परिबन्द
आज देशमा गणतन्त्र आएको छ। गाउँको मुहार पनि थोरै फेरिएको छ। तर, त्योभन्दा पनि उही सामन्तहरूको रजगज बढेको छ।
झुल्के घामसँगै ब्युँझनासाथ सुखवन्त घर पछाडिको शौचालय गयो। पहिले पहिले भए शौच गर्न लोटा बोकेर घरदेखि पर्तिर खेतको पाटामा जानुपर्थ्यो। अहिले त घर पछाडि शौचालय बनेकै धेरै भइसक्यो। शौचालयबाट निस्किएर ट्युबवेलबाट पानी निकाल्यो। उसको मनमा कुरा खेलिरहेका थिए। अघि शौच गर्न बसिरहँदा पनि मन यस्तै बेचैन थियो। यो छटपटीमै उसको मुखबाट निस्कियो, “साला, ओकरा के हम ना छोडलजाई!”
“बिहने सबेरे का हो गइल, रउआ त पूरे सोचे लगनी हँ!” यो प्रश्न उसकी श्रीमती फूलनियाको थियो। उसले सुनेको नसुन्यै गरिदियो। फूलनियाले फेरि भनी, “केने भुला गइनी?”
कोट्याउँदै सोधेपछि यस पटक भने प्रतिक्रिया जनाउन उसलाई करै लाग्यो। “एहबेरि का करीं, उहे सोचतानी।” उसले सरासर झूट बोल्यो। फूलनियाले पनि उसको कुरा पत्याई। किनकि, आफ्नो लोग्नेमाथि अपार विश्वास छ उसलाई।
सुखवन्तको मनमा उथलपुथल जारी थियो। अब विपुललाई भ्रष्ट हुन दिनु हुँदैन र यसका लागि आफूले केही गर्नैपर्छ भन्नेमा ऊ प्रष्ट थियो।
चिया पिउन्जेल कसैसित बोलेन। त्यही वेला आँगनमा मनदेश आइपुग्यो र उसलाई बोलायो, “ए भाइजी, आज खेतमा काम गर्न जाने वेला भएन?”
सुखवन्तले भुसुक्कै बिर्सेछ, आज खेतमा कुलोको पानी लगाउने पालो उसैको थियो। बल्लतल्ल आएको पालो सदुपयोग गरे मात्र खेतमा पानी पुग्छ, नत्र बाली सुक्न के बेर! बाँकी चिया एकै घुट्कोमा स्वाट्ट पार्यो र मनदेशसँगै निस्कियो।
खेत पुग्दा कुलोमा पानी आइपुगेको थिएन। के भयो, पानी कसको खेतमा लगेको छ भनेर दुवै हेर्न थाले। हिजो रामदुलारको खेतको पालो थियो। उसको खेतमा गएर हेर्दा त्यहाँ पानी लगिएको थिएन। खोज्दै जाँदा कुलोको पानी पालो मिचेर कसैले आफ्नो खेतमा फर्काएको देखियो। दुवै आश्चर्यमा परे, आक्रोश त हुने भइहाल्यो।
मनदेश झोक्कियो, “यो मान्छेले खोजेको चाहिं के हो, दाजु?”
यस्तो भएको पहिलो पटक चाहिं होइन। मुर्मुरिएका दुवैले खेतको मालिकप्रति गालीका अनेक शब्द फलाके। सुखवन्तलाई हुनसम्मको रिस उठ्यो। तर, यति वेला रिसाएर हुने केही थिएन, त्यसैले उनीहरू कुलो फर्काउनतिर लागे।
000
खेतको मालिक खोवारी थियो। जो गाउँको जमीनदार थियो र जसको हुकुमी शैली पहिल्यैदेखि चल्थ्यो। गाउँमा स्कूल खोल्न नदिने उसको बाबु थियो। खोवारीसँग गाउँका सबै रिस पालेर बस्थे, तर सामुन्नेमा केही बोल्न सक्दैनथे। त्यसैले गाउँलेहरूलाई दबाएर राख्ने र आफू अनुकूल चलाउने सिलसिला चल्दै आएको थियो।
विपुलले दाह्रा किट्दै भन्यो, “यसको शासन कहिलेसम्म हामीले सहने? यस्ता सामन्त र शोषकलाई अब हामीले धूलो चटाउनुपर्छ।”
उति वेला कक्षा ८ मा पढ्दै गरेको सहपाठी विपुलको कुरा सुनेर सुखवन्त दङ्ग पर्यो। गाउँमा खोवारीलाई मन पराउने कमै थिए, तर यसरी ठाडै चुनौती दिने आँटिलो बोली कसैको सुनिँदैनथ्यो।
विपुल त्यसपछिका योजना सुनाउन थाल्यो, “यो चुनावमा यसलाई जित्न दिनु हुँदैन। यसको विरुद्धमा जो उठ्छ, उसैलाई जिताउन हामी लाग्नुपर्छ।”
२०५४ सालको चुनावमा उही खोवारी उठेको थियो, गाविस अध्यक्षमा। यसअघि पनि उसैले जितेको थियो। तर, गाउँमा सिन्का समेत भाँचेको थिएन।
यति वेला चाहिं विपुलको कुरा सुनेर सुखवन्तलाई नेताको भाषण सुनिरहे झैं लागेको थियो। चुनाव के हो? यसमा के हुन्छ? उसलाई खासै थाहा थिएन। आफ्नो सहपाठीले यति धेरै कुरा जानेकोमा उसले गर्व मान्यो। आफूले नजानेकोमा हीनताबोध पनि थियो।
खोवारीको अगाडि कसैको केही चल्दैन भन्ने सुखवन्तले सुनेको, बुझेको र देख्दै आएको थियो। आखिर चुनावमा पनि त्यही भइदियो, उसैले जित्यो।
000
सुखवन्तले खोवारीको खेतबाट पानी फर्काएपछि अब पानी आफ्नो खेतमा पुग्यो भन्ने सोचेको थियो। तर, त्यसो भएन। पानी फर्काएर ऊ अघि अघि र मनदेश पछि हिंड्दै थिए, खेतमा पानी झरेको आवाज आयो। अचम्म मान्दै पछाडि फर्किए। भर्खर कुलो भिजाउँदै आएको पानी अलि अगाडि आफ्नो खेततिर जानुपर्नेमा अर्कैको खेतमा ओइरिएको थियो।
सुखवन्त क्रुद्ध भयो, “यो गाउँका मान्छेहरूको बुद्धि बिग्रिइसकेको छ। आआफ्नो पालोमा कुलो लगाए भइहाल्यो नि! यसरी अर्कालाई दुःख दिन कति जानेका!”
मनदेश केही नबोली कुलो टालेर फर्काउन थाल्यो। कुलो अघि लाग्दै थियो, सुखवन्तको मन भने पुराना दिन फर्कियो। जति वेला ऊ कक्षा ६ मा पढ्थ्यो।
“सुखवन्त, यसरी सधैं दुई घण्टा हिंडेर स्कूल पुग्न धेरै गाह्रो हुने भयो,” विपुलले हिंड्दाहिंड्दै भन्यो।
स्कूल पुग्न हतार भएको वेला उनीहरू बेतोडले दौडिन्थे। विपुलले फेरि भन्यो, “यसरी त हाम्रो पढाइ कहिल्यै राम्रो हुँदैन। हिजो त सरले मलाई ढिला पुगेको भनेर गाली गर्नुभयो।”
सुखवन्तलाई विपुलले आफ्नै मनको कुरा भने जस्तो लाग्यो। खुइय्य गर्दै भन्यो, “हाम्रो गाउँमा स्कूल कहिले बन्छ?”
उसको निराशामा तेल थप्ने गरी विपुल बोल्यो, “हाम्रो गाउँमा स्कूल बन्न नदिएको हो। साला नेताहरू भाषणमा त बोल्छन्, भोट मागेर जितेपछि बिर्सिहाल्छन्। अब भोट माग्न आउनेलाई पहिले स्कूल बनाऊ अनि भोट दिन्छौं भनेर कबूल गर्न लगाउनुपर्छ, हाम्रा आमाबा मार्फत।”
सुखवन्त र विपुलले उसै गरी दुःखकष्ट भोगेर स्कूल धाए, एसएलसी परीक्षा दिँदासम्म पनि गाउँमा स्कूल बनेन। जसोतसो एसएलसी पास भए। तर, त्यो नतीजाले उनीहरूलाई खुशी र बेखुशीको दोसाँधमा उभ्याइदियो। कलेज पढ्न सदरमुकाम वा बजारतिर लाग्नुपर्थ्यो, जुन उनीहरूको वशको कुरा थिएन। घरमा गरीबीले गाँजिरहेको अवस्थामा शहर बसेर पढ्नु भनेको ढुङ्गा चपाएर निदाउन खोज्नु सरह थियो।
एक दिन विपुलले चर्किंदै गएको घामसँगै सुखवन्तको मन पोल्ने गरी भन्यो, “अब म लालबन्दीमा बसेर पढ्छु।”
सुखवन्तलाई पनि पढ्ने मन थियो, तर घरको अवस्था राम्रो नभएकाले गाउँमै बस्ने मन बनाइरहेको थियो। तर, विपुलको खबरले उसको मनमा पनि पढ्न पाए हुने भन्ने चस्को पस्यो।
विपुलले दृढ हुँदै आफ्नो योजना सुनायो, “म काम खोजेर भए पनि पढ्ने हो।”
पढ्न शहर जाने वेला विपुलले सुखवन्तलाई भनेको थियो, “काम भेटियो भने म तँलाई बोलाउँछु, अनि हामी सँगै पढ्नुपर्छ।”
विपुल गएपछि सुखवन्तलाई छटपटीले सतायो। उसले कलेज पढ्ने इच्छा हिम्मत गरेर घरमा जाहेर गर्यो, अभिभावकले नाइँनास्ती गरेनन्। तर, आफैंले काम खोजेर पढ्नुपर्ने शर्त थियो। त्यसपछि ऊ पनि लालबन्दी बजारमा काम गरेर पढ्न थाल्यो।
000
एक दिन कलेजबाट फर्कंदै गर्दा विपुलले भन्यो, “ए सुखवन्त, आज राति तिमी मेरो डेरामा आइज है। भर्खरै परीक्षा सकिएकाले उनीहरू त्यति चापमा थिएनन्।
सुखवन्त अनकनायो, “राति नै किन? भोलि भेट भइहाल्छ नि।” तर, विपुलले आउन करै लगायो।
सुखवन्त कोठामा पुग्दा विपुल ओछ्यानमा पल्टिएर किताब पढिरहेको थियो। उसको हातमा नयाँ घर उपन्यास देखेर सुखवन्तलाई अनौठो अनि डर दुवै लाग्यो। यो समयमा यस्ता किताब लुकीछिपी पढिन्थ्यो। किनकि, पहाडमा सल्केको माओवादीको युद्ध मधेशतिर सरिसकेको थियो। यस्ता किताब जसले राख्थे, ती राज्यको नजरमा अपराधी सरह हुन्थे।
“रातिको समयमा बोलाइस्। मलाई त केही लफडा जस्तो लागिरहेछ रे विपुल,” सुखवन्तको बोलीमा डर मिसिएको थियो।
“अबे डराउने कुनै कुरा छैन। तिमी र म बाँचेको समयले हामीलाई कस्तो जिन्दगी दियो भन्ने सवाल जरुरी छ। गाउँमा जब हामी दुईले कोशौं दूर गएर स्कूलमा पढ्नुपर्यो, तब कम दुःख पायौं? त्यति वेला लाग्थ्यो, हाम्रा बाप–मतारी यो देशको नागरिक जसरी बाँचिरहेका छन्। तर, त्यस्तो त होइन रहेछ नि! अब तिमी र हामीले सहने दिन गयो रे। अब जेहादमा हामी पनि होमिने दिन आयो बुझिस्? त्यसैले यो लडाइँमा म एक्लो छैन र तिमी पनि एक्लो छैनस् रे। अब हाम्रो मुलुकमा हाम्रो पनि नयाँ घर हुन्छ, बुझिस्,” विपुलले सुखवन्तलाई भर्खरै पढेको उपन्याससँगै आफूले पढेका केही किताब देखाउँदै आफ्ना भावी योजना सुनायो। नेताले झैं सुखवन्तलाई आफ्नो कुराको डोरोले बाँधिरह्यो। उसका कुराले सुखवन्त घरीघरी जुरुकजुरुक हुन पुग्यो।
कलेज पढ्न थालेपछि सुखवन्तले राजनीतिका धेरै कुरा बुझन थालेको थियो। मधेशमा आफूहरूले भोग्नुपरेको अन्यायलाई पनि राम्रोसँग बुझिसकेको थियो। विपुलले दिएको प्रवचनले ऊभित्र नयाँ जोशले घर बनाइसकेको थियो। त्यस दिनपछि विपुल र सुखवन्त सशस्त्र द्वन्द्वलाई सघाउन थाले। अन्ततः युद्धमा होमिए।
000
कुलोमा पानी बग्न थालेको थियो। खेत बिस्तारै भिज्न थाले। यो दृश्यले मनदेशसँगै सुखवन्तको मन पनि आनन्दले भिज्यो।
“भैयाजी, यो विपुल पनि अचेल बडो सामन्ती स्वभावको भइसक्यो। गाउँमा त्यो मुसहरको परिवारलाई सताएको सतायै छ। त्यसको घरमा ट्वाइलेट बनाउने अनुदान उसैले रोकिदिएको छ भन्ने सुनेको छु,” मनदेशले सुनायो। तर, सुखवन्तले कुनै प्रतिक्रिया देखाएन। किनकि उसलाई राम्रोसँग थाहा थियो, अचेल विपुल गाउँमा राजनीति गरेर हिंड्छ र उसको रवैया पूरै बदलिएको छ। अघि कुलो बनाएर फर्कंदा बीचमै पानी झरेको खेत उही विपुलको थियो।
“नेता भएपछि उसको पनि प्वाँख उम्रेको छ,” मनदेशले थप्यो। सुखवन्त फेरि पनि बोलेन। उसलाई विपुल सम्झिएर बिहानदेखि नै रिस उठिरहेको थियो। संघीयता आएपछि गाउँमा विपुलको राजनीतिक पकड बढेको थियो। ऊ गाउँपालिकामा पार्टी अध्यक्ष भएको थियो।
“अरू त के भन्ने र! यही कुलोको ठेक्का पनि उसैले लिएको थियो। यसमा धेरै रकम पचायो भन्ने हल्ला छ। कुलो हेर्नुभएन? उः माथिसम्म मात्रै सिमेन्ट हालेर पर्खाल लगायो, बाँकी सब माटोको छ,” मनदेशले दिक्क मान्दै भन्यो।
आफ्नो साथी यसरी बदलिएकाले सुखवन्त दुःखी थियो। त्यो विपुल र यो विपुलमा आकाश–जमीनको फरक थियो।
“यो चुनावमा विपुल गाउँपालिकाको अध्यक्षमा उठ्दै छ भन्ने सुनेको छु,” अचानक मनदेशले सुनायो। यो खबरले भविष्यको अनुमान मात्रै लगाएको थिएन, सुखवन्तको मन–मगजलाई नै नराम्रोसँग हल्लायो।
आज देशमा गणतन्त्र आएको छ। गाउँको मुहार पनि थोरै फेरिएको छ। तर, त्योभन्दा पनि उही सामन्तहरूको रजगज बढेको छ। उनीहरूसँगै विपुल पनि राजनीतिमा कुममा कुम मिलाएर हिंडेको छ।
“के भयो भैयाजी?” मनदेश परैबाट चर्को आवाजमा बोल्यो। सुखवन्त यस वेलासम्म त्यही कुलो हेरिरहेको थियो, जसको ठेक्का विपुलले लिएको थियो। ६ महीना पनि नटिक्ने कुलो बनाएको सबैले थाहा पाइसकेका थिए। आफ्नै साथीले यसरी घोटाला गरेर आफ्नै गाउँलेलाई विश्वासघात गर्छ भनेर उसले कल्पना समेत गरेको थिएन।
“अब त्यो मेरो साथी होइन,” आफ्नै सुरमा सुखवन्त बरबरायो। आफ्नो यस्तो बरबराहटप्रति आफैं छक्क पर्यो। उसको आवाज मनदेशसम्म चाहिं पुगेन।
000
उसै त सुखवन्त बिहानैदेखि छटपटीमा थियो, हपक्क गर्मीले पसिना छुटाएर उसलाई झन् उकुसमुकुस बनायो। यस्तो छटपटी यसअघि कहिल्यै भएको थिएन। यसको खास कारण उसैलाई थाहा थियो।
“अब समय आइसक्यो, हिजोको सङ्कल्प अनुसार अब मैले काम गर्नैपर्छ,” उसको मनको एक कुनाले भन्यो। अर्को मनले भन्यो, “साँच्चै त्यो समय आइसकेको हो त?”
जब सामन्ती सोचको अन्त्य गरेर आफ्नो गाउँको विकास गर्नुपर्छ भन्ने सोचले दुवै जना भूमिगत भएका थिए, त्यति वेला दुवैले एउटा सम्झौता गरेका थिए– जस्तो परिस्थिति आए पनि सत्ताको खेलमा नलाग्ने, गाउँलेहरूलाई धोका नदिने, गाउँको विकासमा सघाउने र जसले बाटो बिराउँछ ऊ कारबाहीको भागीदार हुने।
भूमिगत जीवन छाडेर समाजमा फर्किने दिन उनीहरूले आगोलाई साक्षी राखेर कसम खाएका थिए। त्यो कसम उसको दिमागमा बेस्सरी भुनभुनाउन थाल्यो। शरीर झन् तातिएर आयो।
“जे पर्छ पर्छ, दगावाज र भ्रष्टलाई अब छाडिन्न,” ऊ एकोहोरो बडबडायो।
(हिमालको २०७९ असोज अंकबाट।)