कमल थापालाई उम्मेदवार बनाएपछि एमाले मकवानपुर कार्यालयमा तालाबन्दी
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नं १ को उम्मेदवारमा समर्थन गरेको विरोधमा एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
पार्टीका नेता रामेश्वर रानालाई उम्मेदवार घोषणा गरिएको केही समयमै टिकट खोसेर थापालाई समर्थन गरिएपछि एमाले कार्यकर्ताहरू असन्तुष्ट भएका हुन्। पार्टी केन्द्रीय कमिटीले जिल्लाको राजनीतिक अवस्था नबुझेको र पार्टीमा गरेको लगानीलाई बेवास्ता गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन्।
असन्तुष्ट कार्यकर्ताहरूले केन्द्रको निर्णयमा जिल्ला नेतृत्व चूपचाप रहेको आरोप लगाएका छन्। जिल्ला अध्यक्ष एकालल श्रेष्ठले आफू पार्टी कार्यालय भन्दा बाहिर रहेको र यसबारे कार्यालय पुगेपछि प्रतिक्रिया दिने बताए।