प्रधानमन्त्रीको लङ ड्राइभ
“कस्तो काल?” बल्ल प्रधानमन्त्रीको बक फुट्यो, “कालको अर्थ समय हुन्छ र मृत्यु पनि हुन्छ। तपाईं समयको राजदूत? कि मृत्युको राजदूत?” “जे सोचे पनि हुन्छ,” कालदूतले भन्यो, “इट्स अप टु यु, क्राइम मिनिस्टर!”
१ वैशाख २०८०: कफी टाइम
जेन गार्डेन
प्रधानमन्त्रीलाई ब्ल्याक कफीको तलतल लाग्यो।
दिनको शुरूआत ब्ल्याक कफीबाट र अन्त्य ब्ल्याक लेबलबाट। केही समयदेखि प्रधानमन्त्रीको दैनन्दिन जीवनमा यो एक प्रकारको नियमित आकस्मिकता जस्तै हुन गएको थियो।
बिहान ६:३० बजे उहाँ आफ्नो निवासको बगैंचा–जेन गार्डेन–मा देखा पर्नुभयो।
प्रातः स्नानपश्चात् अघिल्लो रातको ह्याङओभर उहाँको दिमागबाट छुमन्तर भइसकेको थियो। प्रधानमन्त्री फ्रेश भेजिटेबल झैं ताजा देखिनुहुन्थ्यो।
उहाँले कालो नाइट गाउन लगाउनुभएको थियो। तिलचामले जुँगा ट्रिम गरिएको थियो। गाला, चिउँडो र टाउको क्लिन शेभ्ड थिए। टेबलबाट उहाँले– द न्यूयोर्क टाइम्स– उठाउनुभयो र कफीको चुस्की लिँदै अखबारका पानाहरू सर्फिङ गर्न थाल्नुभयो।
नयाँ वर्षको नयाँ दिन। वसन्त ऋतु घोलिएको मौसममा नूतन ताजगी फैलिएको थियो। शिरीषका हाँगाहरूबाट झरेका कलेजी फूलहरू जेन गार्डेनका कलात्मक ढुङ्गा र बालुवामा यत्रतत्र छरिएका थिए।
प्रधानमन्त्रीको नजर अखबारबाट हट्यो र केही पर– शिरीषको रूखमुनि– रहेको कालो कालो कारमा गई अडियो। कहाँबाट उत्पन्न भएछ त्यो कार? कारछेवै कालो युनिफर्ममा सजिएको मान्छे उभिएको थियो। को रहेछ कुन्नि!
उक्त मान्छेसित आँखा जुधेपछि प्रधानमन्त्रीले निजलाई हातको इशाराले आफूतिर बोलाउनुभयो। मान्छे निकै फुर्तिलो रहेछ। खुर्र दौडेर आइहाल्यो र शिर झुकाएर– गुड मर्निङ योर म्याजेस्टी– भनी प्रधानमन्त्रीलाई अभिवादन गर्यो।
“डोन्ट कल मी योर म्याजेस्टी,” प्रधानमन्त्रीले भन्नुभयो।
“मलाई मर्का पर्छ हजुर। मेरो जागीरको सवाल छ,” निजले बिन्ती बिसायो, “हजुरलाई उच्च सम्मानका साथ– योर म्याजेस्टी भनी सम्बोधन गर्नू– भन्ने आदेश छ।”
– यो आदेश कसले दियो?
– त्यसले दियो जसले हजुरलाई यो गाडी उपहार दियो।
– यो उपहारको गाडी हो?
– हो, हजुर।
– किन उपहार?
– लङ ड्राइभ जान।
– अनि तिमी! तिमी को हौ?
– म गाडीसितै उपहारमा आएको ड्राइभर हुँ, योर म्याजेस्टी!
000
अघिल्लो दिन प्रधानमन्त्रीको जन्मदिन थियो। त्यसको उपलक्ष्यमा राजधानीमा अड्डा जमाइबसेका विभिन्न देशका राजदूतहरूले साँझपख उहाँको सम्मानमा भव्य बर्थडे पार्टीको आयोजना गरेका थिए। पार्टी मध्यरातसम्मै चलेको थियो।
प्रधानमन्त्रीलाई अनेक देशका राजदूतले अनेक प्रकारका उपहार टक्र्याएका थिए। जस्तो कि भारतीय राजदूतले सिगार पाइप, चिनियाँ राजदूतले सेरामिकको एस्ट्रे र अमेरिकी राजदूतले गोल्डेन लाइटर प्रदान गरेका थिए।
फ्रेन्च राजदूतले वाकिङ स्टिक दिएका थिए भने जर्मन राजदूतले सन ग्लासेस तथा बेलायती प्लस नर्वेजियन राजदूतले क्रमशः वाइन ग्लासको सेट र नीलम जडित चाँदीको ब्रासलेट उपहार दिएका थिए।
जहाँसम्म जापानी राजदूतको कुरा छ, उनले चाहिं प्रधानमन्त्रीलाई हारुकी मुराकामीको –मेन विथाउट वुमेन– कथा संग्रहको हार्डबाउन्ड किताब दिएका थिए।
उपहार प्राप्तिको खुशियाली बातमा हो या मदिराको मातमा, प्रधानमन्त्रीका खुट्टा भुइँमा थिएनन्। प्रत्येक राजदूतसित एक–एक पेग चियर्स गर्दै उहाँले अनेक पेग मदिरा पिउनुभएको थियो।
अन्ततः उपस्थित सम्पूर्ण राजदूतहरूको ध्यान आफूतिर खिच्दै प्रधानमन्त्रीले भन्नुभएको थियो, “तपाईंहरूको किम्ती किम्ती उपहारहरू पाएर म गदगद भइगएको छु। तर, तपाईंहरूमध्ये कसैले मलाई एउटा लक्जरी कार उपहार दिए म डबल खुशी भइजाने भएँ। त्यो लक्जरी कारमा भोलि नयाँ वर्षको दिन म लङ ड्राइभमा जान चाहन्छु।”
भीडबाट कसैको आवाजले प्रधानमन्त्रीको कान यसरी कोट्याएको थियो, “भोलि बिहानै तपाईंको निवासमा एउटा लक्जरी कार उपलब्ध हुनेछ। त्यही कारले तपाईंलाई लङ ड्राइभमा लानेछ। चियर्स!”
यो पक्कै पनि कुनै राजदूतले भनेको हुनुपर्छ। तर, ठ्याक्कै कसले भनेको थियो भन्ने चाहिं प्रधानमन्त्रीले यस वेला जतिसुकै सम्झने प्रयास गर्दा पनि सकिरहनुभएको थिएन।
000
प्रधानमन्त्रीले ड्राइभरको मुख ताक्नुभयो। अनि प्रश्न प्रहार गर्नुभयो, “यो गाडी कुन देशको राजदूतले उपहार पठाउनुभएको हो?” ड्राइभरले कत्ति पनि बियाँलो नगरी जवाफ दियो, “यो कुरा भन्न मिल्दैन, योर म्याजेस्टी। स्ट्रिक्टली कन्फिडेन्सियल!”
प्रधानमन्त्री झन् बढी जिज्ञासु बन्नुभयो। ड्राइभरको मुखबाट जवाफ चुहिहाल्छ कि भन्ने आशमा उहाँले पुनः सोध्नुभयो, “कार पठाउने राजदूतको हुलिया त बताउन मिल्ला नि!”
– बताउन मिल्दैन, योर म्याजेस्टी। स्ट्रिक्टली कन्फिडेन्सियल!
– त्यो राजदूतले गान्धी चश्मा लगाउँछ?
– बताउन मिल्दैन, योर म्याजेस्टी। स्ट्रिक्टली कन्फिडेन्सियल!
– त्यो राजदूतले हिटलरियन जुँगा पालेको छ?
– बताउन मिल्दैन, योर म्याजेस्टी। स्ट्रिक्टली कन्फिडेन्सियल!
– त्यो राजदूतले लामपुच्छ«े जुँगा पालेको छ?
– बताउन मिल्दैन, योर म्याजेस्टी। स्ट्रिक्टली कन्फिडेन्सियल!
धत्तेरिका! यो पनि बताउन मिल्दैन भन्छ, त्यो पनि बताउन मिल्दैन भन्छ। सबै कुरा स्ट्रिक्टली कन्फिडेन्सियल पो भन्छ। प्रधानमन्त्रीले सोच्नुभयोः कस्तो तोर्पे एन्ड ठिस मनुवा रहेछ!
ड्राइभर बोल्यो, “फर योर इन्फर्मेशन, योर म्याजेस्टी! भर्खरै मेरो बारे हजुरले जे सोच्नुभयो, गलत सोच्नुभयो। म तोर्पे मनुवा होइन। ठिस त म झन् हुँदै होइन।”
ड्राइभरको कुरा सुनेर प्रधानमन्त्री आश्चर्यचकित पर्नुभयो। अच्छा, त्यसो भए यो ड्राइभरले मनको कुरा पनि चाल पाउँछ!
– चाल पाउँछु, योर म्याजेस्टी।
– कसरी चाल पाउँछौ?
– बताउन मिल्दैन, योर म्याजेस्टी। स्ट्रिक्टली कन्फिडेन्सियल!
– त्यसो भए के बताउन मिल्छ त?
– यही बताउन मिल्छ कि लङ ड्राइभ जाने हजुरको समय घर्कंदै छ।
कुरा सही हो। प्रधानमन्त्री चिसो भइसकेको कफी एक घुट्कोमै सखाप पार्नुभयो। घरभित्र गई होलिडे–वस्त्र पहिरिनुभयो। ब्लू जिन्स/ह्वाइट टीशर्ट/ब्ल्याक लेदर शू। उहाँले काखी र घाँटीका कापमा अत्तर छर्कनुभयो र बाहिर आई ड्राइभरको पछि लागेर कारतर्फ बढ्नुभयो। पछाडिको सीटमा बस्नुभयो।
उहाँ बसे लगत्तै गाडीभित्र स्टेरियोफोनिक आवाज गुन्जियोः मिस्टर प्राइम मिनिस्टर, तपाईंलाई यो काल–कारमा हार्दिक स्वागत छ। यो काल–कारमा तपाईंले आज काल–यात्रा गर्नुहुनेछ। सय वर्ष लामो टाइम ट्राभल गर्नुहुनेछ। यो सय वर्षको लङ ड्राइभमा ब्रेकफास्ट, लन्च, स्न्याक्स र डिनरका निम्ति हामी विभिन्न टाइम–जोनमा रोकिनेछौं। तपाईंको काल–यात्रा अविस्मरणीय रहोस्। धन्यवाद!
गाडीको स्टेरियोफोनिक स्वागत मन्तव्य लगत्तै गाडी कुनै आवाज ननिकाली गुड्न थालिहाल्यो। त्यसो भए यो टाइम ट्राभलिङ कार हो? प्रधानमन्त्रीले सोध्नुभयोः आजको यो लङ ड्राइभ वास्तवमा टाइम ट्राभल पो हो?
टाइम ट्राभल, रियल्ली?
“रियल्ली, योर म्याजेस्टी!” ड्राइभरले गाडीको गियर बदल्दै भन्यो, “आजको लङ ड्राइभमा हजुरले टाइम ट्राभलको मजा लिनुहुनेछ। यो सय वर्षको यात्रा हो, जसलाई हजुरले बाह्र घण्टामा पूरा गर्नुहुनेछ। अबको दुई घण्टामा हामी विक्रम संवत् २१०५ मा ब्रेकफास्ट खान रोकिनेछौं।”
कस्तो गजब! यो हो नि त तरीका! प्रधानमन्त्री निकै उत्साहित देखिनुभयो। सोध्नुभयोः यस्तो दुर्लभ यात्रा कसको भाग्यमा! यो टाइम ट्राभलिङ, यो लङ ड्राइभ! यस्तो अविस्मरणीय अवसर न मअघिको प्रधानमन्त्रीलाई प्राप्त थियो न मपछिको प्रधानमन्त्रीलाई प्राप्त हुनेछ। न भूतो न भविष्यति!
समयलाई छिचोल्दै गाडी सुरुङभित्र प्रवेश गर्यो।
गाडीको स्टेरियोफोनिक आवाजले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै भन्योः मिस्टर प्राइम मिनिस्टर! यो पहिलो सुरुङ हो। यात्रामा हामीले अरू तीन सुरुङ पार गर्नेछौं। तपाईंले यतिन्जेल नबाँधेको सीटबेल्ट अब बाँध्नुस्। आजको हाम्रो पहिलो गन्तव्य यो सुरुङ पार गरेपछि आउने नदी किनारमा अवस्थित एउटा क्याफेमा हुनेछ। त्यतिन्जेल नारायण गोपालका सुमधुर गीतहरू श्रवण गरी आफ्नो कान पवित्र पार्नुस्।
गाडीमा नारायण गोपालको आवाज गुन्जिन थाल्योः
सँगाल घुम्टोहरू, सजाऊ केशहरू,
म आएँ आँधी बोकेर
सम्हाल वेगहरू
यो गीतले प्रधानमन्त्रीलाई मिस्ट्रेसको याद दिलायो। मिस्ट्रेसको यादले उहाँलाई आँखा चिम्लिन बाध्य बनायो। मिस्ट्रेसका याद तब झन् जीवन्त भएर आयो जब नारायण गोपालको अर्को गीत बज्योः
मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चूपचाप मन पराएँ
000
१ साउन २१०५: ब्रेकफास्ट टाइम
रिभरसाइड क्याफे
प्रधानमन्त्री क्याफेको मूत्र विसर्जनालय जानुभयो। मूत्रमुक्त हुनुभयो। हात धुनुभयो। मुहारमा पानी छ्याप्नुभयो। क्याफेको बाल्कोनीतिर पधार्नुभयो, जहाँबाट नदी, बगर अनि पल्लो डाँडाको सुन्दर ल्यान्डस्केपमा नजर डुलाउनुभयो।
प्रधानमन्त्री कुर्सीमा बस्नुभयो। टेबलमा सजाइवरी राखिएको ब्रेकफास्टका विभिन्न व्यञ्जनको नजरपान गर्नुभयो। बटर टोस्ट। बेकन। ससेज। मसला अमलेट। प्यान केक। फ्रूट सलाद आदि/इत्यादि।
सेरामिकका प्लेट–कचौरामा सजाइएका ती व्यञ्जन ड्राइभरले पनि हेर्यो। तर अर्कै नजरले हेर्यो। ती व्यञ्जनमा मानौं उसले प्रतीकात्मक रूप देख्यो। मानौं बटर टोस्ट घूस हो, बेकन कमिशन हो, ससेज राजस्व हो, अमलेट भ्रष्टाचार हो, प्यान केक आचारसंहिता हो अनि फ्रूट सलाद देशको विकास बजेट हो, जसलाई भोकाएका प्रधानमन्त्रीले पालैपालो स्वाद लिई लिई खानुभयो।
उहाँलाई खूब मन परेछ क्यारे! ड्राइभरलाई भन्नुभयो, “बेकन थप्न पाए हुन्थ्यो।” ड्राइभरले बुझ्योः कमिशन थप्न पाए हुन्थ्यो!
बेकन आयो र आउनासाथ प्रधानमन्त्रीको पेटभित्र गइहाल्यो।
“यसरी गुरुगम्भीर मुद्रामा तिमी के सोचिरहेका छौ?” प्रधानमन्त्रीको प्रश्नले ड्राइभरको एकाग्रता भङ्ग गर्यो। ऊ केही सम्हालियो, तर चूपचाप हात बाँधेर उभिइरह्यो। प्रधानमन्त्रीले भन्नुभयो, “किन हो कुन्नि! म दिवङ्गत पत्नीलाई सम्झिरहेको छु। ऊ पनि साथमा भएकी भए आजको यो लङ ड्राइभ कति सुखद हुन्थ्यो होला!”
“फर्गेट दिवङ्गत पत्नी, योर म्याजेस्टी!” ड्राइभरले हौसिँदै भन्यो, “लङ ड्राइभ त पत्नीसित भन्दा मिस्ट्रेससित गरेको भए झन् बढी सुखद हुन्थ्यो होला!”
– मिस्ट्रेसबारे तिमीलाई थाहा छ?
– थाहा छ, योर म्याजेस्टी।
– के थाहा छ?
– हजुरको मिस्ट्रेसबारे अरू कसैलाई थाहा छैन भन्ने कुरा थाहा छ।
– तिमीलाई उसको नाम पनि थाहा छ?
– थाहा छ, योर म्याजेस्टी! बताऊँ?
– भो, पर्दैन।
प्रधानमन्त्रीले घडी हेर्नुभयो। ९:३० बजेछ। ब्रेकफास्ट सक्किहाल्यो। अब यात्रा जारी राख्नु पर्दैन? रोडसाइड क्याफेबाट निस्कँदै उहाँ ड्राइभरको पछि लाग्नुभयो। पछाडिको सीटमा बस्नुभयो।
पार्किङबाट निस्केर गाडी चिल्लो एवं चौडा सडकमा गुड्न थाल्यो। ड्राइभर बोल्यो, “योर म्याजेस्टी! हाम्रो आगामी गन्तव्य विक्रम संवत् २१३० हो। अबको २५ वर्षमा एउटा जङ्गलको लजमा रोकिनेछ। हजुरले त्यहाँ लन्च ज्युनार गर्नुहुनेछ।”
ड्राइभरको जवाफले प्रधानमन्त्री पुलकित हुनुभयो।
अकस्मात् उहाँको मनमा एउटा उत्सुकता जाग्यो, जसलाई उहाँले ड्राइभर समक्ष यसरी प्रकट गर्नुभयो, “म यता आएको छु। उता के भइरहेको होला? म लङ ड्राइभमा निस्किने केही देशका राजदूत बाहेक कसैलाई थाहा थिएन। मिस्ट्रेसलाई समेत मैले यो कुरा बताएको थिइनँ। भविष्यतिर गइरहेको यो गाडीको रेडियोले अतीतको सिग्नल टिप्छ? सिग्नल टिप्ने भए उताको समाचार सुन्न पाए हुन्थ्यो।”
प्रधानमन्त्रीले आफ्नो उत्सुकता व्यक्त मात्र के गर्नुभएको थियो, गाडीको रेडियोमा समाचार प्रसारण भइहाल्योः यो रेडियो नेपाल हो। रेडियोको घडीमा अहिले ठीक १० बजेको छ। हामीलाई एउटा ब्रेकिङ न्यूज प्रसारण गर्नु छ। भर्खरै प्राप्त जानकारी अनुसार आज बिहान सात बजेदेखि प्रधानमन्त्री आफ्नै निवासबाट एकाएक गायब हुनुभएको छ। हालसम्म उहाँको अतापता लापता छ। नयाँ वर्षको पहिलो दिन उहाँ रहस्यमय तरीकाले बेपत्ता हुनुभएको छ। सरकारमा सङ्कटको कालो बादल छाएको छ। प्रधानमन्त्रीको खोजीकार्य तीव्र रूपमा भइरहेको छ।
समाचार सुनेर प्रधानमन्त्री मुसुक्क मुस्कुराउनुभयो। गाडी सुरुङभित्र प्रवेश गर्यो। उहाँले सीटबेल्ट बाँध्नुभयो।
गाडीमा गितार त्यसपछि बाँसुरीको स्टेरियोफोनिक धुन बज्न थाल्यो। वर्षौंपछि यो धुन प्रधानमन्त्रीको कानमा परेको थियो। ओहो, यो त गायक पवन गोलेको सिग्नेचर सङ होइन? आफूलाई अत्यन्त मन पर्ने गीत बज्न थालेपछि प्रधानमन्त्री पनि गायकसँगै स्वरमा स्वर मिलाई मस्तसित गाउन थाल्नुभयोः
हावासँग बगूँ भन्छ
पातसँग बोलूँ भन्छ
यो मनको आगो फेरि
कहींकतै सल्कूँ भन्छ
चट्टानलाई फोरूँ भन्छ
पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई
उज्यालोमा भनूँ भन्छ
000
१ कात्तिक २१३०: लन्च टाइम
जङ्गल लज
जङ्गल लजको मूलद्वारमै उपलब्ध भएको म्यानेजरले प्रधानमन्त्रीलाई अभिवादन गर्दै भन्यो, “वेलकम टु द फ्युचर, योर एक्सलेन्सी! तपाईंको लन्च रेडी छ। आउनुस्, लन्च लाउन्जमा पाल्नुस्।”
प्रधानमन्त्रीले घडी हेर्नुभयो। १२:३० बजेको रहेछ।
लन्च लाउन्जमा पुगेपछि उहाँले म्यानेजरलाई सोध्नुभयो, “यो २१३० हो, राइट?” म्यानेजरले– राइट, योर एक्सलेन्सी– भन्यो।
– कात्तिक एक गते, राइट?
– राइट, योर एक्सलेन्सी।
– बिहान जेन गार्डेनमा कफी पिउँदा वैशाख महीना थियो। रिभरसाइडमा ब्रेकफास्ट गर्दा साउन थियो। यो जङ्गलमा अहिले कात्तिक महीना चलिरा’छ। कति अद्भुत!
– अति अद्भुत, योर एक्सलेन्सी!
– लन्चमा मलाई के सर्भ गर्दै हुनुहुन्छ?
– चिकन बिरयानी।
– गुड! आई लभ चिकन बिरयानी।
म्यानेजरको हातमा एउटा स्यानो घन्टी थियो। उसले त्यो घन्टी बजाएपछि चिकन बिरयानी लिएर योङ एन्ड ब्यूटिफुल वेट्रेसहरूको लावालस्कर लन्च लाउन्जमा दाखिला भयो। यत्तिका चिकन बिरयानी? प्रधानमन्त्री असमञ्जसमा पर्नुभयो।
म्यानेजर बोल्यो, “अनेक भेराइटीका चिकन बिरयानी तपाईं समक्ष पेश गरेको छु, योर एक्सलेन्सी! चाइनिज चिकन बिरयानी। नर्वेजियन चिकन बिरयानी। बेलायती चिकन बिरयानी। युगोस्लाभियन चिकन बिरयानी। नर्थ कोरियन चिकन बिरयानी। कुन चिकन बिरयानी खाने हो, योर एक्सलेन्सी!”
– फ्रेन्च चिकन बिरयानी छैन?
– जरुर छ, योर एक्सलेन्सी।
– त्यही लिऊँ क्यारे!
– गुड चोइस् योर एक्सलेन्सी।
– अनि फ्रेन्च वाइन छ?
– छ नि योर एक्सलेन्सी!
– त्यो पनि ल्याउनुस्। एक गिलास मात्र।
– फ्रेन्च बिरयानी विथ फ्रेन्च वाइन। गुड चोइस, योर एक्सलेन्सी।
प्रधानमन्त्रीले फ्रेन्च बिरयानी विथ फ्रेन्च रेड वाइन एक गिलास मात्र लिनुभयो। उहाँको मन तृप्त भयो। म्यानेजरसित स्वादिष्ट व्यञ्जनको प्रशंसा गर्नुभयो। ड्राइभरलाई बोलाएर प्रसन्नता व्यक्त गर्नुभयो, “मेरो लङ ड्राइभको संयोजन गरेकामा तिमीलाई धन्यवाद। यो यात्रा मलाई साँच्चिकै रोचक एवं रोमाञ्चक लागिरहेको छ। अब हाम्रो नेक्स्ट स्टप कहाँ हुन्छ?”
“२१५५ सालमा हुन्छ, योर म्याजेस्टी,” ड्राइभरले भन्यो, “हजुरलाई यो लङ ड्राइभ रोचक एवं रोमाञ्चक लागेकोमा म ज्यादै खुशी छु।”
लन्चका निम्ति जङ्गल लजको म्यानेजरलाई आभार प्रकट गरेपछि प्रधानमन्त्री ड्राइभरसित गई गाडीमा बस्नुभयो। कम्मरमा सीटबेल्ट कस्नुभयो। गाडी क्षणभरमै मूल सडकमा निस्क्यो र आवाज ननिकाली एकनासले गुड्न थाल्यो।
समाचार सुन्ने मुड पो छ कि भनी ड्राइभरले सोध्दा प्रधानमन्त्रीले समाचार त होइन बरु फत्तेमान राजभण्डारीको सुमधुर गीत सुन्ने मुड छ भन्नुभयो। गाडी सुरुङभित्र प्रवेश गर्यो। माधवप्रसाद घिमिरेले शब्ददान गरेको गीत फत्तेमानको आवाजमा गुन्जिन थाल्योः
आजभोलि देख्दिनँ म तिनी कता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
000
१ माघ २१५५: स्न्याक्स टाइम
मरुभूमि
सुरुङबाट निस्केको गाडी मरुभूमिको सडकमा गुड्न थाल्यो। यता बालुवा, उता बालुवा। यत्रतत्र सर्वत्र बालुवै बालुवा। यस्तो लाग्थ्यो सडक बालुवाको बन्जर भूमिमा कोरिएको सिउँदो हो, जसको कुनै छेउटुप्पा छैन।
विस्तीर्ण फैलिएको मरुभूमिमा एउटा कङ्काल रूख देखियो। गाडी त्यहीं रोकियो। प्रधानमन्त्री निस्कनै लाग्दा गाडीले भन्योः मिस्टर प्राइम मिनिस्टर! हामी अहिले एक्काइस सय पचपन्न सालमा आइपुगेका छौं। यो क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङले नष्ट गरेको कालखण्ड हो। यो टाइम–जोनमा यो काल–कार चिया, चमेना, चुरोटका लागि केवल पन्ध्र मिनेट रोकिनेछ।
प्रधानमन्त्री गाडीबाट ओर्लनुभयो। घडी हेर्नुभयो। १५:३० बजेको थियो। यात्रा थालेको सात घण्टाभन्दा बढी भएछ। यो अवधिमा ७५ वर्ष पार गरिएछ। इन्ट्रेस्टिङ! क्वाइट एन इन्ट्रेस्टिङ जर्नी!
कङ्काल रूखमुनि रङ खुइलिएको बाथ–टब थियो। बालुवामा धसिएको। मरुभूमिमा बाथ–टब? आश्चर्य मान्दै प्रधानमन्त्री त्यतै जानुभयो। बाथ–टबको एक छेउमा बस्नुभयो। गोडाहरूलाई बाथ–टबभित्रको बालुवामा बिसाउनुभयो।
ड्राइभरले उहाँलाई एउटा चुरोट टक्र्यायो। लाइटर टक्र्यायो।
प्रधानमन्त्रीले चुरोट सल्काउनुभयो। मुखबाट बाक्लो धुवाँ ओकल्दै छेवैको छाप्रोतिर नजर डुलाउनुभयो। छाप्रोमा एक जना मान्छे थियो। ऊ रूख झैं कङ्काल त थियो नै, सर्वस्व हरण भएको कङ्गाल जस्तो पनि देखिन्थ्यो।
कङ्काल प्लस कङ्गाल मान्छे थर्मसबाट काँचको गिलासमा चिया भरिरहेको थियो।
प्रधानमन्त्रीले त्यो मान्छे पहिल्यै कहींकतै देख्या देख्या, भेट्या भेट्या झैं लाग्यो। तर, कता? कहाँ? कहिले?
ड्राइभरको उपस्थितिमा त्यो कङ्काल उर्फ कङ्गाल मान्छे केही डराए जस्तो देखिन्थ्यो। एक हातमा चियाको गिलास र अर्को हातमा कुकिजको प्लेट बोकी ऊ बाथ–टबनेर आयो र प्रधानमन्त्रीसामु शिर झुकाएर उभियो।
प्रधानमन्त्रीले गिलास लिनुभयो। चिया पिउन थाल्नुभयो, तर लगत्तै मुख कुल्ला गरेसरी पिच्च पिच्च बालुवामा थुक्नुभयो। कस्तो खल्लो, चिसो चिया! कुकिज खाने उहाँलाई इच्छा भएन।
कङ्गाल उर्फ कङ्काल मान्छेसित उहाँले भन्नुभयो, “तपाईंलाई म चिन्दछु शायद। म मिनिस्टर विथाउट पोर्टफोलियो छँदा तपाईं अर्थ सचिव हुनुहुन्थ्यो, होइन?”
कङ्काल उर्फ कङ्गाल मान्छे केही बोलेन।
“सरकारको एउटा महत्त्वपूर्ण प्रोजेक्टमा तपाईंले मलाई कमिशनमा ठूलो धनराशि उपलब्ध गराउनुभएको थियो,” प्रधानमन्त्रीको कुरा जारी थियो, “अख्तियारमा छानबिन हुँदै गर्दा तपाईं एकाएक गायब हुनुभएको थियो। तपाईंको नाम म सम्झन सकिरा’छैन। के पो हो रे!”
निजले आफ्नो नाम नबताएको मात्र होइन, ऊ त चुँसम्म पनि बोलेन। उसको सट्टा बरु ड्राइभर बोल्यो, “हाम्रो १५ मिनेटको अवधि समाप्त हुनै लाग्यो, योर म्याजेस्टी! अब बाँकी यात्रा थाल्नुपर्छ। लेट्स गो।”
ड्राइभर गाडीतर्फ बढ्न थालेपछि प्रधानमन्त्री पनि उसको पछि लाग्नुभयो। गाडीभित्र छिर्नै लाग्दा के सोचेर हो कुन्नि, रोकिनुभयो। ड्राइभरसित एउटा चुरोट माग्नुभयो। ड्राइभरले चुरोट टक्र्यायो र सल्काई पनि दियो। एक सर्को धुवाँ उडाएर उहाँले कङ्काल उर्फ कङ्गाल मान्छेलाई हेर्नुभयो, जो अझै पनि भग्न बाथ–टबनेर चियाको गिलास र कुकिजको प्लेट समाती शिर निहुराएर ठिङ्ग उभिइरहेको थियो।
प्रधानमन्त्री त्यता जानुभयो। सल्किरहेको चुरोट कुकिजको प्लेटमा राखिदिनुभयो। केही बोली पो हाल्छ कि! उहाँले कुकिजवालाको मुख ताक्नुभयो। ड्राइभरले सुनी पो हाल्छ कि भनी ज्यादै झिनो, भयमिश्रित आवाजमा ऊ बोल्यो, “यिनीहरूले मलाई २१५५ सालको यो कालखण्डमा ल्याएर डम्प गरिदिए। यो मरुभूमिमा मिल्काइदिए।” त्यति भनेर ऊ छाप्रोतिर गइहाल्यो।
प्रधानमन्त्री अन्यमनस्क मुद्रामा गाडीतर्फ बढ्नुभयो। ढोका खोलेर आफ्नो सीटमा बढ्नुभयो। गाडी पुनः गुड्न थाल्यो।
“मलाई विश्वास छ, योर म्याजेस्टी!” ड्राइभरको आवाज सुनियो, “हजुरलाई यो यात्रा अवश्य पनि रहस्यमय लागिरहेको छ। त्यस्तो लाग्नु नितान्त आवश्यक छ। अब हामी आजको अन्तिम गन्तव्यतर्फ प्रस्थान गर्दै छौं। केही घण्टाको मात्र दूरी हो। त्यसपछि त हामी २१८० सालको हिल स्टेशनमा अवस्थित मुसाफिरखानामा पुगिहाल्नेछौं। तपाईंको सय वर्षको यात्रा उर्फ लङ ड्राइभ समाप्तिनेछ। मुसाफिरखानामा तपाईंको गाँस–बास–कपास हुनेछ।
गाडी सुरुङभित्र प्रवेश गर्यो। अम्बर गुरुङको गीत गुन्जिन थाल्यो। गीतले– हो न हो– उहाँलाई नै प्रश्न सोधेको हो कि जस्तो लाग्न थाल्योः
कहीं आफ्नै भुमरीमा आफैं पर्यौ कि!
कहीं आफ्नै आँखाबाट आफैं झर्यौ कि!
000
१ वैशाख २१८०: डिनर टाइम
हिल स्टेशन
प्रधानमन्त्रीले घडी हेर्नुभयो। १८:३० बजेको थियो।
अन्ततः उहाँ एक शताब्दीको यात्रा पार गरी २१८० सालको हिल स्टेशनमा अवस्थित मुसाफिरखानामा आइपुग्नुभएको थियो। उहाँलाई विशाल कोर्टयार्डमा छाडी ड्राइभर गाडी पार्क गर्न मुसाफिरखानाको बेसमेन्टमा गइसकेको थियो।
मुसाफिरखानाको लुक्स बिल्कुल राजकीय शैली–औ–अन्दाजको थियो। कुनै चक्रवर्ती सम्राट्को भव्य राजमहल जस्तो। प्रधानमन्त्रीलाई मुसाफिरखाना गोथिक वास्तुकलाको अनुपम नमूना लाग्यो। त्यसमा झल्कने रहस्यात्मक सौन्दर्यद्वारा उहाँ मन्त्रमुग्ध हुनुभयो। उहाँको कानमा कसैले पछाडिबाट भन्यो, “झ्यालखानामा तपाईंलाई स्वागत छ।”
झ्यालखाना? ह्वाट ननसेन्स!
प्रधानमन्त्रीले पछाडि फर्केर हेर्नुभयो। एकसरो कालो रोब लगाएको अग्लो न अग्लो मान्छे ङिच्च हाँस्यो। उसको मुहार सुकेको पात झैं थियो, जसमा यति धेरै सूक्ष्म धर्साहरू कोरिएका थिए कि ती एकआपसमा गुजुल्टिएका थिए। उसले भन्यो, “हिंड्नुस्, भित्र जाऔं।”
उसको पछि लागेर प्रधानमन्त्री भित्र जानुभयो। भित्रको भव्यता पाँच तारे होटल या सो सरहको थियो। उसले रिसेप्सनबाट एउटा साँचो निकालेर प्रधानमन्त्रीको हातमा थमाइदिँदै भन्यो, “सेल नम्बर ११७ मा जानुस्। फ्रेश हुनुस्। नयाँ पोशाक लगाएर डाइनिङ हलमा आउनुस्। म तपाईंलाई त्यहीं पर्खनेछु। त्यसपछि डिनर खाँदै कुरा गरौंला।”
000
सेल नम्बर ११७ मा एउटा किङसाइज्ड पलङ थियो। अट्याच्ड बाथरुम थियो। टीभी सेट थियो। राइटिङ टेबल थियो। वार्डरोब थियो। वार्डरोबमा नयाँ पोशाक थियोः एकसरो कालो रोब।
नुहाएर फ्रेस भएपछि प्रधानमन्त्रीले त्यही कालो रोब लगाउनुभयो। डाइनिङ हल खोज्दै लामो करिडोर पार गरीवरी फराकिलो सिंढी चढी अघि बढ्नुभयो। अन्ततः डाइनिङ हल फेला पार्नुभयो। अग्लो न अग्लो मान्छेको सामुन्ने मेचमा बस्नुभयो।
“यो मुसाफिरखानालाई तपाईंले अघि झ्यालखाना भनेको सुनें,” प्रधानमन्त्री बोल्नुभयो, “मैले गलत सुनें कि!”
“तपाईंले एकदम सही सुन्नुभयो,” अग्लो न अग्लो मान्छेले भन्यो, “बोलीचालीमा यसलाई मुसाफिरखाना भने पनि यो झ्यालखाना नै हो।”
– तपाईं मजाक गर्दै हुनुहुन्छ।
– मजाक गर्ने मेरो बानी छैन।
– याद रहोस्, तपाईं प्रधानमन्त्रीसित कुरा गर्दै हुनुहुन्छ। मर्यादाको पालना गर्नुस्।
– टु हेल विथ मर्यादा! बरु तपाईंलाई याद रहोस्। तपाईं प्रधानमन्त्री त १०० वर्षअघि हुनुहुन्थ्यो। अहिले २१८० सालमा तपाईं यहाँ अरू कैदी जस्तै फगत एक कैदी हुनुहुन्छ। वास्तवमा तपाईं अतीतको एक पतित व्यक्ति हुनुहुन्थ्यो, जसलाई सदासदाका निम्ति झ्यालखानामा डिपोजिट गर्न नितान्त आवश्यक भइसकेको थियो।
अग्लो न अग्लो मान्छे ननस्टप बोल्दै गयो,
“मर्यादाको कुरा त छाडिदिऊँ, तपाईं कति निर्लज्ज हुनुहुन्छ भने आफ्नो बर्थडे पार्टीमा राजदूतहरूसित तपाईंले उपहारमा लक्जरी कार माग्नुभयो। मैले सोचें, तपाईंलाई झ्यालखानामा ल्याउने यो उपयुक्त मौका हो। त्यही मौका छापेर मैले भनेको थिएँ: भोलि बिहानै तपाईंको निवासमा एउटा लक्जरी कार उपलब्ध हुनेछ। त्यही कारले तपाईंलाई लङ ड्राइभमा लानेछ। टाइम ट्राभलिङ कारमा लङ ड्राइभको मजा लिँदै आफ्नो समयदेखि एक शताब्दी टाढा भविष्यको यो झ्यालखानामा तपाईं आइपुग्नुभएको छ। थाक्नुभएको होला। डिनर खानुस् र आफ्नो सेलमा गई आरामसित सुत्नुस्।”
प्रधानमन्त्री निःशब्द हुनुहुन्थ्यो। उहाँ केही बोल्न चाहनुहुन्थ्यो। तर, के बोल्ने? उहाँको बोली घाँटीभित्र कतै धस्सिएको थियो।
“बाइ द वे, म को हुँ भन्ने कुरा तपाईंलाई जान्न मन लागिरहेको होला,” अग्लो न अग्लो मान्छेले भन्यो, “म कालको राजदूत हुँ। तपाईं मलाई कालदूत भन्न सक्नुहुन्छ।”
“कस्तो काल?” बल्ल प्रधानमन्त्रीको बक फुट्यो, “कालको अर्थ समय हुन्छ र मृत्यु पनि हुन्छ। तपाईं समयको राजदूत? कि मृत्युको राजदूत?”
“जे सोचे पनि हुन्छ,” कालदूतले भन्यो, “इट्स अप टु यु, क्राइम मिनिस्टर!”
000
क्लोज–अप
लङ ड्राइभमा निस्केको क्राइम मिनिस्टर विक्रम संवत् २१८० को झ्यालखानामा आफ्ना तमाम पाप, कुकर्म र अपराधको सजाय भोगिरहेको छ। ऊ कसरी त्यहाँ पुग्यो भन्ने वृत्तान्त तपाईंले आद्योपान्त पढिसक्नुभएको छ।
तपाईं अहिले कुन समयमा हुनुहुन्छ, मलाई थाहा छैन। कुन काल–संवत्–सालमा हुनुहुन्छ, मलाई मालुम छैन।
जुन समयमा भए पनि, जुनसुकै काल–संवत्–सालमा रहे पनि आँखा उघारी हेरेको खण्डमा तपाईंले त्यस्ता बग्रेल्ती– क्राइम मिनिस्टर–हरू अवश्य देख्नुहुनेछ, जसलाईं तपाईंले भोट हाली निर्वाचनमा जिताएर पठाउनुभएको थियो।
तिनीहरूलाई पालैपालो लङ ड्राइभमा पठाउने इच्छा तपाईंभित्र जाग्दो हो।
ती क्राइम मिनिस्टर्स को हुन्? तिनीहरूको लिस्ट बनाउनुस्। पहिलो नम्बरमा रहेको क्राइम मिनिस्टरलाई ‘उठाउन’ मेरो ड्राइभर एकाबिहानै एउटा लक्जरी कार लिएर उसको निवासमा पुग्नेछ।
तपाईंले क्रस–मार्क गरेको क्राइम मिनिस्टरलाई कालो पोशाक पहिरेको मेरो ड्राइभरले –गुड मर्निङ योर म्याजेस्टी– भन्नेछ। क्राइम मिनिस्टरले ‘डोन्ट कल मी योर म्याजेस्टी’ भन्नेछ।
“मलाई मर्का पर्छ हजुर,” ड्राइभरले बिन्ती बिसाउनेछ, “मेरो जागीरको सवाल छ। हजुरलाई उच्च सम्मानका साथ– योर म्याजेस्टी भनी सम्बोधन गर्नू– भन्ने आदेश मलाई दिइएको छ।”
– यो आदेश कसले दियो?
– त्यसले दियो जसले हजुरलाई यो गाडी उपहार दियो।
– यो उपहारको गाडी हो?
– हो, हजुर।
– किन उपहार?
– लङ ड्राइभ जान।
– अनि तिमी! तिमी को हौ?
– म गाडीसित उपहारमा आएको ड्राइभर हुँ, योर म्याजेस्टी!
(हिमालको २०७९ असोज अंकबाट।)