घर फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित
निरन्तर परिरहेको वर्षाका कारण नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकाका विभिन्न गाउँ पुनः डुबानमा परेका छन्।
असोज १ गते आएको बाढीले डुबान हुँदा भजनी नगरपालिकाका पाँच हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए। उनीहरू दशैंअघि मात्रै घर फर्किएका थिए। तर‚ गाउँमा पुनः बाढी पसेकाले उनीहरू विस्थापित भएको नगरपालिकाका मेयर केवल चौधरीले बताए।
भजनी नगरपालिका मोहना, काँडा र पथरैया नदीको दोभानमा पर्ने भएकाले नदीमा पानीको बहाव बढ्ने बित्तिकै बस्ती डुबानमा पर्ने मेयर चौधरी बताउँछन्। बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ। मोहना नदीमा पनि पानीको बहाव बढिरहेकाले सर्तक रहन सूचना गरिएको उनले बताए।
असोज १ गतेको बाढीले भजनीका सात हजार ९६ परिवार विस्थापित भएका थिए। तीमध्ये चार हजार परिवार एक सातापछि मात्रै घर फर्किएका थिए। ध्वजबहादुर विश्वकर्माको परिवार हुलाकी सडकमा आश्रय लिए बसेको थियो। घर फर्किएको एक हप्ता नबित्दै पुनः सडकमै फर्किनुपरेको उनले बताए।
वडा नम्बर ८ का वडा सदस्य लल्तु डगौरा थारूको परिवारलाई पनि बाढीले बिचल्ली पारेको छ। एक साता हुलाकी राजमार्गमा बसेर घर फर्किएका उनीहरू पुनः विस्थापित भएका छन्। डगौरा भन्छन्‚ “घरमा भण्डारण गरिएर राखिएको अन्न सबै बगाएपछि खेतमा बचेको धानबालीको भरोसा थियो। यो बाढीले अब सबै सखाप बनाउँछ।”
असोज शुरूमा आएको बाढीले नै घरमा भएका अन्नपात, लत्ताकपडा सबै नष्ट गरिसकेको छ। पीडितको समस्या समाधान गर्न सरकार तयार हुनुपर्ने भजनीवासीको माग छ।
कैलालीको भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको दक्षिणी क्षेत्र बाढी विपद्को जोखिममा छन्। यी स्थानीय तहमा प्रायः हरेक वर्ष डुबान हुने गरेको छ।
अति विपद् जोखिम स्थानीय तहको रूपमा रहेको भजनी नगरपालिकामा बाढी समस्याका कारण किसानले प्रायः बर्खे धानको खेती गर्न छाडिसकेका छन्। उनीहरू चैते धानखेतीमा निर्भर छन्।