दुई कविता
बुझाइ
असी वर्षका हजुरबाले
मकै खाने रहर गरेपछि
घरमा खैलाबैला मच्चियो
हाँस्ने सबैभन्दा ठूलो कारण बन्यो
जेठो छोराले भुटेका मकै ल्याइदिन्छु भन्यो
कान्छा छोराले पोलेका मकै ल्याइदिने भन्यो
अनि
भर्खरै स्कूलबाट आएको सानो नातिले भन्यो-
‘म हजुरबालाई मकै खान मेरा दाँत दिन्छु।’
बाध्यता
तिमी-
‘बच्चाहरूका रहर मार्नु हुन्न’
भन्दै अनेक थरी ज्ञान बाँड्छौ साथी!
थाहा छ?
कलिलो उमेरमै अभावले थिचिएका केटाकेटीहरू
आज पनि
रहरहरू घरमै छाडेर मात्र
आमासँग बजार जान पाउँछन्।