मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र सम्पन्न हुने
सरकारले मध्यपहाडी लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ ।
एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ ।
बाँकी रहेकाे एकहजार ४८९ किलाेमिटर मध्ये चार सय ६३ किलोमिटर सडक कालोपत्रेकाे क्रममा छ । ५४२ किलोमिटर सडक निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको बताइएको छ ।
बाँकी कामको आगामी आर्थिक वर्षमा बोलपत्र गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हालैको बैठकमा उनले यो सडक आव २०७८/७९ मा नै सम्पन्न गर्ने गरी काम अघि बढिरहेको बताए ।
“काम गर्दै जाँदा दुई/चार महीना तलमाथि होला तर त्योभन्दा ढिलाइ हुन नदिन मन्त्रालय लागेको छ ”, उनले भने ।