‘इतिहास सम्बन्धी आख्यान लेखिन बाँकी छ’
‘हामी लिच्छवि, किरात या मल्लकालबारे इतिहास पढ्छौं। काठमाडौं उपत्यकाको वैभवको कुरा गर्छौं। तर त्यसबारे लेखिएको आख्यान छैन।’
केशव दाहाल लेखक तथा राजनीतिक अभियन्ता हुन्। बाबुराम भट्टराईको नयाँ शक्ति र रवीन्द्र मिश्रको साझा पार्टीसँग आबद्ध भइसकेका उनी अहिले कुनै राजनीतिक दलमा आबद्ध छैनन्। दाहालको नेपाली राजनीतिको पुनर्गठन, मोक्षभूमि र माधवी ओ माधवी पुस्तक प्रकाशित छन्। उनको पछिल्लो पुस्तक माधवी ओ माधवी सँग सम्बन्धित रहेर हिमालखबरका लागि सागर बुढाथोकीले गरेको कुराकानीः
माधवी ओ माधवीको चर्चा गर्नुअघि तपाईंको अघिल्लो पुस्तक मोक्षभूमिको कुरा गरौं, ऐतिहासिक विषयमा उपन्यास लेख्न के कुराले प्रेरित गर्यो?
खास गरी लेख्ने आआफ्नै स्पेस हुन्छ। लेखकले कुन समयमा उभिएर लेख्ने भन्ने उसको छनोटको कुरा हो। कसैले भविष्यको कल्पना गरेर लेख्छन्, कसैले आजको समयलाई विचार गरेर लेख्छन्। मलाई चाहिं हाम्रो सभ्यताको जरो खोज्न मन लाग्यो। हामी कहाँबाट आयौं, हाम्रो सभ्यता कसरी बन्यो जस्ता सुदूर अतीततिर जाँदा पनि हुन्थ्यो। तर‚ त्यतिअघि नगई खस साम्राज्यकालीन समाजबाट हाम्रो सभ्यतालाई चियाउन खोजें। त्यो मेरो इतिहासप्रतिको चाख र सभ्यताप्रतिको मोह पनि हो।
तपाईंलाई राजनीतिकर्मी भनेर चिन्थे, नेपाली राजनीतिको पुनर्गठन, मोक्षभूमि र माधवी ओ माधवी पुस्तक आएपछि लेखकका बढी चिन्छन्, अब राजनीति छाडेर होल टाइमर लेखक हुनुभएको हो?
एउटा आममान्छे जसरी अनेक आयामसँग जोडिन्छ‚ लेखक पनि त्यसै गरी जोडिन्छ। मलाई सबै चिजबाट पृथक् भएर लेख्न सकिन्छ जस्तो लाग्दैन। राजनीति मेरा लागि एउटा बृहत्तर समाज रूपान्तरणको अभियान त हो नै, सँगसँगै लेख्नका लागि शक्ति दिने विश्वविद्यालय पनि हो। किनभने, म राजनीतिमा हुँदा समाजसँग हुन्छु। अनेक मान्छेलाई भेटेर उनीहरूको कथा सुनिरहेको हुन्छु। ती सबै चिजलाई अनुभूत गर्छु र म लेख्छु। कहिलेकाहीं लाग्छ- राजनीति मेरो दिमागको कुरा हो, लेखन चाहिं मनको कुरा। यो दुइटै कुरा मान्छेको जीवनमा अपरिहार्य पनि हुन्छ र सँगसँगै जोडिएको पनि हुन्छ।
भनेपछि तपाईंले राजनीति छाड्नुभएको छैन?
राजनीति त छाड्दैन मान्छेले। हामी कहिले पार्टीमा आबद्ध हुन्छौं‚ कहिले हुँदैनौं। मलाई पार्टीमा आबद्ध हुँदा राजनीति गरेको र नहुँदा राजनीति नगरेको भन्ने लाग्दैन। एउटा सचेत मान्छेले भोट हाल्छ‚ पार्टीलाई प्रश्न र आलोचना गर्छ‚ समर्थन गर्छ। यी सबै कुरा राजनीति हुन्। त्यसैले म राजनीतिमा छु। तर‚ कुनै पार्टीमा छैन।
माधवी ओ माधवी पढ्दै जाँदा तपाईंको आत्मकथा या संस्मरण जस्तो लाग्छ, यसको नाम कसरी जुराउनुभयो? यो किताब परिकल्पनाको कथा बताइदिनुस् न।
माधवी ओ माधवी मेरो निर्बन्ध लेखन हो। निर्बन्ध भनेको बन्धनरहित। यो किताब पढेर पाठक‚ आफन्त‚ मेरा परिवारले के भन्लान्, मैले यति खुल्न हुन्छ कि हुँदैन‚ राजनीतिप्रति टिप्पणी गर्दा मैले बनाउन चाहेको पार्टी या दलका नेताले के भन्लान् भन्ने नसोची मनमा जे छ त्यो कुरा लेखेकाले यसलाई निर्बन्ध भनेको हुँ।
मैले आत्मकथा लेख्ने वेला भइसकेको छैन। अझै अनुभव गर्नु छ। समाज र संसारमा मेरो उपस्थिति कहाँ छ भनेर खोज्नु छ। तर, मेरा विगतलाई समाजसँग जोडेर हेरिएको आँखीझ्याल हो। जहाँ म मात्र छैन, मेरो समयका मेरा सहयात्रीहरू छन्। यसरी हेर्दा यो मेरो समयको आँखीझ्याल हो। जहाँबाट मैले राजनीति, प्रेम, संघर्ष र मान्छेका सुखदु:ख हेर्ने कोशिश गरेको छु।
माधवी उपन्यास पनि छ। त्यहाँ माधवी भन्ने पात्र छ। एउटा वैदिक कथाहरूको पात्र। उपन्यास पढ्दै जाँदा कथामा डुब्दै गएँ। माधवी हरेक सम्राट्हरूसँग प्रस्तुत हुन्छिन्, उनीहरूसँग शारीरिक सम्पर्क राख्छिन्। बच्चा जन्माउँछिन्। त्यसपछि बच्चा छाडेर अर्को सम्राट्सँग जान्छिन्। यी सबै पढिरहँदा लाग्यो- एउटी महिला परपुरुषसँग बस्दा वा अर्को पुरुषसँग जाँदा हाम्रो समाजले चरित्रहीन भन्छ। तर‚ मलाई पवित्र लाग्यो। उनको प्रेम स्वच्छ-पवित्र लाग्यो। त्यही पवित्र र स्वच्छ माधवीसँग पाठक अर्थात् म प्रेममा परें। त्यसपछि माधवीको जीवनसँग जोडिन्छु। माधवीलाई मेरो जीवनको पाटो बनाउँछु भन्ने एउटा अलौकिक अपेक्षा जाग्यो। त्यही प्रेमको अभिव्यक्तिमा मैले यो किताबको नाम दिएँ।
तपाईं लेखनको विषयवस्तु कसरी छान्नुहुन्छ? किताब लेख्नुअघिको तयारी कस्तो हुन्छ?
लेखक समाजको अङ्ग भएकाले समाजका अनेक घटनासँग ठोक्किरहन्छन्। समाजमा हुने संघर्ष‚ प्रेम‚ दु:ख‚ सुख देख्छन्। यस्ता घटनाहरूमध्ये केले बढी प्रभाव पार्छ त्यसलाई टिपेर लेख्न खोज्छु। विषयवस्तु छनोट मेरो विगत, वर्तमान र कल्पनाको भविष्य हो। लेखनको तयारीको कुरा गर्दा‚ मलाई प्रभाव पार्ने घटनाको जरा, गहिराइ, विशालता, यसको वरिपरिका सुन्दरता आदिबारे सन्दर्भ सामग्री खोजेर पढ्छु।
कतिपयले कसरी लेख्ने भनी सोध्छन्। लेख्नुअघि पढ्नुपर्छ। पढ्ने भनेको किताब मात्रै होइन‚ समाज र जीवन पढ्ने हो। मानिसका कुरा सुन्नुलाई पनि पढाइको रूपमा बुझ्नुपर्छ।
तपाईंको लेखनमा बजारको कतिको प्रभाव छ?
म बजार हेरेर लेख्दिनँ। तर, केही पाठक चाहिं मस्तिष्कमा आउँछन्। त्यसैले कहिलेकाहीं उनीहरूबाट प्रभावित हुन्छु। दबाब महसूस गर्छु। जस्तो- लेख्दै गर्दा ‘ए’ भन्ने मान्छेको कल्पना गर्छु‚ उसले यो किताब पढ्यो भने के ठान्ला भन्ने सोच्छु। त्यस्ता २०-३० जना छन्। उनीहरूले यो किताब पढे कस्तो मान्लान् भन्दै लेख्छु। यो निर्बन्ध लेखन चाहिं उनीहरूबाट मुक्ति पाउन लेखेको हुँ।
राजनीतिज्ञ भएकाले तपाईंको लेखनमा राजनीतिले प्रभाव पारेको छ कि छैन?
मान्छे राजनीतिको प्रभावभन्दा बाहिर हुँदैन। म त झन् राजनीतिक अभियन्ता पनि हुँ। राजनीतिक दलहरूलाई प्रश्नहरू गर्छु। जसका लागि केही न केही पढिरहेको हुन्छु। मेरो राजनीतिक स्कूलले मेरो ज्ञान र विवेकको आकार निर्माण गरेको छ। त्यसैले मेरो लेखनमा त्यसको प्रभाव हुन सक्छ। तर, आख्यान लेख्दा भरसक मनबाट लेख्ने कोशिश गर्छु। किनकि‚ मन चाहिं कसैबाट प्रभावित हुँदैन‚ अनुशासनमा पनि बस्दैन। मनले बुद्धिको पर्खाल नाघेर पनि उड्छ। आख्यान लेख्दा यी सबै पर्खालहरू नाघ्ने कोशिश गर्छु।
तपाईंले देखेका र सङ्गत गरेका राजनीतिज्ञ कतिको अध्ययनशील हुनुहुन्छ? राजनीतिज्ञले किताब पढ्नु कतिको जरुरी जस्तो लाग्छ?
२०४६ सालअघि प्रजातन्त्रका लागि आन्दोलन गरिरहेका नेताहरू पढ्थे। उनीहरूमध्ये कतिपय जेलमा थिए। त्यतिखेर नेताहरूले पढे। तर, त्यो पढाइ एकलकाँटे भयो कि भन्ने मेरो ठम्याइ छ। किनकि‚ उनीहरूले आफ्नो अनुकूलको किताब मात्रै पढे। जस्तो- कम्युनिष्ट पार्टीका नेताहरूले मार्क्सवाद, लेलिनवाद, माओवाद र समाजवाद पढे। त्योभन्दा बाहिरको संसार पढेनन्। त्यसैले उनीहरूको ज्ञान एकलकाँटे भयो। कम्युनिष्टको हकमा मात्र होइन, डेमोक्र्याटहरूको हकमा पनि त्यही हो।
इतिहास, दर्शन अथवा गैरआख्यान पढ्यो भने मान्छेको दिमाग बढ्छ। आख्यान पढ्यो भने मन बन्छ। राजनीति गर्ने मान्छेलाई मस्तिष्क र मन दुवै राम्रो चाहिन्छ। अनि मात्रै पूर्ण नेता बनिन्छ। तपाईं कल्पना गर्नुस्- सबै ज्ञान त छ, तर मन नै छैन भने के हुन्छ? त्यो मान्छे रूखो हुन्छ। ऊसँग संवेदना हुँदैन। मन त छ, तर ज्ञान छैन भने के हुन्छ? त्यो मान्छे अति भावुक हुन्छ। एउटा नेता अति भावुक र अति रूखो हुनु राम्रो होइन। हाम्रा नेताहरूलाई हेर्यौं भने उनीहरूसँग मन छैन। चुनाव आउँदा उनीहरू जे पनि गर्दिन्छन्। मन भए त मन त दुख्थ्यो नि। तर, हाम्रा नेताहरूको मन दुख्दैन। यो किन भयो भने मन बनाउने कुरा उनीहरूले पढेनन्।
अहिलेका नेताहरूले उनका दलाल, आसेपासे र चम्चा-चाटुकारहरूले लेखेका सस्ता किताब पढ्छन्। अथवा बजारको हल्ला सुनेर ‘यो किताब त दराजमा राख्नुपर्ने रहेछ’ भनेर त्यो किताब किनेर त्यसको गाता पढे।
तपाईंको विचारमा एउटा उम्दा पुस्तक लेख्न एउटा लेखकले कति पढ्नुपर्छ? समाज देखेको र समाजमा भिजेको मानिसले उम्दा किताब लेख्न सक्छ?
हामीले पढ्ने सबैभन्दा महत्त्वपूर्ण विश्वविद्यालय समाज हो। समाजमा यति धेरै ज्ञान र सूचना छन्‚ त्यसलाई गहिरो गरी पढ्नुभयो भने धेरै कुरा प्राप्त हुन्छ। एउटा लेखकले आफ्नो जीवनकालमा समाजको अथाह कथा, ज्ञान र अनुभवलाई लेख्न सक्दैन। तीमध्ये कलात्मक ढङ्गले व्यक्त गर्न मन लागेका कुरा मात्र लेख्छन्। त्यसैले पहिलो समाज पढ्नुपर्छ र त्यसपछि आफ्नै जीवन पढ्नुपर्छ। त्यो सँगसँगै किताब पढ्नुपर्छ। किनकि, किताबमा समाजको अथाह चिजमध्ये खास चिज संगृहीत हुन्छ।
आख्यान र गैरआख्यानमध्ये तपाईंको मन कुन विधामा रमाउँछ?
म सधैं भन्ने गर्छु- गैरआख्यान दिमागले लेख्छ‚ आख्यान मनले। यी दुइटै आवश्यक छ। मनले मात्रै काम गर्यो भने हुँदैन। किनकि‚ मन अनियन्त्रित चिज हो। दिमागले मात्रै काम गर्यो भने पनि हुँदैन। यद्यपि‚ आख्यान पढ्न मन पराउँछु। आख्यान पढ्दा डायरीमा टिपोट गर्दिनँ। गैरआख्यान पढ्दा कतिपय सन्दर्भ टिपोट गर्छु। आख्यान पढ्दा सम्झन सजिलो हुन्छ। तर, गैरआख्यान सम्झन डायरी हेर्नुपर्छ। मेरा लागि आख्यान पढ्न सजिलो, गैरआख्यान गाह्रो। तर, म दुइटै विधा चाख मानेर पढ्छु। त्यसैले मेरो लेखनमा आख्यान र गैरआख्यान दुवैको प्रभाव छ जस्तो लाग्छ।
तपाईंका लेखनका शुरूआती दिन कस्ता थिए?
हामी खस-आर्य मध्यम वर्गीय परिवारमा जन्मिएको मानिसले एउटा प्रिभिलेज पाएका छौं। त्यो के हो भने हामी बाआमाको काखमा हुँदादेखि नै रामायण‚ महाभारत‚ गीता जस्ता किताबको कथा सुन्न पाउँछौं। ती कथा पढ्दै‚ सुन्दै हुर्किएकाले हामीलाई कल्पनाशील बनाउँदै लग्यो। त्यस्तै, स्कूलमा नेपाली पढ्न पाएकाले अरूभन्दा सजिलो पनि भयो। मैले सानोमा राई, लिम्बू या अन्य भाषा पढ्नुपरेको भए अप्ठयारो हुन्थ्यो होला।
सानोमा बुबाआमाले सुनाएका कथा सुन्दै हुर्किएँ। स्कूलमा कथा र निबन्ध लेख्न भनियो। त्यो वेला कविता वा कथा भन्ने र निबन्ध लेख्ने प्रतियोगितमा भाग लिन उत्प्रेरणा दिइयो। आठ-नौ कक्षा पुगेपछि साथीहरूले प्रेमपत्र लेख्न दिन थाले। कलेजका प्रारम्भिक दिनमा राजनीतिले पनि छोयो। त्यसपछि राजनीतिका किताबहरू पढ्न थालियो। आख्यान पढ्न थालियो। त्यसले एक खालको लेखकको आकार बन्दै गयो जस्तो लाग्छ। प्रेमपत्र लेख्दालेख्दै विद्यार्थी आन्दोलनको पर्चा लेख्नैपर्ने दबाब भएकाले थाहै नपाई लेखनको परिवेशमा प्रवेश गरें। यसरी लेखनमा रस बस्यो। पछि फर्केर हेर्दा लेख्नु पनि राम्रो काम रहेछ भने हुन थाल्यो। साथीभाइले पनि लेख्न प्रेरणा दिए। त्यसपछि निरन्तर लेख्न थालें। अहिले पनि लेख्ने साधनामा छु। लेखक भइसकेको छैन। लेखक भनेको ठूलो पद जस्तो लाग्छ।
नेपालको पठन संस्कृति कस्तो पाउनुभएको छ?
देशभित्र करीब तीन करोड नेपाली छन्। यस्तै‚ भारत लगायतका देशमा धेरै नेपालीभाषी छन्। यसरी हेर्दा संसारभर नेपाली भाषा जान्ने लगभग ६ करोड छन्। त्यसको १० प्रतिशतले किताब पढिदिए हुन्थ्यो भन्ने लाग्छ। देशभित्रै रहेका तीन करोडको १० प्रतिशतले पढिदिए पनि ३० हजारले पढ्नुपर्ने हो। तर‚ त्यस्तो भएको देखिंदैन। किनकि‚ उल्कापात बिक्री भएको भनिएका किताब पाँचदेखि १० हजार प्रति बिकेको देखिन्छ। हाम्रो किताबको बजार ३० देखि ६० हजारको बीचमा हुनुपर्ने हो।
अर्कातर्फ‚ भारतमा रहेका नेपालीभाषीसम्म पनि किताब पुर्याउन सक्दैनौं। उताबाट किताब ल्याउन भने सक्छौं। यसले हाम्रो नीतिगत समस्या रहेको देखाउँछ। पठन संस्कृति बढाउन राज्यले नीतिगत रूपमा केही विचार गर्नुपर्छ जस्तो लाग्छ। पढ्ने वातावरण निर्माण गर्न नयाँ पुस्तालाई किताब पढ्न पनि आवश्यक छ भनी बुझाउनुपर्छ।
प्रसङ्ग बदलौं, विश्व बजारमा नेपाली साहित्यको स्तर कहाँ पाउनुभएको छ?
हामी राम्रो लेख्छौं, तर भाषाका सीमा छन्। यदि राम्रा किताबहरू अंग्रेजीमा अनुवाद भई विश्व बजारसम्म पुगेका भए तिनले राम्रै स्थान पाउँथे। नेपाली साहित्य विश्व बजारमा पुग्न अनुवाद आवश्यक छ। त्यसो भयो भने हामी कहाँ छौं भनी हेर्न सक्छौं।
पूर्वीय सभ्यता ठूलो सभ्यता हो। हामी जुन सभ्यताको काखमा बसेका छौं‚ जेजस्ता उतारचढाव पार गरी यहाँसम्म आयौं, यसबारे लेख्न पुगेको छैन भन्ने लाग्छ। हामी लिच्छवि, किरात या मल्लकाल भन्छौं। काठमाडौं उपत्यकाको वैभवको कुरा गर्छौं। इतिहास पढ्छौं‚ त्यो पनि गतिलो गरी लेखिएका छैन। त्यसको आख्यान त छँदै छैन। उदाहरणका लागि, नालापानीको युद्धबारे इतिहास पढ्यौं, तर त्यो युद्धसँग जोडिएको आख्यान खोइ? लिच्छविकाल स्वर्णिम थियो भनिन्छ, तर त्यो समयको आख्यान छैन। त्यति वेलाको प्रेम र मानवीय सम्बन्धहरूको कथा छैन। हाम्रो सभ्यताभित्र लुकेर बसेका आख्यानहरू छन्।
हाम्रो सभ्यता‚ इतिहासलाई उद्घाटित गर्ने र हाम्रो समाज तथा सभ्यतालाई हाँक्ने पात्रहरूको खोजी गरी तिनलाई आख्यानमा स्थापित गरेर समाजमा अमर बनाउने काम गर्न बाँकी छ। यसो गरिए हामी विश्व बजारमा अझ प्रखर ढङ्गले उपस्थित हुन सक्छौं। हाम्रो लेखन अझ माथि जान्छ।
इतिहासलाई आख्यानमा ढाल्दा इतिहास तोडमोड हुने खतरा हुन्छ होला नि?
कतिपयले ऐतिहासिक उपन्यास भन्नुहुन्छ। म त्यसलाई त्यति धेरै विश्वास गर्दिनँ। ऐतिहासिक उपन्यास भने जस्तै औपन्यासिक इतिहास भन्यो भने के हुन्छ? ऐतिहासिक उपन्यास भन्यो भने पनि त्यो इतिहास हो कि उपन्यास भन्ने द्विविधा हुन्छ। त्यसैले इतिहास इतिहासकै रूपमा रहनुपर्छ‚ उपन्यास उपन्यासकै रूपमा। मानौं, काठमाडौं उपत्यकामा लिच्छवि वा मल्लकालीन सभ्यता थियो। त्यो इतिहास हो। तर‚ त्यो समयको आख्यान पनि होला नि। समाज र सम्बन्धको कथा होलान्। त्यति ठूलो सभ्यता निर्माण गर्नेहरूका कथा होलान्। राजा र जनताको सम्बन्धका कथा होलान्। लिच्छविकाल भङ्ग भएको अन्तर्संघर्षका कथा होलान्। हामीले ती कथा खोजेनौं। अहिलेका लेखकहरूले २०-३० वर्षको सेरोफेरोको कथा मात्रै लेखेका छौं।
अब माधवी ओ माधवीतिरै फर्किऔं, यो कस्ता पाठकका लागि लेख्नुभएको हो?
अलिकति प्रेम गर्न रुचाउने‚ जीवनलाई सजिलो र कलापूर्ण ढङ्गले हेर्न चाहने‚ सुख-दुःखको अनुभव गर्नेहरूले पढ्नुपर्छ जस्तो लाग्छ। मैले अघि भनिसकेको छु‚ माधवी ओ माधवी मेरो समयको आँखीझ्याल हो। त्यो आँखीझ्यालबाट मेरो पुस्ताको सुख-दुःख चियाउन सकिन्छ। मेरो पुस्ता सौभाग्यशाली पुस्ता हो। किनकि‚ यो पुस्ताले तीन वटा संघर्ष देख्यो। २०४६ सालअघि पञ्चायत विरोधी आन्दोलन र २०४६ सालको उत्कर्ष। माओवादीको सशस्त्र द्वन्द र २०६२/६३ को आन्दोलन देख्यो। अर्थात्‚ राजतन्त्र‚ प्रजातन्त्र र गणतन्त्र देख्यो।
यस्तै‚ हामी दूरदराजबाट शहर आउने पुस्ताको प्रतिनिधि पात्र पनि हौं। हुलाकमा चिठी पठाउनेदेखि सूचना प्रविधिको युगसम्म भोगेका छौं। अनेक परिवर्तन देख्यौं। ती परिवर्तनले निर्माण गरेका सपना र यसले जीवनमा पारेका प्रभाव‚ मानिसको जीवनमा निर्माण गर्ने राजनीतिक कथ्य यो किताबमा लेख्न खोजेको छु। त्यसैले यो एउटा मान्छेको समयको कथा हो। म पाठकलाई वर्गीकरण गर्न चाहन्नँ। सबैले पढिदिनुभयो भने मलाई मज्जा आउँछ।
आगामी लेखनको योजना के छ?
खास गरी हरेक लेखकको लेख्ने आफ्नो जमीन हुन्छ। मलाई इतिहासमा चाख छ। इतिहासभित्रको आख्यान र त्यो आख्यानमा पात्रहरूको निर्माणमा मेरो चाख छ। त्यसका लागि दुइटा चिज हेर्ने कोशिश गर्दै छु। किरातकालको पतन कसरी भयो, लिच्छविहरू कसरी आए र पतन भएपछि उनीहरू अहिले कहाँ छन् भनेर हेर्ने प्रयत्न गर्दै छु। पात्रहरू कसरी निर्माण गर्न सकिन्छ भनेर विचार गरिरहेको छु। यो सँगसँगै मेरो अर्को खोज बुद्धिज्म हो। हाम्रो देशमा यति धेरै चैत्य र गुम्बा छन्। यसभित्रको कथा के हो र बुद्धसँग यसको धागो के हो? कसरी जोडिन्छ? यसभित्रका आख्यानहरू कस्ता छन् भनेर खोजी गरिरहेको छु। हाम्रो इतिहास पढ्दै छु। त्यसपछि लेख्छु।