यी सङ्गीतकारका सौगात
दार्जीलिङबाट आएका अम्बर गुरुङ र गोपाल योञ्जनले कविता, सङ्गीत र गायनको नौलो संयोजन गर्दै नेपाली सङ्गीतमा विविध स्वाद थपेका थिए।
नेपाली सङ्गीत र गायनमा केही सङ्गीतकारले ल्याएका परिवर्तनलाई नजिकबाट देखेका केही कुरा सम्झिनु यस लेखको विषय हो। यसमा सन् १९६० को अन्तिम दशकदेखिका केही घटना र अनुभव छन्, जसभित्र गीतकार, सङ्गीतकार र गायकको प्रसङ्ग उल्लेख छन्।
सन् १९६८ देखि यताका वर्षहरूमा आएका केही परिवर्तनलाई नजोडी त्यस वेलाको सङ्गीत र गायनको युगको स्पन्दन बुझ्न सकिंदैन। त्यस वेलाको नेपाली सङ्गीत र गायनमा आएको परिवर्तनले बाहिरबाट आएका सङ्गीतकार, गायक र वैश्विक सङ्गीत दैहिक प्रस्तुतिकलाका आधार राखेर बुझ्न सजिलो हुन्छ। बाहिरबाट आउनेले नेपाली सङ्गीतमा एकनासको परिवर्तन ल्याएनन्, ती विविध थिए। यस्तो परिवर्तन ल्याउनेमा दार्जीलिङका सङ्गीतकार, गीतकार र गायकको हात ठूलो थियो। त्यसको चर्चा गर्न सजिलो पनि छ, अनि राष्ट्रवाद र नेपाली पहिचान जस्ता विषय समेत मिसिएर आउने भएकाले अप्ठ्यारो पनि छ।
अम्बर गुरुङ दार्जीलिङका प्रख्यात सङ्गीतकार र गुरु थिए। उनको नेपाल आगमनका केही पृष्ठभूमि छन्। अर्को आगमन सङ्गीतकार, गीतकार, गायक गोपाल योञ्जनको थियो। यी सङ्गीतकारहरूसँग प्रतिभाशाली नेपाली गायकहरू जोडिएका थिए, जसमध्ये नारायणगोपाल गुरुवाचार्य सबैभन्दा प्रमुख थिए भन्ने लाग्छ। गीतकार, सङ्गीतकार र गायकको अभूतपूर्व सङ्गम भएको त्यस वेलाको नेपाली सङ्गीतलाई आधुनिक मोडतिर लैजाने आधार थिए भन्नेबारे धेरै चर्चा भइसकेका छन्। संयोगले यी सङ्गीतकार, गायक र गीतकारसँग मेरो सम्बन्ध भयो।
तीसँगै अर्को चरित्र र शैली भएका मानिसहरू पनि बाहिरबाट नेपाल आए। दार्जीलिङबाट आउनेहरू नेपाली मूलका थिए भने यी अर्काथरी अमेरिका, यूरोपबाट आएका थिए। ती युवा थिए र प्रयोगशील थिए। तिनको जीवनशैली अनौठो थियो। ती पनि अम्बर गुरुङ र गोपाल योञ्जन आएकै वेलातिर आएका थिए। यो अनौठो संयोगको खासै सोझो सम्बन्ध थिएन। तर, उनीहरू एकै समयमा आइपुग्नुले केही युगीन विशेषता भेट्न सकियो। यो बुझ्न दुवैतिर चाख भएका व्यक्ति चाहिन्थे। त्यो काम हामी केही युवाले गरेका थियौं। यहाँ केही स्मृतिबाट त्यो समयको अभिव्यञ्जनाबारे लेख्छु।
अम्बर गुरुङ नेपाल आएपछि हामीमा नौलो तरङ्ग आयो। उनीसँग पछिसम्म नै सम्बन्ध र संवाद भइरह्यो। सङ्गीत र फिल्म विषयका अध्येता तथा काम पनि गरेका शेखर खरेल आएपछि मलाई त्यो समय जोडेर व्याख्या गर्न सजिलो भयो। सन् २००३ मा उनले मेरा अनुभवमाथि एउटा वृत्तचित्र बनाएका थिए, काठमाडौं ओडिसी। जसमा उनले पश्चिमी हिप्पी युवाहरू र अम्बर दाजुसँग मेरा स्मृतिहरूलाई जोडिदिए।
अम्बर दाजु काठमाडौं आएको (२०२६ साल)तिरकै कुरा हो। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विद्यार्थी युनियनको सांस्कृतिक सेक्रेटरी भएकाले गीत–सङ्गीत सम्बन्धी काम गर्ने जिम्मा थियो मेरो। अम्बर दाजु त्यस वेला सधैंका लागि नेपाल आउने कि नआउने भन्ने सम्भावनाको अध्ययन गर्दै थिए शायद। त्यही सिलसिलामा उनी नेपालमा आइराख्थे। राजा महेन्द्रसँग भेटेर निर्णय लिने उनको योजना रहेछ। त्यसको केही वर्षअघि दार्जीलिङमा उनले अगमसिंह गिरी लिखित ‘नौ लाख तारा उदाए’ गीत सङ्गीतबद्ध गरेर गाएका थिए। महेन्द्र दार्जीलिङ जाँदा उनको स्वागतमा अम्बरले भारतमा प्रतिबन्धित त्यही गीत गाएका थिए। महेन्द्रले पनि उनी नेपाल आऊन् भन्ने चाहेका थिए।
अम्बर दाजु नयाँ सडकको ग्रीन होटलमा बसेका थिए। उनलाई भेटेर मैले कीर्तिपुरको अडिटोरियममा एउटा प्रस्तुति दिन अनुरोध गरें। उनी तयार भए। त्यो खबर विद्यार्थीमाझ व्यापक प्रचार गरें। कीर्तिपुर जाने एउटा मात्र बस थियो। उनलाई एउटा ट्याक्सीमा लिएर गएँ। विश्वविद्यालयको कम्पाउन्डमा पसेपछि चकित भएँ। सडकदेखि नै विद्यार्थी र अरू मानिस निकै संख्यामा उनलाई पर्खेका भेटिए।
अडिटोरियममा श्रोताको भीड देखेर अम्बर दाजुमा पनि उत्साह देखियो। हामीले अनुरोध गर्यौं, “‘सुगौली सन्धि हामीले भुलेका छैनौं’ गाउन मिल्छ कि?” उनले एकछिन विचार गरे, अनि अकस्मात् आफ्नो सङ्गीत समूहलाई निर्देशन दिए र यो गीत गाए। पछि उनीसँग कुरा गर्दा थाहा भए अनुसार उनले यो गीत त्यसपछि एक पटक मात्र गाए, अनि आफू बाँचुन्जेल सार्वजनिक गर्न पनि मानेनन्।
‘सुगौली सन्धि’ गीतबारे नेपालमा अनेकौं तिथिमिति नमिलेका कथाहरू छापिए। यसको उत्पत्तिबारे हामीलाई भनिएका कुरा यस्ता थिए। ‘नौलाख तारा’ प्रतिबन्धित भएको र धरपकड भएको खबर युवाहरूले अम्बर दाजु र अगमसिंह गिरी भएको ठाउँमा पुर्याए। अनि अगमसिंहले ललकारको बोलीमा ‘सुगौली सन्धि’ गीत लेखे। अम्बरले सङ्गीतबद्ध गरेर गाए।
ललकारको बोली बाहिरका नेपालीहरूको राष्ट्रवाद हो, जुन नेपालको विगतको विस्तार, बहादुरी जस्ता विम्बहरू लिएर बनेको छ। त्यो एक अमूर्त राष्ट्रवाद हो, जुन उजागर गर्नु भारतीय नेपालीका निम्ति पहिचानको कुरा हो। तर, उनीहरूले यी गीतहरू निर्धक्क गाएर हिंड्न सक्ने अवस्था थिएन। नेपालमा पनि ती गाइँदैनन्, किनभने त्यस्तो गीत गाउनु भारतलाई ललकार्नु हो। त्यसो गर्नु नेपालको आवश्यकता पनि थिएन। तर, उताका कवि कलाकारहरूलाई यहाँ ल्याएर तिनको अमूर्त राष्ट्रवाद गाउन र पाठ गर्न लगाएर मजा लिनु हाम्रो रोमाञ्चित हुने काम मात्र थियो। त्यो हाम्रो रोमान्टिक राष्ट्रवाद भारतमा बस्नेको भावनात्मक र पहिचानको राष्ट्रवादभन्दा भिन्न किसिमको छ। लिम्पियाधुरा सहितको चुच्चे नक्शा प्रकरण उत्कर्षमा पुगेको वेला पनि त्यो गीत नगाइनुले यही कुरा भन्छ।
गोपाल योञ्जन अम्बर दाजुले कीर्तिपुरमा त्यो प्रस्तुति दिनुभन्दा अलि पहिला नै नेपालीमा स्नातकोत्तर गर्न नेपालले दिने छात्रवृत्तिमा पढ्न आएका थिए। गोपाल प्रख्यात सङ्गीतकार हुन् भनेर सबैलाई थाहा थियो। उनले र कर्म योञ्जनले रचेको र नारायणले गाएको गीत ‘मेरो गीत मेरै प्रतिविम्ब होइन’ रेडियो नेपाल मार्फत चर्चित भइसकेको थियो। गोपालको सम्पर्क रूप–रेखा पत्रिकाका सम्पादक/प्रकाशक उत्तम कुँवरसँग भयो। २०२४ साल ताका नै उनले काठमाडौंमा गोपालको साङ्गीतिक कार्यक्रम गर्ने प्रस्ताव ल्याए। गोपालले आफ्ना मीत नारायणगोपाल र अरूसँग पनि सल्लाह गरे। रक्तकालीमा धर्मरत्न यमी (हिसिला यमीका पिता)को घरमा डेरा गरी बस्ने दार्जीलिङका एक जना दाजुले आफ्नो कोठा दिएपछि रिहर्सल शुरू भयो। नारायणगोपाल त भइगए, माणिकरत्न तुलाधर, ध्रुव केसी सहित थप महिला र पुरुष कलाकार पनि समेटिए। हामीले अत्यन्त मीठो स्वरकी धरानकी इन्दिरा मास्केलाई पनि ल्यायौं।
गोपालको रिहर्सल जाडो याममा भएको थियो। पूर्णिमाको रात माथि स्वयम्भूमा, विजेश्वरीमा हिप्पीहरूको स्वतन्त्र सङ्गीत साधना र प्रस्तुति हुन्थ्यो। म त्यहाँ जान्थें र गोपालको रिहर्सलमा पनि पुग्थें। एउटा पूर्णिमाको रात हिप्पीहरूको चर्को सङ्गीत, बब डिलनको हिलिबिली गायनदेखि गोपालको रक्तकालीको रिहर्सलमा कुद्ने म केवल एउटा सेतु थिएँ। गोपालले रिहर्सल गरेको थलोसम्म लाउड स्पीकरबाट विजेश्वरीदेखि हिप्पीहरूको सङ्गीत आइपुग्थ्यो। गोपाल भन्थे, “त्यो लहरले हाम्रो सङ्गीत प्रभावित गर्न दिनु हुन्न।” तर, उनी पश्चिमी सङ्गीत र गायन शैलीसँग परिचित थिए। प्रायः सबै बाजा बजाउँथे।
अन्ततः ‘गोपाल योञ्जन नाइट’को समय पनि आयो। रूप–रेखाले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको त्यो कार्यक्रम ऐतिहासिक कन्सर्ट थियो। नारायणगोपालले उनका पछि प्रसिद्ध भएका गीतहरू गोपालको सङ्गीतमा त्यहीं गाए। जसमा ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘सारा दिन अरूलाई बाँडें’, ‘ए मलाई माया गर्छु भन्ने हजुर’, ‘चुमेर पानाभरि’ लगायत थिए।
गोपालले पनि एक–दुई वटा जोडदार गीत गाए जसमा भूपी शेरचनले लेखेको ‘अल्झेछ क्यारे पछ्यौरी’ र आफैंले लेखेको ‘सबलाई रिझाऊँ भन्दा पसलमा बेचिएछु’ लगायत थिए। उनले ‘गल्ती हजार हुन्छन् यहाँ होश हराएको वेला’ पनि गाए, जसको वामपन्थी समीक्षकहरूले आलोचना गरेका थिए।
मेरो मानसमा दुई सिर्जनशील धारको पूर्णिमाको सङ्गम थियो त्यो। एक उद्बोधन, एक प्रयोग, उत्तेजना र चुनौतीको पूर्णिमा थियो, जसमा गोपालको साङ्गीतिक प्रयोग र पश्चिमी हिप्पी युवाले ल्याएको सङ्गीतको प्रस्तुति मिसिएका थिए। रूप–रेखाको पूर्णाङ्क ७९ मा मैले त्यही लहर, प्रयोगबारे सानो लेख लेखेको रहेछु।
यस्तै, अम्बर गुरुङ स्मृति ग्रन्थ (२०७५)मा मैले लेखेको एक अनुच्छेद उल्लेख गर्नु उपयुक्त ठान्छु– “अम्बर गुरुङ र गोपाल योञ्जन नेपाल आउँदा एउटा ‘एब्स्ट्रयाक्ट’ राष्ट्रवाद लिएर आएका थिए। यहाँ उनीहरूले अर्को किसिमको ‘एब्स्ट्रयाक्ट’ पञ्चायती राष्ट्रवाद भेटे। योसँग उनीहरूले कसरी आफूलाई ‘एड्जस्ट’ गरे, त्यो कथा चाखलाग्दो छ। गोपालले यसलाई सरल किसिमले लिए। बिस्तारै अम्बर गुरुङले यता र उताको ‘एब्स्ट्रयाक्ट’ राष्ट्रवाद छोडिदिए, भनौं राष्ट्रवादी अधिचेतना छोडिदिए। गोपाल नेपालमा अदृश्य भए, अम्बर दाजुलाई राष्ट्रले अदृश्य हुन दिएन। खासै सुविधा दिएन, तर हराउन पनि दिएन। एकेडेमीका जागीरे बनायो। पछि सङ्गीत एकेडेमीको चान्सलर बनायो।”
यी सङ्गीतकारले नेपालमा भाषा, सङ्गीत, त्यसमा हार्मोनी अनि अर्केस्ट्राका थोरै भए पनि प्रयोग गर्ने विधि ल्याए। कविता, सङ्गीत र गायनको नौलो संयोजन गरे। भइरहेको नेपाली सङ्गीतमा केही विविधता जोडे। पश्चिमी सङ्गीतलाई चक्रवात जस्तो लिएर आउने युवाहरूले नेपालमा सङ्गीतबोधका नयाँ प्रयोग र सम्भावनाका उदाहरण देखाए। युवाहरूमा आज आएका सङ्गीत चेतना र साधनामा यी दुवै किसिमका सङ्गीतको अनुशीलन भएको हामी देख्न सक्छौं।
(सुवेदी साहित्य, सङ्गीत र कला समीक्षक हुन्। हिमालको २०७९ असोज अंकबाट।)