साहित्य समाजकाे हाेइन, हृदयको दर्पण हाे
दर्पणले अनुहार र बाहिरी स्वरूप मात्र देखाउँछ; हृदय देखाउन सक्दैन। त्यसैले साहित्य समाजभन्दा बढी हृदयको दर्पण हो।
मानौं, पाँच लेखकले एउटै पात्रलाई एउटै समयमा भेटे र त्यसलाई पाँचै जनाले आख्यानमा चित्रण गरे। पात्र एउटै भए पनि पाँचै लेखकको लेखाइ अलग अलग हुन्छ। त्यहाँ लेखकको विचार, भावना, कल्पना, अनुभव र मनोविज्ञान पनि मिसिएर आउँछ। प्रत्येकको दृष्टिकोण र शैली फरक फरक हुन्छ।
त्यसैले आँखाले खिचे झैं अक्षरमा लेख्न सकिँदैन। एउटा परिवेशको आख्यान अर्को परिवेशको पाठकले पढ्दा पनि कता कता आफ्नै जस्तो लाग्न सक्छ। आफ्नै कथा लेखिएको भए पनि पढ्दा अरूको जस्तो पनि लाग्न सक्छ। जहाँको परिवेशको कथा पढे पनि पाठकले त्यहाँ आफ्नो समाज खोज्छ।
लेखकले पात्र मात्र लेख्छु भनेर जति प्रयास गरे पनि अलि अलि अरूलाई र आफूलाई मिसेको हुन्छ। आफूलाई मात्र लेख्ने जति प्रयास गरे पनि त्यहाँ अरूलाई मिसेको हुन्छ। त्यसैले साहित्यका जुनसुकै विधा लेखे पनि फोटोग्राफी या भिडियोग्राफी जसरी समाज जस्तो छ, ठ्याक्कै चित्रण गर्न सकिँदैन। उस्तै उस्तै देखाउनसम्म सकिन्छ। यो कुरा विश्लेषण गर्न आधुनिक नेपाली आख्यानको विकासकर्मलाई सरसर्ती अवलोकन गर्नुपर्ने हुन्छ।
आधुनिक नेपाली आख्यानको इतिहास नै समाज चित्रणबाट शुरू भएको हो, समाज र त्यहाँका मानिसको चरित्रलाई जस्ताको तस्तै लेख्नुपर्छ भन्ने मान्यताबाट। विसं १९९२ मा गुरुप्रसाद मैनालीको नासो कथा शारदा पत्रिकामा छापियो। यो कथामा समाज जस्तो छ त्यस्तै चित्रण गरिएको छ। तर पनि, त्यहाँ लेखक मिसिएको छ। लेखकको विचार, भावना र कल्पना घोलिएको छ। सबैभन्दा धेरै त लेखकको दृष्टिकोण मिसिएको छ।
प्राथमिक र माध्यमिक कालमा पनि कथाहरू लेखिएका थिए। तिनमा बहकिएको भावना, उडन्ते भावुकता, तिलस्मी घटनाक्रम र नैतिकताको भारी बोकाउने उपदेश पाइन्थ्यो। यस किसिमको प्रवृत्तिलाई नासो कथाले अन्त्य गरिदियो। त्यसपछि साहित्य समाजको दर्पण हो भन्ने मान्यतामा समाजको चित्रण गरिएका कथा प्रशस्त लेखिए। सामाजिक यथार्थमा आदर्शको हलुका जलप लगाइने यो प्रवृत्तिलाई भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधान, इन्द्र सुन्दास, पूर्णदास श्रेष्ठ जस्ता कथाकारले समृद्ध बनाए। आजसम्म पनि यो प्रवृत्तिको झलक धेरै आख्यानकारमा पाइन्छ।
आदर्शको जलप हटाएर यथार्थ चित्रण गर्ने कथाकारहरू पनि नब्बेकै दशकमा आए। पुष्कर शमशेरको परिबन्द बलियो उदाहरण हो। सँगसँगै ऐतिहासिक यथार्थलाई बालकृष्ण समको पराइघर कथाले चित्रण गरेको छ, जुन नासो छापिएको दुई महीनापछि नै प्रकाशन भएको थियो।
प्राथमिक र माध्यमिक कालमा पनि कथाहरू लेखिएका थिए। तिनमा बहकिएको भावना, उडन्ते भावुकता, तिलस्मी घटनाक्रम र नैतिकताको भारी बोकाउने उपदेश पाइन्थ्यो। यस किसिमको प्रवृत्तिलाई नासो कथाले अन्त्य गरिदियो।
...
समय सधैं एउटै प्रवृत्ति र मोडमा अडिँदैन। समयसँगै मानिसको चेतनाले पनि भर्याङ लगाउँछ। यसै क्रममा नासो छापिएको ६ महीनापछि शारदा पत्रिकामै विश्वेश्वरप्रसाद कोइरालाको चन्द्रवदन कथा छापियो। यो कथा साहित्य समाजको दर्पण हो भन्ने मान्यताबाट भित्र छिरेर व्यक्तिको अन्तस्करणसम्म पुग्यो, जुन कुरा दर्पणले देखाउन सक्दैन त्यो कथामा देखाउन सकिन्छ भन्ने मान्यता बसाल्यो। चेतन र अवचेतन मनको द्वन्द्व तथा अन्तर्मुखी पात्रहरूको हृदयको चित्रण प्रबल भएर आयो।
यो कथाले कथासाहित्यलाई नयाँ मोड दियो। विश्वेश्वर भन्छन्, “समाज–इच्छाभन्दा व्यक्ति–इच्छा ठूलो हो। त्यसकारण व्यक्तिका दमित इच्छा, भावना एवं मनोद्वेगहरूलाई स्वतन्त्र आत्मनिर्णय गर्न दिनुपर्छ।” उनको यो मनोवैज्ञानिक मान्यतालाई फैलाउने र हुर्काउने काम त्यसपछिका कथाकारहरू भवानी भिक्षु, पोषण पाण्डे, गोविन्दबहादुर मल्ल गोठाले, तारिणीप्रसाद कोइराला आदिले गरे। भिक्षु व्यक्तिको अवचेतनभित्र छिरे, पाण्डे मनको संसार प्रस्तुत गर्न लागे, गोठाले सूक्ष्म मनोविश्लेषण गर्न लागे, तारिणी यौन मनोविज्ञानलाई चित्रण गर्न लागे।
२००७ साल वरिपरिका कथाहरूमा भने राजनीतिक परिवर्तन र क्रान्ति समेटिए। सामाजिक, सांस्कृतिक र राजनीतिक चेतनाको प्रभाव आख्यान लेखनमा पनि पर्यो। सँगसँगै प्रगतिशील विचारधारका कथा लेखिए। रमेश विकल, डीपी अधिकारी, गोविन्दप्रसाद लोहनी, भवानी घिमिरे, तारानाथ शर्मा आदिका कथामा यो चेतना पाइन्छ। विसं २०२० को सेरोफेरोमा पुराना मान्यताको झिल्का सहित नवचेतनायुक्त कथा लेखिन थाले। निरङ्कुश शासन व्यवस्थाका कारण कतिपय आख्यानकारले अमूर्त र अति विम्बात्मक लेखनको खोजी गरे।
भवानी भिक्षु, इन्द्रबहादुर राई, पारिजात, शंकर लामिछाने, परशु प्रधान, मदनमणि दीक्षित, देवकुमारी थापा आदि यो समयका शक्तिशाली आख्यानकार हुन्। इन्द्रबहादुर राईले त आफ्ना कथालाई तेस्रो आयामको नाम दिए, जसमा ईश्वर वल्लभ र वैरागी काइँला पनि सहयात्री थिए। इन्द्रबहादुर राईले २०३६ सालपछि लीलालेखन नाम दिएर नयाँ मान्यताका साथ कथा लेखे, जसलाई कृष्ण धरावासी, कृष्ण बराल, कुमार भट्टराई, रत्नमणि नेपाल जस्ता कथाकारले मलजल गरे। राईले अमूर्त र दुर्बोध्य शैली प्रयोग गरे पनि लीलालेखनका अरू आख्यानकारले मूर्त र सुबोध्य शैली प्रयोग गरेका छन्। मनु ब्राजाकी, मोहनराज शर्मा, प्रेमा शाह, परशु प्रधान, मदनमणि दीक्षित, माया ठकुरी, वानीरा गिरि जस्ता कथाकार आए, जसका कथाहरूमा पश्चिमी र पूर्वीय मान्यता, विम्ब र मिथक, स्वैरकल्पना र यथार्थको मिश्रण आदि प्रयोग पाइन्छ।
यसपछि नवचेतना सहित सबल्टर्न र उपेक्षित पात्रका कथाहरू आए। खगेन्द्र संग्रौला, नारायण ढकाल, भागीरथी श्रेष्ठ, अविनाश श्रेष्ठ, नयनराज पाण्डे, नीलम कार्की ‘निहारिका’, उपेन्द्र सुब्बा, कुमार नगरकोटी, रामलाल जोशी हुँदै केशवराज ज्ञवालीसम्म आइपुग्दा समय चेतना र अनेक राजनीतिक परिवर्तन भइसकेको छ। त्यसै अनुसार कथाका विषय, भाव, संरचना र तिनले बोक्ने ध्वनि र मान्यता परिवर्तन भइरहेका छन्। यसबीच भएका ठूल्ठूला राजनीतिक परिवर्तनसँगै समाजद्वारा उपेक्षितहरूको आवाज, पहिचान, आञ्चलिकता, डायस्पोरिक चेतना, संस्कृतिप्रतिको प्रेम आदि भावले ओतप्रोत कथा आएका छन्।
कतिपय कथाकारले आफू बाँचेको समय लेखेका छन् भने कतिपयले पुरानो समयलाई नवचेतनाका साथ उतारेका छन्। आधुनिक नेपाली कथा जुन प्रवृत्तिबाट आजसम्म अनेक आयामका साथ आइपुगेको छ, ती सबैको मिश्रित रूप अहिलेका कथाहरूमा पाइन्छ।
२००७ साल वरिपरिका कथाहरूमा भने राजनीतिक परिवर्तन र क्रान्ति समेटिए। सामाजिक, सांस्कृतिक र राजनीतिक चेतनाको प्रभाव आख्यान लेखनमा पनि पर्यो।
...
उपन्यासको विकास पनि लगभग कथा चेतनासँगै भएको देखिन्छ। तर, शुरूमा कथा विकासको गति पहाडी नदीको जस्तो तीव्र अनि अहिले समथर जमीनमा फैलिएको शान्त र विशाल जलराशि जस्तो देखिन्छ। उपन्यासको गति शुरूमा कथाको भन्दा सुस्त भए पनि तीसको दशकपछि तीव्र भयो। अहिले त सबैभन्दा धेरै लेखिने विधा नै उपन्यास भएको छ।
पछिल्ला उपन्यासमा प्रायः नवीन प्रयोगभन्दा लामा लामा वर्णन, सूक्ष्म मनोविज्ञानभन्दा बढी स्थूल समाज चित्रण पाइन्छ। राजनीतिक द्वन्द्व र उपेक्षित वर्गको आवाज पनि सशक्त रूपमा आएको हुन्छ। यसलाई बुझ्न एक पटक सरसर्ती उपन्यासको विकासक्रम हेर्नुपर्ने हुन्छ।
विसं १९९१ मा प्रकाशित रुद्रराज पाण्डेको रूपमतीलाई पहिलो आधुनिक उपन्यास मानिन्छ, जहाँ आदर्शको जलप सहित सामाजिक यथार्थ चित्रण गरिएको छ। यही चेतनामा विष्णुचरण श्रेष्ठको सुमति, रूपनारायण सिंहको भ्रमर, भवानीभक्त सिंहको यौवनको आँधी जस्ता उपन्यास आए, जहाँ भावनाको रुमानी चित्रण, समाजको यथार्थमा आदर्शको जलप, जीवनका अनेक संयोग तथा वियोगहरू पाइन्छन्।
विसं २००४ मा लैनसिंह बाङ्देलको उपन्यास मुलुकबाहिर आएपछि पाश्चात्य साहित्यमा प्रयोग गरिएको यथार्थवादले प्रभाव देखाउन थाल्यो। २००५ सालमा प्रकाशित डायमनशमशेरको वसन्ती उपन्यासले ऐतिहासिक यथार्थलाई सूक्ष्म रूपले चित्रण गरेको छ। वसन्तीमा इतिहासका घटना तथा पात्रहरूलाई लिएर लेखकले आफ्नो कल्पनाशीलता र सिर्जनात्मकताको भरपूर प्रयोग गरेका छन्। साहित्यमा आउँदा इतिहासले कसरी रूप बदल्छ र आँखै अगाडि घटना भए जस्तो लाग्छ भन्ने यो बलियो उदाहरण हो।
यो समयमा धेरै महत्त्वपूर्ण उपन्यास जन्मिए। लैनसिंह बाङ्देलको लङ्गडाको साथी, लीलबहादुर क्षेत्रीको बसाइँ, हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे, लीलाध्वज थापाको मन पनि २०१६ सालभन्दा अगाडि प्रकाशित यस्ता उपन्यास हुन् जसले समाज र मानवीय संवेदना, नारीवादी चेतसँगै परम्परागत सामाजिक मान्यताले नारीलाई गरेको दमनलाई गहन रूपमा चित्रण गरेका छन्।
समाज चित्रणबाट मानव मनभित्र सूक्ष्म रूपले छिर्ने पहिलो उपन्यास हो- पल्लो घरको झ्याल, जुन २०१६ सालमा गोविन्दबहादुर गोठालेले लेखेका थिए। मानोवैज्ञानिक यथार्थलाई सूक्ष्म ढङ्गले चित्रण गरिएको यो उपन्यासमा चेतन र अवचेन मनको द्वन्द्व सहितको सूक्ष्म मनोविज्ञान सशक्त छ। त्यसपछि मनोविज्ञानसँगै मानव चेतनाको उच्चतम प्रवाहलाई चित्रण गरिएका उपन्यास आए। विजय मल्लको अनुराधा (२०१८) र कुमारी शोभा (२०३९), विश्वेश्वरप्रसाद कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७) र मोदिआइन (२०३६), भवानी भिक्षुको सुभद्रा बज्यै (२०१९), तारिणीप्रसाद कोइरालाको सर्पदंश (२०२६), फालिएको सामान (२०३८) यसका महत्त्वपूर्ण उदाहरण हुन्। यी उपन्यासमा मानवीय अस्तित्व, यौन मनोविज्ञान र मिथकहरूको प्रयोग पाइन्छ। यो समयमा समाज चित्रणभन्दा व्यक्ति चित्रण, पात्रको अन्तर्मुखी स्वभाव, आन्तरिक द्वन्द्व, मनोविज्ञान, समाज चेतनाभन्दा व्यक्ति चेतनाको प्रकटीकरण पाइन्छ।
विसं २०२१ मा प्रकाशित इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ संरचना र रूपविन्यासका दृष्टिले परम्परागत उपन्यासभन्दा पृथक् देखिन्छ जसले जीवनलाई चित्रण गर्न आयामिक मोड समातेको छ। २०२२ सालमा प्रकाशित पारिजातको शिरीषको फूलले नेपाली औपन्यासिक प्रवृत्तिमा शून्यवादी र आत्मगत चिन्तन थप्यो। यो प्रवृत्तिलाई ध्रुवचन्द्र गौतम, सरुभक्त, वानीरा गिरि आदिले अझ समृद्ध बनाए।
उपन्यासको गति शुरूमा कथाको भन्दा सुस्त भए पनि तीसको दशकपछि तीव्र भयो। अहिले त सबैभन्दा धेरै लेखिने विधा नै उपन्यास भएको छ।
तीसको दशकपछि पारिजातको लेखन शून्यवादी र विसङ्गतिवादी चित्रणबाट प्रगतिवादी धारतिर मोडियो। यसमा हृदयचन्द्रसिंह प्रधानका उपन्यास स्वास्नीमान्छे (२०११) र एक चिहान (२०१७) महत्त्वपूर्ण छन्। रमेश विकल, खगेन्द्र संग्रौला, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, नारायण ढकाल, पद्मावती सिंह, नयनराज पाण्डे, आहुति, राजन मुकारुङ आदिले यस प्रवृत्तिलाई समृद्ध बनाए। मिथलाई आधार बनाएर जीवनको चित्रण गर्ने प्रवृत्ति पनि नेपाली उपन्यासमा बलियो छ। सुम्निमा, मोदिआइन, माधवी, योजनगन्धा, द्वन्द्वको अवसान, राधा, अश्वत्थामा जस्ता उपन्यास यसका उदाहरण हुन्।
यसरी नेपाली आधुनिक उपन्यास र कथाको उमेर र प्रवृत्ति उस्तै उस्तै देखिन्छ। विसं १९९० दशकयता झण्डै ९० वर्षमा उपन्यासमा आदर्श सहितको सामाजिक यथार्थ लेखन ऐतिहासिक, मनोवैज्ञानिक, शून्यवादी, अस्तित्ववादी, विसङ्गतिवादी, मिथकीय प्रयोग, प्रगतिशील तथा आलोचनात्मक यथार्थवाद, लीलावाद, नवचेतनावाद हुँदै उपन्यासकै परिवेशमा पुगेर लेख्ने प्रवृत्तिसम्म आइपुगेको छ।
तीसको दशकपछि नयाँ आयामहरू पहिले जसरी धेरै नदेखिए पनि नयाँ शैली र प्रयोग भने देखिएका छन्। समाजका उपेक्षित वर्गको आवाज मुखर भएको छ। महिला पात्रलाई केन्द्रमा राखेर धेरै उपन्यास लेखिएका छन् जसले महिला पीडा, मनोविज्ञान र उनीहरूको दबिएको आवाज सतहमा ल्याएका छन्। यही समयमा पहिचान नपाएका वर्ग र जातिलाई पहिचान सहित निम्न तहका पात्रहरूको चित्रण गरिएको छ। जुन पात्रहरूलाई समाजले उपेक्षा गरेको छ तिनैलाई उपन्यासकारहरूले नायक बनाएका छन्। प्रतिबन्धात्मक व्यवस्थाका कारण ०४६ सालभन्दा अगाडि अलि अमूर्त, विम्बात्मक र व्यञ्जनात्मक रूपमा लेखिने प्रवृत्ति मूर्त, सरल र अविधात्मक पनि बनेको छ। बोधगम्य र सरल भाषामा समाज र पात्रलाई चित्रण गरिएको पाइन्छ।
०५२ पछि नेपालमा १० वर्ष सशस्त्र राजनीतिक द्वन्द्व भयो, जसकारण हजारौंले ज्यान गुमाए, लाखौं घाइते भए। तिनका कथा पर्याप्त नआए पनि द्वन्द्वले धेरै आख्यान जन्माएको छ। कतिपय आख्यान एकपक्षीय छन् भने कतिपय निरपेक्ष। पल्पसा क्याफे, उर्गेनको घोडा, तपाईं, तुइन, महाभारा आदि उपन्यास यसका उदाहरण हुन्। यही क्रममा महेशविक्रम शाहका छापामारको छोरो, सिपाहीकी स्वास्नी कथा संग्रह सहित सयौं द्वन्द्वका कथा लेखिएका छन्।
...
आचार्य महावीर द्विवेदीले भनेका छन्, “साहित्य समाजको दर्पण हो।” अहिले पनि साहित्यका मीमांसकहरू यही सन्दर्भ लिएर लेख्ने–बोल्ने गर्छन्, आख्यान लेखिन्छन्।
समय बित्दै जाँदा मानिस बूढो हुँदै जान्छ, तर स्वयं समय जवान हुँदै जान्छ। जवान समयले नयाँ सोच र सिर्जना, विचार र आविष्कार जन्माउँछ। नयाँ मान्यता स्थापित हुँदै जान्छन्। तर, पुराना मान्यताले पनि आफ्नो जरा छोडिसकेका हुँदैनन्। जे विषय लेखे पनि समाजको आधार विना लेख्न सकिँदैन। जति मानिस छन् त्यति दृष्टिकोण हुन्छन्। यही दृष्टिकोणले आफ्नै शैलीको लेखाइ आविष्कार गर्छ।
क्यामेराको आविष्कारसँगै साहित्य समाजको दर्पण हो भन्ने मान्यता पनि मधुरो भयो। समाज त क्यामेराले एकैछिनमा खिचेर देखाइदिन सक्छ। किन सयौं पृष्ठको उपन्यास लेख्नुपर्यो त ? दर्पणले अनुहार र बाहिरी स्वरूप मात्र देखाउँछ; हृदय देखाउन सक्दैन। त्यसैले साहित्य हृदयको दर्पण हो।
(न्यौपाने साहित्यकार हुन्। हिमालको २०७९ असोज अंकबाट। पत्रिकामा यसकाे शीर्षक 'साहित्यमा समाज: ह्रदयकाे दर्पण' रहेकाे छ।)