अद्भुत यात्रा अन्नपूर्णको
माछापुच्छ्रे हिमाललाई तल पार्दै सूर्य उदाएको दृश्य देख्दा हामी हर्षविभोर भयौं। यो अनुभव स्वर्गीय थियो। हामी सबैलाई हाम्रो यात्रा सफल भए जस्तै लाग्यो।
सर्वोच्च शिखर सगरमाथा बाहेक पनि नेपालमा आठ हजार मिटरमाथिका हिमशिखर छन्। जुन नेपालको पर्यटनको आधारका रूपमा रहेका छन्।
केही विदेशीहरूसँगको कुराकानीमा उनीहरूले नेपाली हिमालमा स्वीट्जरल्यान्डको आल्प्स् पर्वतमा जस्तै केबलकारमा झुन्डिएर हिउँमा चिप्लेटी खेल्न सकिने भन्ठान्दा रहेछन्। तर, नेपालमा हिमाल मात्रै होइन, पहाड पनि सजिलै उक्लन सकिंदैन। हिंडाइ नेपाली पहाडी जीवनको दुःखको परिचायक भएकाले शोखका लागि हिंड्ने नेपाली परम्परा थिएन। उच्च पहाडी क्षेत्रमा पैदल यात्रा गर्ने ट्रेकिङ व्यवसाय फस्टाएसँगै नेपालीहरू पनि हिंड्न थालेका छन्।
आर्थिक रूपले आत्मनिर्भर हुँदै गएका नेपाली युवा पुस्ताले हिंडाइको आनन्दलाई आत्मसात् गर्न थालेको झण्डै दुई दशकभन्दा बढी भएको छ। हिंडाइको व्यसन विकासमा पर्यटनको प्रवर्द्धन र सञ्चार माध्यमका फिचर पृष्ठको पनि धेरथोर योगदान छ।
नेपालको हिंडाइको एउटा उत्कृष्ट गन्तव्यका रूपमा अन्नपूर्ण आधार शिविरको यात्रा वा चक्रीय पदमार्गको यात्रा रहेको छ। मध्य वर्षात् र हिउँ पर्ने समय बाहेक अनुकूलतामा अन्नपूर्ण पदमार्गको यात्रा गर्न सकिने भए पनि वसन्त ऋतु वा शरद् ऋतु अन्नपूर्णका लागि उत्कष्ट हिंडाइ समय हो। आठदेखि १० दिनको अन्नपूर्णको यात्राले वास्तवमै स्वर्गीय आनन्दको अनुभूति गराउने भन्ने कुरा यात्रा गरेर आएपछि मात्रै थाहा हुन्छ।
हाम्रो साथीभाइको टोली पनि २०७६ सालको दशैंको छेको पारेर अन्नपूर्णको यात्रामा निस्किएको थियो। यात्रामा नवराज राउत, अजय गुरुङ, विजय गुरुङ, राजीव थापा, दीपक गुरुङ सहभागी थियौं। विभिन्न पेशा व्यवसायमा आबद्ध साथीभाइको एउटा बुझाइ समान थियो- सकेसम्म वर्षको दुई पटक नेपालका डाँडाकाँडा घुम्ने। त्यसैले सबैको अनुकूल मिलाएर यात्रामा निस्किएका थियौं।
काठमाडौंबाट हिंडेका हामी शुरूमा घान्द्रुकमुनिको गाउँ स्याउलीमा बास बस्न पुग्यौं। काठमाडौंबाट पोखरासम्म ठूलो गाडीमा र त्यहाँबाट स्याउलीसम्म सानो गाडीमा पुग्दा साँझ झमक्कै परिसकेको थियो। साँझ खानपिन गरेर अबेर नगरी सुत्ने तर्खरमा लाग्यौं।
बिहान उठेर हल्का नास्ता गरेर हामी यात्रामा अघि बढ्यौं। जसै पैदल यात्रा शुरू भयो तब हाम्रो आँखा अगाडि आकाशै ढाक्ने गरी एकातिर माछापुच्छ्रे हिमाल उभिएको थियो भने अर्कातिर अन्नपूर्ण हिमाल।
पहाडी परिवेश, कोमल घाम र सुललित वातावरणमा गफ गर्दै बाटो काटिरहेका थियौं। कतै बाटो उक्लिए झैं हुन्थ्यो, कतै तेर्सिन्थ्यो त कतै जताबाट आएको हो उतै पो लैजाने हो कि झैं गरी घुमिदिन्थ्यो। हिंडेको एकाध घण्टा त उत्साह नै थियो। अर्को एकाध घण्टा पुग्दा शहरी जीवनशैलीले परेको प्रभाव सबैका अनुहारमा प्रष्ट भए। सबैको सास फुलेको थियो। सबैले हिंड्न सजिलो छैन भन्ने बुझे झैं भएको थियो।
हिंड्दाहिंड्दै एउटा पहाड सकिएर अर्को पहाड पुग्नुअघि नयाँ पुल भन्ने ठाउँको खोंचमा पुगियो। अबको यात्रा एउटा पहाड पार गरेर अर्को पहाडतिर हुन लागेको थियो।
जसै साथीभाइले नयाँ पुलको पारि अजङ्गको पहाड उभिएको देखे र त्यो पहाड छिचोल्नुपर्छ भन्ने बुझे, सबैलाई एकाएक तारानाथ शर्माको निबन्ध ‘घनघस्याको उकालो’ को सम्झना भयो। बरु त्यो उकालो सहज थियो होला, तर यो पहाडले त सातो नै लेला जस्तो भएको थियो। अन्नपूर्णको फेदीमा पुग्न चार रात हिंड्नुपर्ने योजना अनुसार यात्रारत साथीहरूले पहिलो दिनमै हार मान्ने कुरा भएन। जे त होला भन्दै यात्रा जारी राख्नुको विकल्प थिएन।
ढुङ्गा छापिएको, ठाडो उकालो बाटो। हिंड्ने बानी नभएका हामीलाई गाह्रो हुने नै भयो। प्रत्येक १०–१० मिनेटमा जीवनजलले आँत भिजाउँदै उकालो चढिरह्यौं। बाटो काट्न मन भुलाउने यथेष्ट रूपमा हामीलाई उपलब्ध थियो– कुरा। कुरा मात्रले धीत नमरेर साथीहरू एकअर्काको कुरा काट्दै हँसिमजाकमा उकालो उक्लँदै गए। कहिलो बाटोमा भेटिएका यात्रुसँग दोहोरो बात मार्दै अघि लागियो। दिन आधाभन्दा बढी बितिसकेको अवस्थामा १७ सय ८० मिटरको थुम्कोमा रहेको झिनु पुगियो।
हाम्रो झिनो हिंडाइलाई झिनुमा भेटिएका एक जर्मन चिकित्सकले उत्साहित बनाइदिए। ७१ वर्षको उमेरमा उनी अन्नपूर्णको काखमा ठमठम हिंडिरहेका थिए। उनीभन्दा झण्डै आधा उमेरका हामी भने ठसठस गरिरहेका थियौं। थुम्क्याइलो झिनुको सिरानमा चिया विश्रामका लागि रोकिंदा तिनले हामीलाई यात्राको दर्शनबारे सानो प्रवचन दिन पनि भ्याए। बूढाले भने, “हिंड्दा घडी हेर्न आवश्यक छैन। न त गन्तव्यबारे सोच्नु नै आवश्यक छ। निरन्तर हिंडिरहने हो। हिंडाइको मजा लिने हो।”
हामी हिंडाइको दकसमा पिल्सिए झैं भएका थियौं, तसर्थ हिंडाइको मजा लिने कुरा बुझ्न सकिएन। तर, के चाहिं हो भने, लेकको चिसो बतास, अनुपम भू–दृश्य, स्वच्छ प्राकृतिक वातावरणले आनन्दित चाहिं बनाइरहको थियो।
बूढाले अर्को गतिलो कुरा सुनाए, “आफ्नो पाइला र सासको गति मिलाउँदै हिंड्नुपर्छ। गन्तव्यमा छिटो पुगौं भनेर हतारिनु हुँदैन।” उनका कुराले हामी सबैलाई कछुवा र खरायोको दौडको पुनः सम्झना गरायो।
जसै हामी पहाड उक्लिँदै जान्थ्यौं त्यति नै मनोहारी दृश्यले लोभ्याउँदै जान्थ्यो। अनि ती मनोहारी दृश्यलाई अघिपछि पारेर फोटो खिच्दै अघि बढ्दै जाँदा चार बजेतिर छोमरोन पुग्यौं।
बिहान चमेना गरेदेखि हिंडेको हिंड्यै थियौं। साँझसम्म हिंड्दा लागेको थकान भनिसाध्य थिएन। थकाइ मेटाउन मुस्ताङे कफी खाने योजना बन्यो। लोकल रक्सीलाई तताएर कफी हालेपछि बन्ने मुस्ताङे कफी पिएर खाना खाइवरी सुत्ने तर्खरमा लाग्यौं।
छोमरोनमा हामी ब्युझँदा गजब लागेको दृश्य थियो, आँखै अगाडि उभिए झैं देखिएका माछापुच्छ्रे र अन्नपूर्ण हिमाल। ती दुई हिमालका चित्ताकर्षक दृश्यले हामी सबैमा अभूतपूर्व उत्साह छायो। हामीलाई ती दुई हिमालका आँगनमा पुग्नु छ र पहाडका लस्करलाई छिचोल्नु छ।
बिहान झण्डै ८ बजे हामीले छोमरोनलाई छोड्यौं। बाटामा स्थानीय बालबालिकाले पर्यटकको लस्करलाई हेर्दै गीत गाइरहेका थिए– ‘वान टु वान टु, म पनि जान्छु, हेलिकोप्टर चढेर काठमान्डू।’ उनीहरूको गीत हामीलाई त्यो दिनको सुस्केरा बिसाउने विषय बन्यो।
यहाँ भने हामीलाई शुरूमै गाह्रो पर्यो। छोमरोन पहाडको ढिस्कोमा रहेछ। छोमरोनदेखि तल खोंचसम्म पूरै सिंढी। ढलान गरेभन्दा राम्ररी ढुङ्गा छापेर मिलाइएको सिंढी ओर्लन झण्डै आधा घण्टा लाग्दा त हाम्रा खुट्टा नै गले। खोंचको खोला पार गरेर उकालो लागेपछि पहाडको फेदी जस्तोमा रहेको सुनुवा भन्ने ठाउँ पुगियो। जति जति हिंड्दै गयो बस्ती पातलिंदै गयो भने जंगल र बुट्यानका पहराहरू बढ्दै गए। तल्लो सुनुवाबाट उक्लिँदै गएर माथ्लो सुनुवा पुगेर सुस्ताइयो र चियानास्ता गरियो। यहाँबाट अन्नपूर्ण संरक्षण क्षेत्रको सीमा शुरू हुने रहेछ। र, जंगलको बीचबाट बाटो अघि बढ्ने रहेछ।
जंगल सकिएपछिको बाटो अघि बढ्दा बेम्बो भन्ने ठाउँ आइपुगियो। हरियालीयुक्त बेम्बोको दायाँ–बायाँ जंगली पहरा थिए। ती पहराबाट झरनाहरू झरिरहेका थिए। एक ठाउँमा त आकाशबाटै झरे जसरी झरना झरिरहेको थियो। त्यो दृश्यले हामी सबै मोहित भयौं र फोटो खिच्यौं। एक जना साथीले ‘यस्तो झरना त एनिमेटेड सिनेमामा मात्र देखेको थिएँ। साँच्चै पनि हुँदो रहेछ’ भने। कुरा उनले बताएको भए पनि हामी सबैको धारणा त्यही थियो। यस्तो अद्भुत र आश्चर्यचकित बनाउने भूबनोटबारे हामी बेखबर थियौं। शायद यिनै आकर्षणले होला, अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वमै स्वर्गीय यात्राको उपाधिले चर्चित छ।
बेम्बोपछिको अर्को बिसौनी दोभान भन्ने ठाउँमा रहेछ। त्यहाँ केही बेर सुस्ताएपछि झमक्क साँझ पर्नुअघि हामी हिमालय भन्ने ठाउँमा पुग्यौं। बेम्बोदेखि नै परेको पानीले हामी लथ्रक्कै भिजेका थियौं। हिंडाइको थकानमा पानीको चुटाइले हामी गलित थियौं। यतिन्जेल नभएको चिसोको अनुभव हिमालय पुगेपछि भएको थियो। पोल्दापोल्दैको भात खाएर सिरकभित्र घुस्रियौं।
हिमालयमा बास बसेर बिहान ब्युँझदा पनि सिमसिम पानी परिरहेको थियो। पानी रोकिने आश थिएन। अनि चियानास्ता गरेर बर्सादी ओढेर बाटो लागियो। घाम उक्लिँदै गर्दा पानी कम हुँदै गयो। पानी कम हुँदा हामी देउराली पुग्यौं। सानो थुम्कोमा रहेको देउरालीमा बजार पनि सानै रहेछ। तीन–चार वटा मात्र पसल थिए। यहाँबाट भने बाटो उकालो रहेछ। उकालो लाग्दालाग्दै लखतरान परेर माछापुच्छ्रे बेस क्याम्प पुग्यौं।
त्यहाँबाट झण्डै एक घण्टाको हिंडाइमा अन्नपूर्ण बेस क्याम्प पुगिने रहेछ। जति जति उकालो चढ्दै जान्थ्यौं, हामीमा आनन्द र उत्साह पनि थपिंदै गएको आभास हुँदै गयो। हिमालबाट बगेको पानीको कलकलले अन्नपूर्ण बेस क्याम्प पुग्नुअघिको यात्रालाई आनन्दित बनाइरहेको थियो। हाम्रो दुर्भाग्य, बादलले हिमाल ढाकेको थियो र हिमाल देख्न पाइएन। हामी सबैलाई भोलि बिहान बादल फाट्ला र हिमाल देख्न पाइएला भन्ने आश थियो। रात पर्नै आँट्दा आकाश छ्याङ्ङ देखियो र रातको आकाशमा ताराहरूको लस्कर देख्न पाइयो। माछापुच्छ्रेको पनि रातिको वेलाको फोटो खिच्न पाइयो। यो अनुभव पनि अभूतपूर्व र अविस्मरणीय रह्यो।
बिहान सखारै उठ्ने निधो गरेर सुत्न गयौं। हामीलाई सूर्योदयअघिको हिमालको दृश्यावलोकन गर्ने लोभ थियो। बिहान माछापुच्छ्रे हिमाललाई तल पार्दै सूर्य उदाएको दृश्य देख्दा हामी हर्षविभोर भयौं। यो अनुभव स्वर्गीय थियो। हामी सबैलाई हाम्रो यात्रा सफल भए जस्तै लाग्यो।