आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आज हुँदै छ।
आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।
असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ।
यस्तै‚ असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने र २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।