गाउँ
पर्खिरहेको हुनेछ गाउँ तिमीलाई– आफ्ना अचुक स्मृतिहरूमा
आफ्ना निरुद्देश्य निरुपाय मोहमायामा
आफ्ना कुप्रिएका बूढा दुःखहरूसहित
पर्खिरहेको हुनेछ गाउँ तिमीलाई।
आफ्नो आश्चर्यमा जगमगाएको मुखमण्डलका मुजाहरू मुसार्दै
पर्खिरहेको भेटिनेछ गाउँ दोबाटोमा। देउरालीमा।
बेंसीमा। घरको बलेंसीमा।
बलिन्द्र धारा आँसु
र खुजमुजिएका सम्झनाहरू आँखामा कुँदेर
गाउँ तिमीलाई पर्खिरहेको भेट्नेछौ– दिदीबहिनीको चोलामा।
एकलासको चौतारीमा। रोटेपिङ हालिने रमिते चौरमा।
पर्खिरहेको भेटिनेछ गाउँ तिमीलाई–
बाल्यकालको बिर्सिएको मीत बनेर।
वन जाने बाटोमा। पँधेरोतिर झर्ने खोल्सानिरको एकलासमा।
पुराना डहरहरूको निर्जन सामसुम्ममा
गाउँ तिम्रो बाटो हेर्दै उभिइरहेको हुनेछ–
स्कूले प्रेमिकाको जुनीमा।
भुलेबिर्सेको कुनै किंवदन्ती स्मृतिमा फेरि फर्किआए झैं
बिरानिएर खुइलिएका सपनाका सँगालाहरूले
नयाँ जुनीमा बौरिएर पुरानो झयालबाट चियाए झैं
गाउँ तिमीलाई भेट्न पर्खिरहेको पाउनेछौ
बेलौतीको बोटमाथिको बान्नोमा उभिएकी
स्नेह र आशीर्वादको अवतार आमामा अनुवाद भएर
गाउँ तिमीलाई नै पर्खिरहेको भेटिनेछ सीमान्तमा
नदी–खोलाको स्मृतिमा।
रोटे कमिला, लोखर्के, जूनकीरी, झ्याउँकीरी,
सिस्नो, काउसो र काँडाहरूका धमिला–धुसर
सुदूर सम्झनाहरूमा– गाउँ तिमीलाई पर्खिरहेको भेटिनेछ।
स्कूले दिनका घन्टीहरूमा एक्कासि ब्युँझँदै
स्मृतिशेषको कुइनेटोमा
मध्य दिनका गोरेटाहरूमा पुरानो बिर्सिएको गीतमा अलमलिँदै
अथवा तारा रोएको वेला मध्यरातपछिको आकाश नियाल्दै
उँघ्दै झकाउँदै अर्धनिद्रामा बौरिएर
गाउँ तिमीलाई पर्खिरहेको भेटिनेछ।
(हिमालको २०७९ असोज अंकबाट।)