मनाङको मोहनी
लेकाली भेक भएकाले मनाङ उक्लिंदै गर्दा लेक लाग्ने जोखिम पनि हुन्छ । त्यसबाट मुक्त हुने उपाय हो– प्रकृतिको अनुपम छटाको आनन्द लिंदै सुस्तरी हिंडेर ठाउँ–ठाउँमा बास बस्दै आरामले मनाङ उक्लनु ।
- शब्द : रघु पन्त/तस्वीरः कादम्बिनी पन्त
आँखै अगाडि टिलिक्क हिमाल, बडेमानका पहाड, ठाउँठाउँमा हिमनदी र खोला, सुन्दर भूदृश्य र फरासिला मानिस । यी विशेषताले सिंगारिएको मनाङ जिल्ला विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका तालहरूमध्येमा पर्ने तिलिचो ताल (४,९१९ मिटर) का कारण प्रख्यात छ ।
मर्स्याङ्दीको सुसाइ र कतै पुग्न हतार भए झैं हाम्फाल्ने छहराहरूको छङछङ आवाज अविस्मरणीय लाग्छ ।
गण्डकी प्रदेशको सुन्दर यो जिल्लालाई बोलीचालीमा तल्लो र माथिल्लो मनाङ भनेर बाँडिएको छ । तल्लो मनाङ जति सुन्दर छ, माथितिर उक्लिंदै जाँदा झनै चित्ताकर्षक लाग्छ ।
पछिल्लो समय मनाङले स्वादिलो स्याउका कारण पनि चर्चा पाउन थालेको छ । ‘एग्रो मनाङ’ ले व्यवस्थित रुपमा स्याउ खेती गर्नुका साथै किसानलाई बिरुवा बाँडेर स्याउ खेतीमा प्रोत्साहित गरिरहेको छ ।
मोटर चढेर मनाङ जानु सानोतिनो एड्भेञ्चर नै हुँदो रहेछ । पहरो खोपेर नेपाली सेनाले बनाएको एक लेनको साँघुरो बाटोमा गुडेको गाडीको झ्यालबाट भीरभन्दा निकै तल सुसाइरहेको मस्र्याङ्दीलाई हेर्दा आङ जिरिङ्ग हुन्थ्यो । तर, मनाङको सौन्दर्य चाख्न हतारिंदै सवारी साधनमा जान नहुने रहेछ ।
मोटरमा एकै दिनमा पुग्न सकिन्छ, मनाङ । लमजुङको बेसीशहरबाट बलेरो जीपहरूले ५–६ घण्टामै चामे पुर्याइदिन्छन् ।
तर मनाङ पुग्ने हतार छैन र त्यसलाई हेर्ने, स्पर्श र महसूस गर्ने हो भने पदयात्रामा रमाउँदै जानु वेश हुन्छ ।
पदयात्रामा बाटोका दायाँ–बायाँ रुख बिरुवा छुँदै, सल्लाघारीको सुसेलीको लयमा आफू पनि सुसेल्दै हिंड्नुको मजा गाडीमा चढेर अनुभूति गर्न सकिन्न ।
लेकाली भेक भएकाले मनाङ उक्लिंदै गर्दा लेक लाग्ने जोखिम पनि हुन्छ । त्यसबाट मुक्त हुने उपाय हो– प्रकृतिको अनुपम छटाको आनन्द लिंदै सुस्तरी हिंडेर ठाउँ–ठाउँमा बास बस्दै आरामले मनाङ उक्लनु ।