हिपहपको लहर
नेपाली र्याप तथा हिपहप सङ्गीतले तीन दशकयता नयाँ नयाँ अभ्यास गर्दै युवा जमातमा लोकप्रियता फराकिलो पार्दै गएको छ।
२०४६ सालमा जसै व्यवस्था परिवर्तन भएर समाजमा खुलापन आयो, युवाहरूले सङ्गीतमा पनि फरक स्वाद खोज्न थाले। सन् १९९० को दशकमा अमेरिकी र्यापरहरू स्नुप डग, नोटरियस बीआईजी, पुफ ड्याडी, टु प्याक, इमिनेम लगायतका गीत नेपालमा निकै रुचाइए। ती गीतले नेपाली युवामाझ र्याप वा हिपहप गीत गाउन र सिर्जना गर्न माहोल पनि बनाए। तिनैमध्येका युवा थिए, र्यापर गिरीश खतिवडा र प्रनिल तिमल्सिना।
सन् १९९२ मा गिरीशले आफ्नो पहिलो र्याप अल्बम मिनिङलेस र्याप बजारमा ल्याए। नेपाली र्याप गीतको पहिलो अल्बम त्यही थियो। तर, अल्बमको नाम जस्तै त्यो समयमा उनले भित्र्याएको पश्चिमी सङ्गीतलाई समाजले अर्थहीन मान्यो। नेपहप (नेपाली हिपहपलाई दिइएको नाम)का संस्थापक मानिने उनी ती दिन सम्झन्छन्, “त्यस वेला हामीलाई कसैले गायक नै मान्दैनथे, लय र भाका हालेर लामो स्वर तान्नेलाई मात्र गायक मानिन्थ्यो।” र्यापले समाजकै कुरा बोल्छ भन्ने बुझन नेपाली समाजलाई लामो समय लागेको उनी बताउँछन्।
पहिलो अल्बम निकालेको एक दशकपछि २००२ मा ब्याक अगेनः मिनिङलेस र्याप २ ले भने उनलाई र्याप र हिपहपको क्षेत्रमा स्थापित गराइदियो। अल्बमभित्र प्रनिल र सुदिन पोखरेलले मिलेर गाएको ‘म यस्तो छु, म उस्तो छु’ चर्चित भयो।
गिरीशहरूले र्यापको जग उठाउने प्रयास गरिरहँदा त्यो प्रयासमा हातेमालो गर्न अरू गायक पनि थपिए। सन् २००० मा सामी सम्राट् र निर्णय दा एनएसके (निर्णय श्रेष्ठ)ले राप्पाज युनियन अल्बम ल्याए, जुन नेपालको पहिलो अंग्रेजी र्याप अल्बम थियो। सन् १९८८ मा अमेरिका पुगेर विभिन्न र्यापरसँग सङ्गत गरेपछि निर्णय र्याप सङ्गीतमा तानिएका थिए। २००३ मा सार्वजनिक उनको गीत ‘दिन पनि बित्यो रात पनि बित्यो’ निकै लोकप्रिय भयो।
नेपालमा र्यापको दरिलो जग बसाएको पहिलो पुस्ताले सन् २००२ देखि २००८ सम्म धेरै काम गरेको निर्णय सुनाउँछन्। दोस्रो पुस्तामा नेपसाइडेज, म्याड लगायत ब्यान्डहरू देखा परे। यसपछि बीएड ब्यान्ड, यमबुद्ध (अनिल अधिकारी), लाउरे (आशिष राना), बालेन (बालेन्द्र शाह) लगायत सक्रिय भए। यो पुस्ताले नयाँ तरीकाले गाउन मात्र थालेन, ‘र्याप ब्याटल’ को शुरूआत पनि गर्यो। “त्यसपछि भने र्याप, हिपहप पनि कला हो, यसले पनि समाजको कथा नै भन्छ भनेर बिस्तारै स्विकार्न थालियो,” निर्णय भन्छन्।
नेपाली र्याप सङ्गीतमा नयाँ छिमलमा साकार, युनिक पोएट, प्रकाश न्यौपाने, योद्धा, महेश दोङ जस्ता कलाकारले थुप्रै गीत दिए। अहिलेको पुस्ताका भिटेन (समीर घिसिङ), किसुन, जिरो, जी–बब (सुदीप भण्डारी), भाइबर स्यामुअल, प्रोफेसर ट्रिक्स उम्दा र्यापरका रूपमा चिनिन्छन्।
गिरीश खतिवडा।
प्रतिरोधी स्वर
र्यापको गायन शैलीदेखि गायकहरूको हुलिया, हाउभाउ फरक हुने भएकाले परम्परागत आँखाले हेर्दा यी गायकलाई आलोकाँचो र गीतलाई अपाच्य देखिन सक्छ। तर, र्याप गीतले सामाजिक–राजनीतिक मुद्दा उठाउने र सन्देशमूलक हुने र्यापरहरू बताउँछन्। र्याप शैलीको इतिहास हेर्दा पनि विभेद विरुद्ध असन्तुष्टि र आक्रोश व्यक्त गर्ने परम्पराबाटै यसको विकास भएको हो। नेपाली र्यापरहरूले पनि भ्रष्टाचारदेखि सामाजिक बेथिति, बलात्कारसम्मका विषय टिपेर गीत मार्फत समाजलाई घचघच्याउने गरेका छन्।
र्यापले सामाजिक–राजनीतिक विषयवस्तु उठाउँदै अव्यवस्था र विसङ्गतिमा आक्रोश पोखे पनि यो क्षेत्र विवादमुक्त भने छैन। कतिपय र्यापरहरूले अश्लील र गालीगलौजका शब्द बोल्नुलाई नै र्याप ठान्ने गरेको र यो गलत अभ्यासले नेपाली र्याप तथा हिपहपलाई नै दूषित बनाएको निर्णय बताउँछन्। र्यापले अरू सङ्गीतबाट आउन नसक्ने समाजमा लुकेका विषय उठाउने बताउँदै निर्णय भन्छन्, “हिजो हामीले यही कुरा भन्दै, बुझाउँदै धेरै संघर्ष गरेर नेपाली र्याप र हिपहपको छवि बनाएका थियौं। त्यो छवि बिगार्ने गरी नयाँ पुस्ताका कतिपय र्यापर अपशब्द बोले मात्र र्याप हुन्छ जस्तो गरेर आएका छन्।” र्याप अपशब्दहरूको स्मृति मात्र हुने गरी यसमा कुसंस्कार भित्र्याउने काम रोक्न उनी नयाँ पुस्ताका गायकहरूसँग आग्रह गर्छन्।
नयाँ छिमलका र्यापरका कतिपय गीतका यस्तै अश्लीलता र गालीगलौज पाइन्छन्। गीत मार्फत अश्लीलता फैलाएको आरोपमा चर्चित युवा र्यापर भिटेन २०७६ कात्तिकमा पक्राउ परेका थिए। तर, स्वतन्त्रताका पक्षधरहरू कला र सिर्जनाका आधारमा धरपकड गरिनुलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको बताउँछन्।
सङ्गीतकार तथा गायक लोचन रिजाल र्याप र हिपहप गीतको उदय अमेरिकामा गोरा जातिले काला जातिलाई गरेको विभेद विरुद्ध प्रतिरोध व्यक्त गर्ने माध्यमका रूपमा भए पनि उतिवेला आक्रोश पोख्दा अपशब्द हुने नगरेको बताउँछन्। “कुनै पनि कुरा भन्न नडराई खुला तरीकाले शब्द लेखिन्थे र गाली पनि गर्थे, तर उच्छृङ्खल हुँदैनथे,” रिजाल भन्छन्। गीत आफ्नो कालखण्डको संस्कृति भएकाले र्याप र हिपहप सङ्गीत पनि मास्नभन्दा जोगाउने गरी सिर्जना गरिनुपर्ने उनको सुझाव छ।
पछिल्लो समय ब्रेक बार्स र्याप ब्याटलबाट चर्चित भएकी दिमित्री (स्मृति विश्वकर्मा) भने र्याप लेख्न र गाउन आफूलाई कुनै सीमाले बाँध्न नहुने धारणा राख्छिन्। उनका अनुसार, ‘सेन्सर’ नहुनु नै र्याप र हिपहप मन पराइनुको कारण हो। “मानिसलाई जस्तो भन्न मन लागेको छ त्यस्तो भन्न आफूले नसकेपछि र्याप सुन्छन्, यो नै यस विधाको सुन्दरता हो,” उनी भन्छिन्। र्यापरहरूले खुला मनले लेख्ने र गाउने गरे पनि देश, संस्कृति, कुरीतिको विषयमा त उनीहरूले जति अरूले कमै लेखेको समेत उनी दाबी गर्छिन्। “त्यसैले र्यापलाई स्वतन्त्र नै रहन दिई नयाँ पुस्तालाई हौसला दिनुपर्छ,” उनी भन्छिन्।
र्यापर दिमित्री।
‘हिपहपको नयाँ युग’
नेपालमा पछिल्लो समय र्याप र हिपहप सङ्गीतको माहोल तातेको सङ्गीतकर्मीहरूको अनुभव छ। डिजिटल प्लेटफर्मका कारण नयाँ पुस्ताका र्यापरहरू सक्रिय हुने र सिर्जना ल्याउने क्रम बाक्लिएको छ। यसै वर्ष ४९ जना र्यापरले ‘वडा नम्बर ६’ नामक गीत गाएर नेपाली र्यापरहरूबीच एकता र सामूहिकताको भावना पनि प्रस्तुत गरेका छन्। दोहोरो सवाल–जवाफको शैलीमा गाइने र्याप ब्याटलहरूमा सिर्जनात्मक घम्साघम्सी र लोकप्रियता पनि चुलिँदो छ। “नेपहपको श्रीपेच, ब्रेक वार्स ब्याटल जस्ता र्याप ब्याटल प्रतिस्पर्धाले नेपालमा हिपहपको नयाँ युग शुरू भएको देखाउँछ,” सङ्गीतकार रिजाल भन्छन्।
पछिल्लो समय ल्याटिन सङ्गीत मिसिएर बनेको ‘रेगे टन’ विश्वव्यापी र्याप बनिरहेको छ। यसले अर्को देशको लय समेटेर फ्युजन हुँदा पनि सर्वस्वीकार्यता पाउने र्यापर निर्णय बताउँछन्। यस्तै, नयाँ आइरहेको डिजेइङ, एमसिइङ, ग्राफिटी लगायत विधाका गीतहरू पनि नेपाली हिपहप कलाकारहरूले अभ्यास गरिरहेका छन्। अर्का र्यापर गिरीश आफ्नो समाज र संस्कृतिको धरातल नछाडी र्यापरहरूले नयाँ विधा पनि भित्र्याउनुपर्नेमा जोड दिन्छन्। “र्यापमा निश्चित मापदण्ड र प्रक्रिया अनुसार नै गाउनुपर्छ भन्ने नियम छैन, यसको फाइदा उठाउँदै हामीले अझ गम्भीर खोज गरी गीतहरू निकाल्नुपर्छ।”
र्याप र हिपहप क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरू जति जुर्मुराउँदै छन्, यो सङ्गीत रुचाउने युवा जमातका श्रोता र प्रशंसक पनि उत्तिकै छन्। अर्थात्, र्यापप्रेमी जमातका कारण नयाँ नयाँ र्यापरहरू जन्मिँदै छन्। र्यापरहरूको लोकप्रियता र आकर्षण नजानिँदो गरी युवामाझ फैलिँदै आएको छ। दिवङ्गत र्यापर यमबुद्ध हिपहपका श्रोतामा त लोकप्रिय छन् नै, नेपहपका कलाकारहरूले समेत उनलाई सम्मान गर्छन्। नेपहपको विकास र विस्तारमा यमबुद्धले गरेको योगदानको सम्मानस्वरूप र्यापर समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेनले गत असारमा उनको शालिक बनाउन बजेट छुट्याएका थिए। तर, यो कदमको चौतर्फी विरोध भयो।
सङ्गीतकार रिजाल भने आधुनिक गायक नारायणगोपालको शालिकले नेपाली सङ्गीतको जुन कालखण्डलाई बुझाउँछ, र्याप र हिपहपको कालखण्ड बुझाउन यमबुद्धको शालिक आवश्यक लागेको हुन सक्ने बताउँछन्। “लिओनार्दो दा भिन्चीले मोनालिसाको पेन्टिङ बनाए जस्तै कुनै पनि दक्ष कलाकारको सम्मानले देशको पहिचान बढाएर युवालाई हौसला दिन्छ,” उनी भन्छन्।
(हिमालको २०७९ असोज अंकबाट।)