रतुवा खोला साक्षी छ
कथाको श्रेणीमा नअटाउने अपात्रहरूको कथा सुनाउन लाग्दै छु। एउटा यस्तो अकथा जो पढिन्न, सुनिन्न र जसका पात्रले मञ्च नपाउनु कुनै अनौठो होइन।
कथा एक
प्रायः सोच्छु, रतुवा खोला सबै उत्पातको साक्षी भएर पनि किन मौन बसेको होला? किन दुख्दैन उसलाई? के म जस्तै उसलाई पनि पीडाबोधको चेत रहेन? के यो खोला पनि म जस्तै बारम्बार लुछिएको, लुटिएको हो?
रतुवा खोलाको किनारैमा छ हाम्रो बस्ती। बस्ती जति घना छ, त्यति नै अवैध पनि। त्यहाँ बस्ने सबै मानिस अवैध छन्। हाम्रा सपना, अधिकार, विचार र रहर सबै सबै अवैध छन्। कहाँबाट आयौं यस्तो भावहीन ठाउँमा? कहाँ जाने? कुनै ठेगाना नभएका हामी बन्जारा एकै ठाउँमा मिले जस्तो गरी बसेका छौं। तर, मिलेका छैनौं।
हिजो मात्रै पूरै बस्तीका बासिन्दाले एकजुट भएर बालुवा खन्नेहरूलाई लखेटेका थिए। लखेट्नुको कारण उत्खनन रोक्नु चाहिं होइन, छोरीबेटी जोगाउनु मात्रै हो। तर, जोगिएका छैनन्। न किशोरीहरू, न किशोरीका आमाहरू। रातबिरात एउटा त्रास हुन्छ बस्तीमा। बालुवा झिक्ने नोकरदेखि तिनका साहुहरूबाट। अरू कुन्नि को कोबाट? तर, अवैध बस्तीका बलात्कारका घटना न प्रहरीले थाहा पाउँछ, न मिडियाले। थाहा पाए पनि अवैध ठाउँको घटनाप्रति चासो हुने कुरै भएन।
म मात्रै कहाँ हो र, लछमनकी जोरु भर्खर त आएकी थिई विवाह गरेर। काली–कलौटी भए पनि कस्ती कलकलाउँदी थिई। त्यस्ती हिस्सी परेकी कनियाँ कहाँबाट ल्याएका थिए लछमनले, त्यो कुरा जिज्ञासामै रह्यो। विवाह गरेको सात दिन नबित्दै उनी सामूहिक बलात्कारको शिकार भएर बितिन्। त्यस्ती गुडिया जस्तीलाई कस्तो बीभत्स ढङ्गले लुछेका थिए। महीना दिनसम्म बस्तीका छोरीबेटी निदाउनै सकेनन्। म पनि कहाँ निदाउन सकें र? अझै पनि जाग्राम छु, यही मौन खोला जस्तै।
तर, कसैले थाहा पाएनन् त्यत्रो घटना। सब चूपचाप थिए। लछमनकी जोरुलाई कसले के गर्यो, सबैलाई थाहा भए पनि त्रासले मुख छोपिदिएको छ। आफ्नो घर जोगाउनु छ सबैलाई। छोरीबेटी नभएको एउटै घर छैन। कति वेला कसको पालो आउने हो!
लछमनले आफ्नै सँगातीहरूमाथि शङ्का गरे। जो जोमाथि शङ्का लाग्यो, तिनको नाम फलाक्दै मा–बहिनको गाली दिँदै बस्तीमा बौलाएर हिंड्छन्।
लछमन जस्तै एउटी महिला छिन्। बस्तीका सबैले पगली भन्छन्। गत वर्ष रतुवा बौलाएर घर घरमा पस्दा उनको काखे बालक बगाएको थियो। त्यही दिनदेखि बौलाएकी हुन् रे उनी। रतुवाको भयङ्कर उफानले बगाउन त सत्तोकी जवान छोरीलाई पनि बगाएको थियो। तर, उनी सम्हालिइन्। आर्थिक तनावले पनि बौलाउन दिएन।
बाढीले नबगाएकाहरूलाई पनि बलात्कारपछि यही रतुवामा बगाइने त हो! तर, हाम्रो लाश तैरिएर माथि नआएर हो कि आए पनि रतुवाको गन्ध भन्ने थाहा भएर हो, कारबाही हुँदैन।
तर, यी सबै घटनाको मौन साक्षी छ रतुवा। त्यही भएर लछमन र पगली जस्तै यो वेलावेला बौलाएको हो क्यारे!
कथा दुई
गाउँको गल्लीमा हिंड्दा राघवसँग थुप्रै केटाकेटी तँछाडमछाड गर्दै पछि लाग्छन्। भर्खर २२ वर्षको ऊ कुनै सन्त झैं अनौठो कुरा गर्छ। गाउँलेहरूलाई मोहनी नै लागे जस्तो हुन्छ। आखिर गाउँबाट शहर गएर कलेज पढ्ने सीमित युवामध्ये एक हो ऊ। उसको बातमा दम त हुने नै भयो।
पीपलबोटको चौतारोमा सुस्ताइरहेकाहरूलाई जहिल्यै एउटै कुरा गरेर उसले दिक्क नपारेको होइन, “रतुवा खोलाबाट बालुवा झिक्नेलाई लखेट्नुपर्छ है। उनीहरूले बालुवा झिकेर त गाउँमा बाढी पसेर दुःख दिएको हो नि।” बुजु्रकहरू उसको कुरा बुझ्ने कोशिश गर्छन्, तर कुनै कदम चाल्ने हिम्मत गर्दैनन्। उनीहरूलाई गाउँमा कुनै लफडा चाहिँदैन।
रतुवा खोला नजिकै पर्छ नाथपुर। सधैं बाढीले बेहाल बनाउने गाउँ। प्रत्येक वर्ष वर्षात्मा बाढीले उठिबास लगाउने गरे पनि थातथलो कसैले छोडेको छैन। गाउँका केटाकेटीहरू घरका मालसामान जस्तै बगेर रतुवामा समाहित हुन्छन्। शोक मनाउने कार्य पनि बर्सेनि मनाइने सांस्कृतिक पर्व जस्तो हुँदै गएको छ। तर, गाउँलेहरूलाई कुनै खेद छैन– न आफ्नो नियतिप्रति, न अरू कोहीप्रति। बाढीले घरखेत बगाएपछि गरिने गरीब घोषणामै सर्वस्व पाए झैं गर्दै आएका छन्।
राघव र उसका केही सँगातीको समूहले भने रातबिरात रतुवाबाट बालुवा झिक्नेहरूलाई धेरै चोटि लखेटे। प्रहरीमा उजुरी दिने धम्की दिए। मिडियामा जानेसम्मको चेतावनी दिएर खोला खोतल्नेहरूलाई तर्साए। त्यति गर्दा बालुवा उत्खननको क्रम नरोकिए पनि केही मत्थर चाहिं भएकै हो।
तर, त्यस दिन राघव आफैं शान्त भयो। उसको आवाज सधैंका लागि मत्थर भयो। गाउँका केटाहरूको खबरदारीका कारण बालुवा झिक्न नसकेकाहरूले आखिर उसको प्राण नै झिकेर मामिला सल्टाए।
राघव पनि रतुवामै समाहित भयो। त्यस दिन पनि शोकपर्व मनाइयो। पर्वमा केटाकेटी र गाउँलेहरूले खूब रोइकराइ गरे।
गाउँको हिरोले गाउँकै लागि ज्यान गुमाए पनि कोही चुइँक्क बोलेन। बुज्रुकहरूलाई गाउँमा कुनै लफडा चाहिएकै थिएन। पत्रकारले समाचारसम्म पाए।
बाढीले बस्तीको सडक बगाएकाले सरकार भने अझै पुग्न सकेको छैन।
(हिमालको २०७९ असोज अंकबाट।)