सरकारले पहिलोपटक श्रम तथा रोजगार सम्मेलन गर्ने
सरकारले पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ ।
नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको हो ।
१५ र १६ असारमा काठमाडौंमा हुने सम्मेलनमा श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गरिने मन्त्रालयले जनाएको छ ।
आज आयोजित पत्रकार भेटघाटमा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले स्वदेशमै युवाको आकर्षण बढाई दक्ष जनशक्तिको विकास गर्न आवश्यक नीति, योजना र कार्यक्रम तय गरिने बताए ।
सम्मेलनको पहिलो सत्रमा विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन् ।
दोश्रो सत्रमा विशेषगरी उद्योग, जलविद्युत्, सडक, सिँचाइ, खेलकूद, अन्य पूर्वाधारलगायत निर्माण क्षेत्र, साना उद्योग, हस्तकला, जडीबुटी र प्रशोधन उद्योगलगायत घरेलु तथा साना उद्योग, सूचना प्रविधि, सेवा क्षेत्रका बारेमा नीतिगत छलफल, रोजगारीको सम्भावनाको खोजी गरिनेछ ।
रोजगारीको सम्भावनाका विश्लेषण, चुनौती तथा अन्तर विश्लेषण तथा भावी दिनमा चाल्नुपर्ने कदमका बारेमा छलफल हुने प्रवक्ता रेग्मीले जानकारी दिए ।