वातावरणविद् अरनिको पाण्डे चुनाव नलड्ने
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार अरनिको पाण्डेले चुनाव नलड्ने घोषणा गरेका छन्।
वातावरणविद् पाण्डेले स्वास्थ्य समस्या देखाउँदै सामाजिक सञ्जालबाट चुनाव नलड्ने घोषणा गरेका हुन्।उनले भनेका छन्‚ “केही समयअघि कोभिड भयो र अहिले लङ कोभिडले गर्दा कमजोर महसूस भएकाले शरीरले आराम खोजेको छ, मैले रास्वपाको चुनावी घोषणापत्र तयार गरें, अब चुनाव लड्नका लागि थप ऊर्जा छैन।"
ललितपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। पार्टीले उक्त क्षेत्रमा डा. तोसिमा कार्कीलाई उम्मेदवार बनाएको छ। पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेको थियो। अहिले स्वास्थ्यको समस्या देखाउँदै उनले चुनाव नलड्ने बताएका हुन्।
जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाण्डेले अमेरिकाको म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी)बाट विद्यावारिधि गरेका छन्। आफ्नो मुद्दा देशव्यापी रूपमा लैजान र नयाँ पार्टीको संरचना बनाउने क्रममा नै सहभागी हुने अवसर दिएकाले स्वतन्त्र पार्टी रोजेको बताउँदै उनी चुनावी मैदानमा होमिएका थिए।