएको सुनसरी १ जसपालाई दिएपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट छन्। केन्द्रको निर्णयप्रति असन्तुष्ट प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीको संयोजकत्वमा मेन्याङ्बोलाई सघाउन १०१ सदस्यीय निर्वाचन परिचालन मूल कमिटी समेत गठन गरिएको छ।
यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा जसपाका उम्मेदवार अशोक राई एमालेका जयकुमार राईसँग पराजित भएका थिए।