विकासको वर्तमान
धारिलो तर्क सहित समालोचनात्मक हुनु यो पुस्तकको शक्ति हो। कर्मचारीतन्त्रमा खरो र स्पष्टवादी छवि बनाएका घिमिरेका ३५ सामग्री (अंग्रेजीका २९ र नेपालीका ६) मा पनि उनको यही स्वभाव झल्कन्छ।
अर्थ मन्त्रालयका सचिव लालशंकर घिमिरे नेपालमा वैदेशिक सहायताको अर्थ–राजनीति तथा लाभहानिका विषयमा नाडी छाम्न सक्ने थोरै प्रशासकमध्ये एक हुन् । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा (पूर्व वैदेशिक सहयोग समन्वय महाशाखा) मा लामो समय बिताएका घिमिरेसँग वैदेशिक सहयोग परिचालनदेखि विकास योजना निर्माण र सार्वजनिक वित्त व्यवस्थापनसम्मको तीन दशकभन्दा लामो अनुभव छ । इन्साइड आउटः अ रिफ्लेक्सन अन डेभलपमेन्ट प्राक्टिसेस् पुस्तक उनको त्यही अनुभवको आलोचनात्मक अवलोकन हो ।
दोस्रो विश्वयुद्धपछि अमेरिकी राष्ट्रपति ह्यारी ट्रूम्यानले अघि सारेको चारबुँदे कार्यक्रम अन्तर्गत सन् १९५० को दशकमा नेपालमा पहिलो पटक रु.२२ हजार अमेरिकी सहायता भित्रियो । त्यसयता विकासदेखि सुशासन लगायतका अनेकौं शीर्षकमा बेहिसाब विदेशी सहायता ओइरिरहेकै छ । तर, के ती सहायताले साँच्चिकै नेपाली जनताको जीवनस्तर सुधार गर्न सहयोग गरेका छन् त ?
एशियाली विकास ब्याङ्कमा ‘बोर्ड अफ डाइरेक्टर्स’ को सल्लाहकार समेत रहिसकेका घिमिरेले नेपालमा वैदेशिक सहायता कसरी अनुत्पादक र बेकामे भइरहेको छ भन्ने यही बहसलाई पुस्तकलाई समावेश गरेका छन् । यसै विषयसँग सम्बन्धित आधा दर्जन बढी लेख पुस्तकमा राखिएका छन् ।
वैदेशिक सहायताले अपेक्षा अनुसार परिणाम ल्याउन नसकेको तर्क गर्दै लेखक घिमिरेले वैदेशिक आर्थिक सहायताको ‘मोडल’ माथि पुनर्विचार र समीक्षा गर्न सुझाएका छन् । ‘ब्युरोक्रेसी इमास्कुलेटेड बाइ फरेन एड’ शीर्षकको लेखमा वैदेशिक सहायताले नेपालको प्रशासन संयन्त्रलाई भुत्ते बनाइरहेको घिमिरेको तर्क छ भने ‘साइड इफेक्ट्स अफ फरेन एड’ लेखमा तालीम, गोष्ठी, परामर्श आदिमा वैदेशिक सहायताको ठूलो रकम खर्च भइरहेको उनको दाबी छ । ‘डज एड वर्क’, ‘रिथिंकिङ अफ फरेन एड’ ‘प्रोब्लम्स अफ फरेन एड’ लगायतका लेखहरूले नेपाल कसरी वैदेशिक सहायताको दुश्चक्रमा फसिरहेको छ भन्ने छर्लङ्ग पार्छ ।
आन्तरिक उत्पादनको न्यूनताका कारण वैदेशिक व्यापारमा नेपालले भोगिरहेको ठूलो घाटा अर्थतन्त्रका लागि चुनौतीपूर्ण बनेको छ । व्यापार घाटा न्यूनीकरणका लागि सरकारी प्रयास असफल झैं छ । लेखकले ‘नेपाल्स वाइडनिङ ट्रेड डेफिसिट’ शीर्षकको आलेखमा निर्यात क्षमता लगातार खस्किनुका कारणबारे मन्थन गर्दै समाधानका उपाय र पहलकदमी पनि प्रस्तुत गरेका छन् ।
पूँजीगत बजेट खर्चै हुन नसक्ने दीर्घ–रोग भएको, सार्वजनिक सेवा प्रवाह तथा विकास कार्यमा सरकारी असफलता, संस्थागत संरचनाहरूको बेहाल आदि बारे लेखक चिन्तित मात्र छैनन्, सुधारका सुझाव पनि पस्केका छन् । बेलायत, अमेरिकाका केही राज्य, मलेशिया, ओमान आदि देशका उदाहरण दिंदै लेखकले सेवा प्रवाह र कार्यक्रमहरूको सुधारका लागि प्रभावकारी संरचना निर्माणको खाँचो औंल्याएका छन् ।
पुस्तकमा अर्थतन्त्र र विकासका विभिन्न आयाम, यसका सैद्धान्तिक अवधारणा, अन्तर्राष्ट्रिय अभ्यास पनि चर्चा गरिएको छ । आर्थिक नीति र बजेट कार्यान्वयन, अन्तर्राष्ट्रिय सहायता, गरीबी निवारण, विकेन्द्रीकरण र संघीयता, योजनाबद्ध विकास र सुशासन, कर प्रणाली आदि विषयमा घिमिरेको खरो विश्लेषणले सरकारी संयन्त्रका बाध्यता र कमजोरी पनि थाहा पाइन्छ ।
विवरणात्मक भन्दा धारिलो तर्क सहित समालोचनात्मक हुनु यो पुस्तकको शक्ति हो । कर्मचारीतन्त्रमा खरो र स्पष्टवादी छवि बनाएका घिमिरेका ३५ सामग्री (अंग्रेजीका २९ र नेपालीका ६) मा पनि उनको यही स्वभाव झल्कन्छ । अधिकांश पूर्व प्रकाशित लेख समेटिएको भए पनि विषयको सान्दर्भिकता कायम रहनुले पुस्तक सामयिक देखिन्छ ।
तर, एउटै पुस्तकमा दुई भाषा, अन्तर्राष्ट्रिय फोरममा व्यक्त विचार, अन्तर्वार्ता समेत संकलित हुनुले विधागत दृष्टिले भने पुस्तक उत्ति सुसंयोजित देखिंदैन ।
अर्थ–सामाजिक विकास, सुशासन तथा समृद्धिको बहस पछिल्लो समयमा सघन हुँदै गएको छ । विकासका विविध पक्ष तथा अर्थतन्त्रका अवयवहरूमा यसखाले विज्ञ मतले अबका दिनमा देशले समात्नुपर्ने बाटोको दिशा पहिल्याउन सहयोग गर्छ । विकासको बहस थप उन्नत बनाउँछ ।
मुलुकको अर्थ–सामाजिक विकास प्रयासहरूलाई चियाउने आँखीझ्याल बनेको यो पुस्तक अर्थतन्त्र, विकास व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता, सुशासन जस्ता विषयमा चासो राख्ने जिज्ञासु र बौद्धिक पाठकका लागि छुटाउनै नहुने सन्दर्भ सामग्री बनेको छ ।
पुस्तक : इन्साइड आउटः अ रिफ्लेक्सन अन डेभलपमेन्ट प्राक्टिस
लेखक: लालशंकर घिमिरे
प्रकाशकः वि रिड, कथालय
पृष्ठः २२८+८
मूल्य रुः ४५०