ईश्वर र मान्छे
म आगोमा जलिरहें
तिमी सागर बेच्दै गयौ उधारोमा
पानीले पनि मट्टीतेलले जस्तै भिजायो
र, आगोसित राख्यो सम्बन्ध
म फलाम झैं चुटिएँ
तिमी रमिता हेरी बस्यौ
लेख्दै गयौ म जलेको गजल
गाउँदै गयौ प्रीत मरेको मेरो गीत
ईश्वर बनाई पूजें
तिमी मनमन्दिरबाट निस्कियौ
र, भयो एउटा देवताको अवसान
म ईश्वरको मृत्युमा
लेख्न बसेको छु एउटा शोक गीत
ए सङ्गीतकारहरू,
भरिदेऊ एउटा यस्तो सङ्गीत
कि ईश्वरहरूले फेरून् जुनी र बनून् मान्छे।