कमाउने जति सबैलाई पान नम्बर अनिवार्य
अर्थमन्त्री डा युवराज खतिवडाले आयआर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर (पान) को दायरामा ल्याउने नीति सरकारले लिइएको बताएका छन् ।
आर्थिक विधेयक, २०७६ माथिको छलफलमा आज सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै अप्रत्यक्ष राजश्व प्रणालीलाई प्रत्यक्षमा लैजाने गरी कर नीति निर्धारण गर्ने बताए ।
उनले कुनै वर्ग विशेषलाई करमा छुट दिनेभन्दा समानरुपमा कर उठाई विपन्न वर्गलाई अनुदान दिने बाटो सरकारले लिएको जानकारी दिए ।
कुनै पुस्तक पसलमा किताब किन्न जाँदा मुनाफाबाटै छुट दिने गरिएकाले ज्ञानमा नभई पुस्तक पसलको कर उठाउने नीति लिएको मन्त्री खतिवडाले प्रष्ट पारे ।
छिमेकी देशमा पनि पुस्तकमा कर लाग्ने गरेको भन्दै उनले ज्ञानका सामग्रीमा १० प्रतिशतभन्दा बढी नलाग्ने बताए ।
खर्बौं लगानी गरेका नेपालका ७०० छापाखानालाई प्रोत्साहित गर्न पनि पुस्तकमा कर लगाउन लागिएको मन्त्री खतिवडाले प्रष्ट पारे ।