बाबा‚ त्यो मृत्युको कुवा थियो
बेहोशीबाट ब्युँझेपछि चकित भएर बाबाले चारैतिर हेर्दै सोध्न सक्नुभएको थियो, “निर्मिता, के त्यो साँच्चै सपना मात्रै थियो? सपना मात्रै थियो कि?”
बाबाले आफ्नो कविता सधैंजसो सुनाउनुहुन्थ्यो–
जबसम्म कलासित म जीवित छु,
तबसम्म नै सीमाङ्कनको विरोधमा हुनेछु
-तब, पर्ख! मृत्युपछि ता मेरो लाशमाथि
जति धर्के सीमाङ्कन गरे पनि भयो!
तर कमसेकम यस जीवनकालमा
मानिसको सिङ्गो परिचयसित बाँच्नु पाए ता भइगयो!
मृत्युपछि ता मेरो लाशलाई
लगेर चाहे शल्यक्रिया गर
वा, चाहे कुनै पनि धर्मले सीमाङ्कन गर!
वा, तिमीहरूलाई इच्छा भए झैं रङको झण्डाले सीमाङ्कन गर।
-अपितु मलाई ता सेतो रङ नै अति प्रिय छ
जो साधारणतः कात्रोको रङ पनि हो!
(सीमाङ्कन/दुख्दो दाँत– शरद् छेत्री)
बाबाको यो कविता आज पनि मेरो हृदयको समीप छ। यसले मेरो मस्तिष्कमा जीवन र मृत्युको बोध गराइरहन्छ। त्यसैले होला, मनमा एउटै प्रश्न बारम्बार घुमेको ‘खासमा मृत्युको वास्तविक अर्थ के हो?’ अन्ततः यस प्रश्नको उत्तर खोज्न रूमीको दर्शनतिर पसेकी थिएँ। र, बुझ्न सकेकी थिएँ, सबै जना मृत्युसँग धेरै डराउँदा रहेछन्। तर, वास्तविक सुफीहरू, जस्तै रूमी चाहिं मृत्युबारे रमाएर भन्न सक्दा रहेछन्–
म खनिजका रूपमा मरें र बिरुवा बनें
म बिरूवाका रूपमा मरें र पशुका रूपमा उठें
म पशुका रूपमा मरें र म मानिस हुँ
म किन डराउनु?
म कहिले मरेर कम भएँ?
हुन पनि ओइस्टरको खोलमा फङ्गसका जतिसुकै प्रजाति उम्रिए पनि त्यो फङ्गसले मोतीलाई कहाँ हानि गर्न सक्छ र? यहाँ ‘ओइस्टरको खोल’ ‘शरीर’ लाई मान्दा ‘फङ्गस’ बन्न पुग्छ ‘सांसारिक झमेला’ र ‘मोती’ चाहिं ‘आत्मा’।
हामीलाई थाहा छ, मृत्यु जीवनमा निश्चित छ। यो यस्तो सत्य हो, जसबारे बोल्न वा सोच्न पनि हामी डराउँछौं। तर, मृत्युसामु हामी घुँडा टेक्न बाध्य बन्छौं। त्यसैले इतिहास होस् वा दर्शन, मृत्युलाई नै आधार मानिन्छ। मृत्युले हाम्रो जीवनकथालाई अन्त्यसम्म पुर्याउँछ, तर यही मृत्युको डरले व्यक्तिलाई आफ्ना प्रियजनप्रति प्रेम वा आदरभाव राख्न पनि सिकाउँछ।
मृत्युको कुवामा पसेपछि केको डर? त्यो कुवाको बाहिरबाट हेर्दा मात्रै मृत्यु भयङ्कर लाग्छ, तर कुवाभित्र पसेर मृत्युसित खेल्न थालेपछि त्यसलाई जित्नैपर्छ भन्ने ध्याउन्नमै डर सबै कता हराउँछ कता!
मृत्युको डरले नै व्यक्तिलाई प्रतिपल बाँच्न सिकाइरहेको हुन्छ। सुकरात र प्लेटोका निम्ति भावी जीवन मृत्युका निम्ति तयार बन्ने बाटो थियो। तसर्थ, प्लेटोले मृत्युलाई पछिल्लो जीवन पाउने एक मौका ठाने। तर, प्लेटोको यस धारणामा एपिकुरसको सहमति रहेन। एपिकुरसका निम्ति ब्रह्माण्ड परमाणुहरू मिलेर बनेको अनन्त रहस्यमय घर थियो भने मानव त्यस ब्रह्माण्डमा बाँचिरहेको एक पशु। त्यसैले एपिकुरसले आत्मा शरीरसँगै मर्छ भन्नेमा विश्वास गरे, अनि जीवनको लक्ष्य आनन्द प्राप्तिमा देखे। तर, एपिकुरसलाई बुझ्दा लाग्छ– जीवन सही ढङ्गमा बाँच्न डरमुक्त हुनुपर्ने रहेछ, विशेष गरी मृत्युको डरबाट मुक्त।
तर, जर्मन दार्शनिक कार्ल जास्पर्सको सिद्धान्तले ठूल्ठूला कलकारखाना भएको वर्तमान सभ्यतालाई ‘रोग’ भनेको छ। व्यक्ति जति विचारको वस्तुगत परीक्षणलाई पन्छाउँछ, उति नै आफ्नो अस्तित्वदेखि टाढिँदै जान्छ। त्यस क्षण व्यक्तिलाई आफ्नो भौतिक सुखसुविधायुक्त जीवन देखेर त्यो प्रगतिमुखी रफ्तार हो भन्ने लाग्छ, तर त्यो त खासमा आन्तरिक शक्ति नाश भएको प्रामाणिक सत्य बन्न पुगेको हुन्छ। त्यसैले जीवनमा सत्यलाई खोज्न व्यक्तिले दुई बाटो अपनाएको हुँदो हो– अहङ्कार पालेर ईश्वरीय सत्तालाई भ्रम मान्ने वा दुःखी मनले ईश्वरप्रति समर्पित बन्ने।
पौराणिक ग्रन्थहरूले आफ्नो कर्मको फल भोग्नैपर्छ भन्ने दर्शाउँदै मानव जीवनलाई जन्म र मृत्युको दुई धारामाझ सञ्चालित कठपुतली मानेको भेटिन्छ। पौराणिक तथ्य जेजस्तो होस्, मैले एक दिन बाबालाई सोधेकी थिएँ, मृत्युको अर्थ। मेरो प्रश्नमा बाबा यस्तो अन्योलग्रस्त देखिनुभएको थियो कि एकाएक मतर्फ कौतूहलका दृष्टिले हेर्दै सोध्नुभएको थियो, “निर्मिता, सिद्धार्थ गौतमले पनि एक दिन पिता राजा शुद्धोधनलाई मृत्युको के हो भनेर सोधेपछि गौतम बुद्ध बनेका थिए, तिमी कसरी यस्तो कठिन प्रश्नसित अल्झिन पुग्यौ?”
त्यस वेला बाबाको यस प्रश्नको सही उत्तर मसित थिएन। कारण, म गौतम बुद्ध बन्न चाहँदैनथेँ। बाबालाई थप प्रश्नहरूको जञ्जालमा अल्झाउन पनि उचित लागेन। तर, मृत्युप्रतिको मेरो जिज्ञासाले त्यो दिन बाबालाई के भयो, उहाँ खूब गम्भीर बन्नुभयो, अनि मलाई टाउकोमा थपथपाउँदै एउटा कथा सुनाउन थाल्नुभयो, “एक दिन आँगनमै जस्तो नजिकै म सर्कस हेर्न पुगेको थिएँ। त्यो सर्कस थियो, मौत (मृत्यु)का कुवा। झट्ट हेर्दै पनि त्यो कुवा गजबको लाग्थ्यो– मान्छेको मन जस्तै, सानो परिधिबाट हुर्कंदै ठूलोमा पुगेको, अनौठो। जो ‘मौतका कुवा’ नामले प्रचारित भए पनि अति मनोरञ्जक र रोमाञ्चकारी कुवा थियो।
कुवाको बाहिरी भागबाट दर्शकहरू मचानमा चढेपछि खेल शुरू हुन केही समय पर्खनुपर्थ्यो। पात्र प्रवेश गर्ने ढोका बन्द राखिएको हुन्थ्यो। एक्कासि ढोका खुल्थ्यो र भटभटेमा चढेर एउटा चालक कुवाको फेदमा भित्रिने बित्तिक्कै ढोका बन्द हुन्थ्यो। जमीनमा सामान्य वेगसित भटभटे कुदाउँदै आफ्ना दुवै हात जोडेर नमस्कार गरेपछि त्यही गतिमा चालकले भटभटेकै अघिल्तिर झुन्ड्याइएको हेलमेट लगाउँथे, त्यससँगै दर्शकबाट थपडीको गडगडाहट लगातार ध्वनित हुन्थ्यो।
त्यही थपडीमय हौस्याइसँगै भटभटेको वेग बढ्दै गएर फेदको परिधिमा केही चक्कर काटेपछि वृत्ताकार कुवाको भित्तातिर चढेर फन्को मार्न लाग्थ्यो। भटभटेको वेग क्रमशः बढाउँदै कुवाको भित्तामा मास्तिर पुग्ने ध्येयले खेलिएको त्यस तमासाबाट दर्शक अत्यन्त रोमाञ्चित बन्थे।
भयङ्कर खेल थियो त्यो– अलिकति पनि भूल गरिए सोझै मृत्युको मुखमा परिने। तसर्थ, खेलको नाम थियो– मौतका कुवा’।
एउटा भटभटेले परिक्रमा गर्दागर्दै केही समयपछि कुवाको फेदको ढोका खोलेर अर्को भटभटेको प्रवेश गराइन्थ्यो। फेरि, त्यस दोस्रो चालकको काखमा एउटा आठ–दश वर्षे बालक समेत हुनाले दर्शकहरू निकै प्रभावित भएर झन् जोडले थपडी बजाउँथे।
तब, दुई वटा भटभटे वृत्ताकार भित्तातिर घुम्ने क्रममा दुई उपग्रह सरह आपसमा ठोकिनुदेखि बच्दै खूबै गतिशील बन्थे। मचानमा उभिएका दर्शक हातमा रुपियाँ देखाउँदै अत्यन्त मुग्ध देखिन्थे। कसैको हातमा पाँचको नोट, कसैको हातमा दश वा बीसका र कतिपयका हातमा सयका नोटहरू पनि। मृत्युलाई उपेक्षा गरिएको त्यस जोखिमयुक्त खेलमा भटभटेको तीव्र वेगमा हुइँकिँदा हुइँकिँदै चालकले खूबै यत्नपूर्वक सयको नोट नै चुनेर टिपेको अझ रोमाञ्चक लाग्थ्यो।
समस्त दर्शक ती साहसी चालकहरू र त्यस निडर बालकको प्रशंसा गर्न बिल्कुल थाकेका थिएनन्। खेल सकिएपछि अग्लो मचानबाट जमीनमा ओर्लेका प्रत्येक दर्शकको अनुहारमा मृत्युको कुवालाई पराजित पारेर आएको जस्तो सन्तुष्टि देख्न सकिन्थ्यो...।”
मृत्यु र जीवनको बारेमा जतिसुकै दार्शनिक तथ्य होस्, आफूले खूब प्रेम गरेको निकट परिचित मृत्युशय्यामा लडिरहेको कल्पना मात्रले पनि हाम्रो आँखा भिजाउँछ।
बाबाले सुनाउँदै गरेको कथा सकिँदा नसकिँदै मलाई भटभटेको प्रचण्ड वेगसित काखमा बालक राखेर मृत्युसित खेलिरहेको त्यो चालकबारे जान्न मन लाग्यो, त्यसैले कथाको अर्को भाग नसुनी बीचैमा प्वाक्कै सोधें, “बाबा, त्यो चालकलाई मृत्युसित डर लागेन?”
मेरो यस्तो प्रश्नमा बाबा बडो गम्भीर बन्नुभएको थियो र एक क्षण सोचमग्न भएर बोल्नुभएको थियो, “मृत्युको कुवामा पसेपछि केको डर? त्यो कुवाको बाहिरबाट हेर्दा मात्रै मृत्यु भयङ्कर लाग्छ, तर कुवाभित्र पसेर मृत्युसित खेल्न थालेपछि त्यसलाई जित्नैपर्छ भन्ने ध्याउन्नमै डर सबै कता हराउँछ कता! त्यहाँ मृत्यु सानोभन्दा पनि सानो लाग्दो हो। त्यो लडाइँमा कहिले जीवनको जित हुन्छ त कहिले मृत्युले विजय पाउँछ।”
बाबाको यस कथाले यथार्थ बोकेको थियो। हुन पनि, मृत्यु त्यो एक मात्र बुद्धिमान् सल्लाहकार हो जो हामीसँग सधैं हिंडिरहेको हुन्छ। जसरी सूर्य अस्ताउँदा दिन सकिन्छ र पुनः उदाउँदा बिहानीको शुरूआत हुन्छ, मृत्यु पनि उस्तै हो– जिन्दगीको आकाशमा तैरिरहने त्यो बादल जसलाई विलुप्त बन्ने खूब रहर भइरहन्छ।
मृत्युको यस्तो बलियो रहरलाई मैले त्यस वेला अनुभव गरेकी थिएँ, जब बाबा अत्यन्त बिरामी परेर भेन्टिलेटरको सहारामा अन्तिम दिनहरू गनिरहनुभएको थियो। जीवनमाथि मृत्यु हावी बनिरहेको त्यो समय खूब पीडादायी थियो।
हुन सक्छ, त्यस वेला म १६ वर्षकी केटी थिएँ र मभित्र बौद्धिकता विकसित नभएकाले बाबा पलप्रतिपल मृत्युसित पराजित बन्दै गएको देख्दा खूबै रुन्थें। अनि प्रायःजसो दौडिँदै महानदीछेउको घाट पुग्थें जहाँ सधैंजसो जीवनसित हारेका प्राणीहरूको बिदाइ समारोह चलिरहेको हुन्थ्यो। शायद त्यही घाटमा उभिएर होला, मैले प्रथम पटक मृत्युलाई बुझेकी थिएँ।
त्यस वेला कार्लोस क्यास्टानेडालाई पढ्ने मेरो चाख बढेको थियो। त्यसैले हुनुपर्छ, त्यस दिन मैले क्षितिजमा बूढो घाम अस्ताउँदै गर्दा भुइँमा झरेका फूल अनि पातहरूमा, लेखेर भरिन लागेको मेरो प्रिय डायरीको अन्तिम पृष्ठतिर अनि मेरो हरेक सास फेराइको छेउतिर जताततै मृत्यु अनुभव गरिरहेकी थिएँ। मस्तिष्कभरि दोहोरिरहेको थियो क्यास्टानेडाको त्यो भनाइ– जीवन र आफ्नो मृत्यु बाहेक हामीसँग के छ र? जब तिमी अधीर बन्छौ, बायाँतिर फर्केर तिम्रो मृत्युसित सल्लाह लिनू। त्यसले तिमीलाई इशारा गर्छ भने तिमीले मृत्युको एक झलक देख्न सक्छौ र जीवनलाई खुला किताब झैं पढ्न सक्छौ।
त्यति वेला म उमेरले अपरिपक्व थिएँ, त्यसैले जीवन र मृत्युको शृङ्खलालाई बुझ्न नसकेर घुर्मैलो आकाशमा ईश्वरलाई खोज्दै बाबाको जीवनको निम्ति गुहार मागिरहन्थें। त्यस बखत मलाई थाहा थिएन, त्यो रहस्यमय देखिने आकाशको आयतनमा सृष्टि र विनाशको नाटक मञ्चन भइरहन्छ। थाहा थिएन, चुम्बकीय घर्षणले हजारौं तारामण्डल बन्दै नष्ट हुँदै ‘ब्ल्याक होल’ मा हराउन पुग्छन्। जुन प्रक्रियालाई क्वान्टम फिल्ड थ्योरीले सृष्टि र विकासको नृत्य नै पदार्थको अस्तित्वको आधार हो भन्छ। आधुनिक भौतिक विकासले पनि भन्छ, प्रत्येक उपपारमाणविक कणले ऊर्जा नृत्य मात्र गर्दैन, त्यो ऊर्जाको नृत्य पनि सृष्टि र विनाशको आधार नै हो।
त्यस बखत मलाई थाहा थिएन, त्यो रहस्यमय देखिने आकाशको आयतनमा सृष्टि र विनाशको नाटक मञ्चन भइरहन्छ।
मृत्यु र जीवनको बारेमा जतिसुकै दार्शनिक तथ्य होस्, आफूले खूब प्रेम गरेको निकट परिचित मृत्युशय्यामा लडिरहेको कल्पना मात्रले पनि हाम्रो आँखा भिजाउँछ। म त झन् त्यति वेला कलिलो उमेरमै बाबा गुमाउने पीडासँगै मृत्यु बुझ्ने प्रयासमा निष्क्रिय भइरहेको महसूस गरिरहेकी थिएँ। म बाबालाई गुमाउन कदापि चाहन्नथें। त्यस वेला मेरो स्थिति अमेरिकी लेखक रिचर्ड बाखको उपन्यास जोनाथन लिभिङ्स्टन सीगलको प्रमुख पात्र जस्तै बनेको थियो जो आकाशमा निकै माथि उड्ने निरन्तरको प्रयासमा घाइते बनेपछि पनि पुनः उड्न तत्पर बन्थ्यो। म पनि बाबा जीवनबाट गल्दै गएको देख्दादेख्दै पराजित बन्न चाहँदैनथें। भेन्टिलेटरमा लडिरहेका बाबाको कानमा बारम्बार भनिरहेकी हुन्थें, “शरद् ऋतु विना प्रकृति बडो फिका देखिन थालेको छ बाबा, प्लिज शरद् ऋतु झैं जीवन्त बनेर जीवनमा फर्की आऊ।”
मलाई ब्रह्माण्ड बडो रहस्यमय लाग्छ र यसको कार्यप्रणाली चाहिं अत्यन्त चमत्कारी। त्यसैले यस्तै एउटा चमत्कारको प्रतीक्षामा थिएँ म। एक दिन त्यो चमत्कार पनि साँच्चै घटित भएको थियो। बाबाले लामो बेहोशीपछि आँखा खोल्नुभएको थियो। अचानक जीवनमा फर्किएका बाबालाई मैले अँगालोमा कसें अनि खूब रोएँ। तर, बाबाको अवस्था त्यति स्थिर बनेको थिएन, र पनि एउटा जिज्ञासाले मलाई बारम्बार उक्साइरहेको थियो। तसर्थ, त्यस दिन बाबाको कानमा बिस्तारै सोधेकी थिएँ, “बाबा, तपाईं यतिका दिन हामीलाई छोडेर कता हराउनुहुँदै थियो?”
मेरो यो प्रश्नले बाबाको अनुहारमा अचानक खिन्नता उब्जायो। बाबा एक क्षण गम्भीर बन्नुभयो र भन्नुभयो, “निर्मिता, मलाई हतार थियो त्यो परको उज्यालोमा झट्टै पुग्न। जे नै भए पनि त्यहाँ उज्यालो थियो, अँध्यारोमा म असाध्यै निसास्सिन्छु। अँध्यारोबाट जाँदाजाँदै अचानक म पस्छु एउटा कोठाभित्र। त्यो कोठा अँध्यारो भए पनि टाढाको उज्यालोले गर्दा कोठाभित्रका घटनाहरू बुझ्न सकिन्थ्यो। कालो पहिरन ओढेका व्यक्तिहरू आपस्तमा बाझिरहेका जस्ता बुझिन्थ्यो। र, त्यो तर्कको अर्धविरामको छोटो मौकामा मैले जोडसित कराएर सोधें, ‘उः त्यो पऽऽरको उज्यालोमा पुग्ने बाटो कता छ हँ?’ तर, अचानक अत्यन्त ठूलो हल्लाखल्ला भयो। त्यो हल्लामा एउटा आवाज खूब परिचित सुनिन्थ्यो। त्यही आवाजको तीव्र लहरले हुनुपर्छ, मलाई त्यस कोठाबाट हुत्याइदियो। त्यसरी हुत्तिएपछि म खुला आकाशमा मुक्त बन्दै उडिरहें, अनि उज्यालोछेउ पुग्दानपुग्दै एक्कासि ब्युँझें।”
बाबाको त्यो कस्तो विचित्रको भोगाइ थियो जसले मलाई त्यस क्षण खूब अन्योलमा अल्झाएको थियो। तर, त्यो दिन नै हो, मैले गौतम बुद्धलाई बुझेकी थिएँ। उनको शिक्षाले सिकाउने गर्थ्यो– साँचो सुख न स्वर्गमा छ, न धर्तीमा, जन्म–मरणको चक्रबाट मुक्ति भएर नै व्यक्तिले जीवनको उद्देश्य बुझेको हुन्छ। जसलाई बौद्धले निर्वाण भने, मैले मोक्ष भनेर ग्रहण गर्न सकें। हुन सक्छ, त्यही दिनदेखि मैले पञ्च परमेश्वरलाई ज्योतिविम्बका रूपमा कल्पना गर्न थालें।
बाबाले जीवन खूब दार्शनिक ढङ्गमा बाँच्नुभएको थियो। त्यसैले हुनुपर्छ, जीवन र मृत्युलाई बुझ्ने बाबाको अनौठो दृष्टिकोण थियो। त्यसै कारण त त्यस्तो सिकिस्त बेहोशीबाट ब्युँझेपछि चकित भएर उहाँले चारैतिर हेर्दै सोध्न सक्नुभएको थियो, “निर्मिता, के त्यो साँच्चै सपना मात्रै थियो? सपना मात्रै थियो कि?”
त्यस क्षण बाबाको त्यस्तो विचित्र प्रश्नको उत्तर मेरो अपरिपक्व दिमागले सोच्नै सकेन। त्यसैले त्यस दिन, बाबाको कमजोर काया अगाडि खूब रोएकी थिएँ र भनेकी थिएँ, “होइन बाबा, त्यो सपना कतै पनि थिएन, त्यो मृत्युको कुवा थियो। मृत्युको कुवा...!”
(भारत, दार्जीलिङकी लेखक छेत्रीको एक हरफ बाटो (२०१९) निबन्ध संग्रह प्रकाशित छ। हिमालको २०७९ असोज अंकबाट।)