डिजिटल दशैं
काम, पढाइका सिलसिलामा विदेशिएका वा घरबाट टाढा रहेकाहरूका लागि दशैं मनाउन प्रविधि ‘वरदान’ बनेको छ।
दशैं पारिवारिक मिलनको पर्व हो। देशदेशान्तरमा रहेका परिवार सदस्य समेत मान्यजनबाट टीको थाप्न घर फिर्ने परम्परा छ। तर, आठ वर्ष बित्यो– भक्तपुर, चाँगुनारायणकी माया मोक्तानले कुनै पर्व परिवारसँग बसेर मनाउन पाएकी छैनन्। कक्षा १२ को अध्ययन पूरा गर्नासाथ दुबई गएकी उनी त्यहाँको एक अस्पतालमा फिजिसियन नर्स छिन्। तर, कामको चाप अति छ, छुट्टी पाउनै मुश्किल। यस्तो व्यस्तता चाडपर्वका वेला अझ बढी बिझाउँछ। र, यसलाई कम गर्न उनको साथी बनेको छ प्रविधि।
“मैले कति वटा दशैं भर्चुअल्ली मनाएकी छु,” मोक्तान भन्छिन्, “आमा, बुबा अनि बहिनीहरूको याद आउँदा भिडिओ कल गर्छु।” सिन्धुपाल्चोककी उनी नेपालमा छँदा दशैं मनाउन भक्तपुरबाट सपरिवार गाउँमै पुग्थिन्। हजुरआमाको हातबाट टीका थाप्थिन्। अहिले त्यो उपक्रम मोबाइलमा सरेको छ। “बुबाले भिडिओ मार्फत मलाई टीका लगाइदिए जस्तो गर्नुहुन्छ, म टीका थापे जस्तो गर्छु,” उनी भन्छिन्।
अध्ययनका सिलसिलामा जापान पुगेका २७ वर्षीय बद्रीप्रसाद धिताल पाँच वर्षपछि घर फिरेका छन्। तर, एकमहीने छुट्टी दशैंअघि नै सकिने भएकाले उनले यसपालि पनि सशरीर टीको थाप्न पाउँदैनन्। “अरूको देशमा चाडपर्व भनेर बस्न पाइँदैन, फेरि यहाँको र त्यहाँको समय नमिल्ने भएकाले भिडिओमा पनि परिवारलाई भेट्न गाह्रो पर्छ,” उनी भन्छन्। दशैंको वेलामा पनि छोरो घर नआएको भन्दै कैयौं पटक आमाको आँसु झरेको छ। त्यसैले उनी चाडपर्वमा जसै गरी समय मिलाएर परिवारसँग भिडिओमा जोडिन्छन्। “धन्न प्रविधि छ र कुराकानी गर्न पाइन्छ,” धिताल भन्छन्, “यसले मेरो सँगै परिवारको पनि न्यास्रो मेटाइदिएको छ।”
सिन्धुपाल्चोककी माया मोक्तान नेपालमा छँदा दशैं मनाउन भक्तपुरबाट सपरिवार गाउँमै पुग्थिन्। हजुरआमाको हातबाट टीका थाप्थिन्। अहिले त्यो उपक्रम मोबाइलमा सरेको छ।
दशैंमा प्रविधिको प्रवेशले यसलाई मनाउने तरीकामा पनि केही बदलाव ल्याइदिएको छ। आफन्तसँग भेटघाटकै लागि टाढाबाट आउजाउ गर्ने परम्परा क्रमशः ‘अनलाइन’मा खुम्चँदै गएको भान हुन्छ। अर्कातिर, साँच्चै परिबन्धमा परेर घर आउन नपाएकाहरूलाई भिडिओबाटै भए पनि आफन्तसँग पर्व मनाउने सुविधा मिलेको छ। विदेशिनेहरूको संख्या जति बढ्दै छ, ‘डिजिटल दशैं’ उति हुर्किंदै छ।
नेपालबाट कम्तीमा १० प्रतिशत नागरिक रोजगारी र अन्य सिलसिलामा विदेशिएको अनुमान छ। राष्ट्रिय जनगणना, २०७८ ले झण्डै २२ लाख नेपाली विदेशमा रहेको देखाएको छ। वैदेशिक रोजगार विभागका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा दुई लाख ४० हजार जनाले वैदेशिक रोजगारीमा जान अनुमति लिएका छन्। यो तथ्याङ्कमा भारतमा रहेका र रोजगारी वा फरक प्रयोजनले अन्य देश गएका नेपालीलाई समावेश गरिएको छैन।
दशैंकै लागि करीब १० लाख मानिस काठमाडौं छाडेर गृहजिल्ला जाँदा विदेशबाट फर्कने पनि निकै हुन्छन्। जो फर्कन पाउँदैनन्, उनीहरू त्यहीं रहेका अन्य नेपालीसँग मिलेर दशैं मनाउँछन्। एकअर्कालाई टीका लगाइदिएको फोटो सामाजिक सञ्जालमा ‘शेयर’ गर्छन्। ठीक त्यसै गरी नेपालमा आफन्तले पोस्ट गरेका फोटोहरूमा लाइक–कमेन्ट गर्छन्। प्रविधिसँगको यस्तो लोटपोटले दशैंको नयाँ अनुहार उजागर गर्छ जसलाई इन्टरनेटको सहज पहुँचले सम्भव बनाएको हो।
नेपालमा सन् १९९५ मा भित्रिएको इन्टरनेट सन् २००६ मा आइपुग्दा एक प्रतिशत जतिले प्रयोग गर्न थालेका थिए। एक दशकअघि कुल जनसंख्याको करीब १९ प्रतिशतमा इन्टरनेट पहुँच पुगेको थियो। अहिले इन्टरनेट सेवाको घनत्व झण्डै १३० प्रतिशत पुगिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
साँच्चै परिबन्धमा परेर घर आउन नपाएकाहरूलाई भिडिओबाटै भए पनि आफन्तसँग पर्व मनाउने सुविधा मिलेको छ। विदेशिनेहरूको संख्या जति बढ्दै छ, ‘डिजिटल दशैं’ उति हुर्किंदै छ।
कतिपयले भने प्रविधिको प्रवेशले चाडपर्वको मौलिकता खस्कँदै गएको भन्दै चिन्ता दर्शाउने गरेका छन्। विगतमा पिङ खेल्नु, चङ्गा उडाउनु, मीठा खानेकुरा खानु, कम्तीमा बालबालिकालाई नयाँ लुगा किनिदिनु दशैंका अपरिहार्य पक्ष जस्तै थिए। पिङ थाप्ने, दशैंलाई लक्ष्य गरी वस्तु खरीदबिक्रीका रैथाने मेला आयोजना गर्ने प्रचलनले सामाजिक अन्तर्घुलन पनि बढाइरहेको हुन्थ्यो। अर्कातिर, यस्ता वस्तुहरूको पहुँच सर्वसुलभ नहुँदा तिनको महत्त्व बढी थियो। अहिले खानेकुरादेखि चाहे जस्ता लुगासम्म ‘मोबाइल एप’ बाटै अर्डर गर्न सकिन्छ। मनोरञ्जनका लागि दशैं कुरिरहनै पर्दैन। पहिलेका दशैं मेला अहिले विभिन्न कम्पनी र वित्तीय संस्थाका ‘उपहार अफर’ मा बदलिएका छन्।
प्रविधिमै बढी रमाउँदा आफन्त भेट्ने, समाजमा निस्किएर पर्वमा भिज्ने जस्ता विगतका गतिविधि कम हुँदै गएको त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक दीपेश घिमिरे बताउँछन्। “प्रविधिको विकासले अहिलेका बालबालिकामा यस्ता खालका चाहना कमै पाइन्छ,” उनी भन्छन्, “शहरका मात्र होइन, ग्रामीण भेगका बालबालिकामा पनि यस्तो चाह कम भएको छ। प्रविधिले सबै कुरा सस्तो र सुलभ बनाइदिंदा अब कतिपयलाई दशैं नै जरुरी लाग्न छाड्यो।”
यद्यपि, प्रविधिले चाडपर्व मनाउने तौरतरीकामा केही सकारात्मक परिवर्तन पनि ल्याइदिएको घिमिरे ठान्छन्। “भौतिक रूपमा टाढा रहेका अभिभावक र सन्तान भर्चुअल रूपमै भए पनि भेट गर्न पाएका छन्,” उनी भन्छन्, “फेसबूक मेसेन्जर, भाइबर, ह्वाट्सएप, टिकटक, इमो, जूम जस्ता माध्यमले विदेश तथा भौतिक दूरीमा रहेका परिवारलाई एक गराएका छन्। तर, यससँगै टीकाको महत्त्व घटेको हो कि जस्तो पनि छ।”
घिमिरेको बुझाइमा जीवनपद्धतिसँगै संस्कृति पनि परिवर्तन हुँदै जान्छ। जीवनपद्धति प्रविधियुक्त हुँदै जाँदा संस्कृति चाहिं त्यसबाट अलग रहिरहन सक्दैन। त्यसैले सांस्कृतिक चालचलन २०० वर्षअघिको जस्तो हुबहु नरहन सक्छ। “दशैं मनाउने पहिलेको तरीकाले त्यस वेलाको समाज र संस्कृतिलाई प्रतिनिधित्व गर्थ्यो। अहिले पनि त्यसरी नै मनाउने हो भने हामी बाँचिरहेको समाज, चेतना, मानिसहरूको बुझाइ तथा संस्कृतिसँगको सम्बन्धलाई कसरी प्रतिनिधित्व गर्न सक्छ र?” उनी भन्छन्।
बुझाइमा जीवनपद्धतिसँगै संस्कृति पनि परिवर्तन हुँदै जान्छ। जीवनपद्धति प्रविधियुक्त हुँदै जाँदा संस्कृति चाहिं त्यसबाट अलग रहिरहन सक्दैन।
संस्कृतिविद् गोविन्द टण्डन पनि मानिसको जीवनयापन समयसापेक्ष रूपमा बदलिँदै जाने भएकाले संस्कृति त्यसै अनुसार परिवर्तन हुने ठान्छन्। “५० वर्षअघिको दशैं र त्यसका चालचलन अहिले खोजेर हुँदैन,” उनी भन्छन्, “अहिले हात हातमा मोबाइल छ। सामाजिक सञ्जालको प्रयोग गरी मन परेका व्यक्तिलाई एकै पटक शुभकामना दिन सकिन्छ। पहिले पो केही सुविधा थिएन र मानिसहरू देवीदेवताका तस्वीर पछाडि शुभकामना लेखेर पठाउँथे।”
टण्डनको बुझाइमा ‘दशैंको मौलिकता भनेकै आफन्त भेटघाट तथा आशीर्वाद हो जुन भर्चुअल माध्यमबाट अझ सहज भएको छ। प्रविधिले दशैंको महत्त्व झन् उँचो बनाएको छ। विदेशिएका आफन्तलाई आर्थिक भार नपारी दशैं मनाउन सघाएको छ।”
चाडपर्वमा प्रविधिको महत्ता कोरोना महामारीले अझ बढाइदिएको छ। संक्रमण चुलीमा छँदा देशभित्रै रहेकाहरू पनि घर बाहिर निस्कनै प्रतिबन्धित थिए। भीडभाड गर्नु जोखिम अझ निम्त्याउनु थियो। टीका थाप्न जानुपर्ने आफन्तहरू अस्पतालमा थिए। यस्तोमा आशीर्वाद ग्रहण र शुभकामना आदानप्रदानको परम्परा धान्ने एक मात्र साधन भर्चुअल माध्यम नै बनेको थियो।
उपप्राध्यापक घिमिरे प्रविधिले दशैंमा दिइने दक्षिणाको विषयलाई पनि केही गौण बनाइदिएको ठान्छन्। “पहिले मानिसहरू टीका लगाउन प्लेनबाट गए पनि यसको भाडा दक्षिणाबाट उठ्दैन भन्थे,” उनी भन्छन्, “तर दशैंमा आफन्तकहाँ जाने कमाउन होइन, भेटघाटका लागि हो। भर्चुअल माध्यमले त्यो उद्देश्य पूरा गरिदिन्छ, दक्षिणाको सरोकार पनि हुँदैन।”
अर्कातिर, प्रविधि निर्माताले भने दक्षिणाको भर्चुअल आदानप्रदानलाई सहज बनाउँदै विभिन्न ‘एप’ विकास गरिसके। लाइभ भिडिओमा टीका थापेपछि तिनै एप मार्फत दक्षिणा लेनदेन गर्नेहरू थपिँदै छन्। यसकै लागि विभिन्न ब्यांक तथा डिजिटल वालेट सञ्चालकले दशैं लक्षित ‘अफर’ ल्याउने गरेका छन्। उनीहरू ई–बैंकिङ तथा डिजिटल वालेटबाट दक्षिणा पठाउँदा सहुलियत दिइने वा निश्चित प्रतिशत रकम थप गरिदिने भन्दै ग्राहक लोभ्याइरहेका हुन्छन्।
डिजिटल वालेट ई–सेवाले गत वर्ष ‘दशैं डिजिटल दक्षिणा अभियान’ अन्तर्गत डिजिटल कारोबार गर्ने ५०० जनालाई अन्त्यमा ५०० रुपैयाँ उपहार दिएको थियो। अभियान सफल भएपछि तिहारसम्म लम्ब्याइएको थियो। ‘डिजिटल दक्षिणा’ ले दशैंलाई प्रविधि अनुकूल मात्र नबनाई देशलाई नयाँ नोट छाप्नुपर्ने भार समेत कम गरिदिने ई–सेवाका प्रमुख व्यवस्थापक आशिष गौतम बताउँछन्। उनका अनुसार, २०७८ को ‘डिजिटल दक्षिणा’ अभियानमा ३० हजार मानिसले सात करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए।
(हिमालको २०७९ असोज अंकबाट।)