अभिलाषा एउटा विस्फोटको
हिसाब छैन-
मेरो भोकले
कति भोकहरूको तृप्ति खोसिदियो
मेरो निद्राले कति सपनाहरूको प्राण चुँडिदियो
मेरा रुवाइ र चिच्याहटले हृदयका कति कोषहरू विस्फोट गराए
मेरो एक मुस्कानकै लागि कति रहरहरू बेपत्ता भए
गर्भमै हुँदा आमालाई कति चुसें होला
जन्मँदा पनि कति पीडा दिएँ होला!
मेरो उमेर डोर्याउँदा–डोर्याउँदै हातहरू
त्यतै कैद भए कति
आफ्नै बाटो बनाउने सुरमा
अरू बाटाहरू भत्किए कति
मेरा दुष्कार्यमा परेर कति छातीहरू आँसुमा डुबिगए
आवेगको अग्निमा कति भावनाहरू खरानी भए
आफू उक्लिनकै लागि कुल्चिदिएँ कति काँधहरू
अघि बढ्नकै लागि धकेलेर हिंडें कति यात्राहरू!
मेरो जलनको रापले हर्षका कति ओठहरू पिल्सिए
मेरा मोहदृष्टिबाट कति यौवनहरू कहालिए
उन्मादमा विकार फैलाएर कति आँखाहरू बिझाइदिएँ
अहं–अस्त्रले कति मुटुहरू छियाछिया बनाइदिएँ
यहाँसम्म आइपुग्दा
कति विघ्न आतङ्कहरू मच्चाइसकेको रहेछु
आजकल तर,
मैले स्वयम्भूबाट उडाएका एकजोर परेवा
हरेक रात सपनामा आउँछन्
र प्वाँखभरि लतपतिएको रगत छ्यापेर जान्छन्
शायद अब मैले
आफूभित्रका यावत् आतङ्ककारीहरू निर्मूल पार्न
पड्काउनुपर्नेछ एउटा बुद्ध–बम।
(हिमालको २०७९ असोज अंकबाट।)