अहा त्यो दशैं!
कुनै षोडशी चाल मारेर मस्की–मस्की आए झैं आउँथ्यो दशैं, जसको सूचना उपत्यकाबासीलाई इन्द्रजात्राले दिन्थ्यो।
मेरी हजुरआमालाई जात्रा हेर्न खूब मन लाग्थ्यो। काठमाडौंको लगनमा घर भएकाले पनि होला (जुन घर म जन्मिएको केही महीनापछि नै बेचिएको थियो) उहाँ मलाई डोर्याउँदै इन्द्रजात्रा हेर्न लैजानुहुन्थ्यो। गद्दी बैठक अगाडिको लक्ष्मीनारायण मन्दिरको खुड्किलामा बसेर राजाको सवारी र लाखे नाच हेरेको सम्झना अझै ताजा छ। किलागल, नरदेवी आदितिर पुलुकिसी (बाँसलाई सेतो कपडाले छोपेर बनाइएको हात्ती आकारको संरचना जसभित्र दुई–तीन मान्छे बसेर हात्ती झैं हिंडाउँथे) घुमाएको र त्यससँगै टोलै थर्कने गरी टङटङ घण्टी बजाउँदै हिंडेको हेर्न पनि रमाइलो लाग्थ्यो। इन्द्रजात्रा हेरेर फर्किंदै गर्दा हजुरआमा भन्नुहुन्थ्यो, “बाबु, अब दशैं आउने वेला भयो।”
काठमाडौं उपत्यकामा दशैं कुनै षोडशी चाल मारेर सुस्तरी मस्की–मस्की आए झैं आउँथ्यो। र, उपत्यकावासीलाई त्यसको सूचना दिने काम इन्द्रजात्राले गर्थ्यो। भदौको पोल्ने घाम असोज लाग्दा छोऊँ छोऊँ लाग्ने हुन्थ्यो। राति मजाले सिरक ओढेर सुतिन्थ्यो। मादक मौसमले शरदीय सुन्दरता र स्वच्छता बोकेर उपत्यकाबासीलाई कुतकुत्याउँथ्यो। अलि अलि हुस्सु बोकेर उज्यालो ढोका ढकढक्याउन एकाबिहानै आउँथ्यो। सयपत्री, मखमली र गोदावरी फूलका बोट मन्द मन्द बतासको स्पर्शमा झुलिरहेका हुन्थे। कुनै अग्लो ठाउँबाट हेर्दा सिङ्गो उपत्यका विशाल हरियो चौर जस्तो लाग्थ्यो। जसलाई जति हेरिरहँदा पनि आँखा र मनको धीत मर्दैनथ्यो।
बागमती र विष्णुमती दुवै नदी निकै फराकिला थिए र साउन–भदौमा वेलाबखत निकै ठूलो बाढी आउँथ्यो। विष्णुमतीमा पखालिरहेको गाँजर किनेर हातले पुछ्दै स्वादले कर्यामकर्याम चपाइन्थ्यो। नदीको बीचमा मरुभूमि जस्तो पाटो फराकिलो हुन्थ्यो। त्यो बालुवाको मैदानमा फूटबल नै पनि खेल्न सकिन्थ्यो। दुवै किनारमा भने सङ्लो पानी कुलकुल गरेर बगिरहेको हुन्थ्यो।
कहाँ हरायो त्यो काठमाडौं उपत्यका? कहाँ हरायो त्यो मौसम? कहाँ हरायो त्यो हरियाली? कहाँ हरायो उहिलेको दशैं? अर्धजीवित बागमती र विष्णुमतीलाई दिनदिनै हेर्छु र कल्पिन्छु।
कहाँ हरायो त्यो काठमाडौं उपत्यका? कहाँ हरायो त्यो मौसम? कहाँ हरायो त्यो हरियाली? कहाँ हरायो उहिलेको दशैं? अर्धजीवित बागमती र विष्णुमतीलाई दिनदिनै हेर्छु र कल्पिन्छु। तिनको पीडाले आफ्नै मन पोल्छ। तिनलाई बचाउन नसकेकोमा आफैंलाई धिक्कार्छु। मेरा हजुरबुबा र हजुरआमा अनि बा–आमाको पिढीसँगै पुरानो सुन्दर यो उपत्यका पनि विस्मृतिको गर्भमा हराउने त होइन?
अचेल त दशैंका वेला काठमाडौं सुनसान हुन्छ। सडकहरूले सुस्ताउन पाए जस्तो, काठमाडौंको छातीले राम्ररी सास फेर्न पाए जस्तो लाग्छ। भीडले निरन्तर थिचिरहेको, थिलथिलो भएको आफ्नो ज्यानलाई यताउता चलमलाएर काठमाडौंले हलुका पारे जस्तो अनुभूति हुन्छ। लामो लामो सास फेर्दै उकालो चढिरहेको कुनै बूढो भरियाले पीपलको चौतारोमा भारी बिसाए जस्तो देखिन्छ काठमाडौं दशैं ताका। मेरो बालापनमा काठमाडौं यस्तो थिएन, भर्खरै बिहे गरेर भिœयाएकी बेहुली जस्ती थियो– कोमल, मोहक अनि मायालु।
हो, त्यही मोहक काठमाडौंको माटोमा, आफ्ना हजुरबुबा र हजुरआमाको काखमा गुँडुल्किँदै, दगुर्दै, खेल्दै मैले आफ्नो बाल्यकाल र कैयौं आनन्द लाग्दा दशैंहरू बिताएँ। तर, किशोरावस्था पार गर्नै लाग्दा मलाई पत्तै नदिई एक वर्षको बीचमा पालैपालो हजुरबुबा र हजुरआमाले संसार छोड्नुभयो। दुवै जना बितेका वेला म मामाघरमा थिएँ। थाहा पाएर मामाले काठमाडौं ल्याइपुर्याउँदा शव जलाइसकिएको थियो। मृतक अनुहार देख्न नपाएर हुन सक्छ, मसँग मेरा हजुरबुबा र हजुरआमाका जिउँदो रहँदाका सम्झना खात लागेर बसेका छन्।
दशैं स्मृतिको चाड पनि हो। नजिकका आफन्त मर्दा तिनको सम्झनामा दशैं नमनाउने चलन छ, हामीकहाँ। जसले छोडेर गए तिनीहरू बाँचिरहेका भए दशैं कति रमाइलो हुन्थ्यो भन्दै आँसु चुहाएर जब मानिसहरू कल्पिन्छन्, त्यस वेला दशैं स्मृति दिवस जस्तो भइदिन्छ।
जब अर्को वर्ष दशैं मनाइन्छ, टीका लगाइदिने मुख्य मान्छे फेरिएको हुन्छ। हजुरबुबा बितेका रहेछन् भने त्यो मूलीको स्थानमा हजुरआमा बसेकी हुन्छिन्। उनी त्यस वेला दिवङ्गत पतिलाई सम्झेर आँसु चढाउँछिन्। टीका लगाइदिन उठेका हात काम्न खोज्छन्। सबैका हँसिला मुहार उदास हुन्छन्। वातावरण भावुकता र सम्झनाले लफ्रक्क भिज्छ। एकपल्ट फेरि दिवङ्गतको सम्झना व्याप्त हुन्छ। तर, जब तिनै हजुरआमा स्मृतिबाट वर्तमानमा ओर्लेर आँसु पुछ्दै रातो टीका र जमरा लगाइदिन थाल्छिन्, वातावरण हलुङ्गो र रमाइलो बन्दै जान्छ।
केही वर्षपछि देख्न–भेट्न नपाइने पाका आफन्तको त्यानो हात आफ्नो शिरमा पार्ने र टीका–जमरासँगै आशिषका केही वचन थाप्ने मौका दशैंले नै दिन्छ।
यस्तो दृश्य मैले जिन्दगीमा पटक पटक देखे–भोगेको छु। शायद जीवनको रीतिथिति यस्तै हो। संसार यसै गरी चल्छ। पुराना पात झरे झैं पुरानो पुस्ताको ठाउँ अर्को पुस्तामा सर्छ। वृद्धवृद्धा मर्दै जान्छन्, त्यो ठाउँ प्रौढबाट वृद्ध हुँदै गएको पुस्ताले लिन्छ र फेरि अर्को पुस्ता आउँछ। उहिले दशैंमा चिठी मात्र पाए पनि छोरा आए झैं ठान्ने पुस्ता अहिले संसारको कुनै अर्को कुनामा बसेका नातिनातिनालाई ल्यापटपमा टीका लगाइदिएर प्रत्यक्ष रूपमा समीपताको अनुभव गर्दै दङ्ग पर्छ। डिजिटल सञ्चार माध्यमको अकल्पनीय विकासले टाढा टाढाकालाई नजिक बनाइदिएको छ भने त्यसैमा रमाइरहने लतले एकै घरमा रहेका आफन्तलाई टाढा पनि पुर्याइदिएको छ। नातिनातिनाहरू हजुरबा र हजुरआमाको काखमा होइन, मोबाइल फोनका साथमा रमाउन थालेका छन्। बिग्रेको मोबाइल फोन फालिए जस्तो हजुरबा र हजुरआमा घरको एउटा कोठामा थन्किन पुगेका छन्।
कथा सुन्दै हजुरआमाको काखमा निदाउने समय नफर्कने गरी कतै टाढा गए जस्तो छ। जुन ज्ञान, संस्कार र पुख्र्यौली इतिहास नातिनातिना पुस्ताले हजुरबा–हजुरआमाका साथमा, तिनका काखमा बसेर सुन्थ्यो र सिक्थ्यो, हराउँदै गएको छ। केटाकेटीलाई मात्र हैन, दशैंको तिर्खा बूढाबूढीलाई पनि मजाले लाग्छ। एक–एक गरेर गन्दै नातिनातिनालाई टीका लगाउँदै आफ्नो वंशवृक्ष फैलिएको हेर्दा तिनको अनुहारमा देखा पर्ने आनन्द अनुपम हुन्छ।
छोराछोरी, नातिनातिना सबै यूरोप–अमेरिकातिर भएका आफन्तको पीडा र एकाकीपन पनि मैले दशैंको टीका थाप्न जाँदा सबैभन्दा बढी अनुभव गरेको छु। ‘सबलाई हुर्काइयो, पढाइयो, बढाइयो, तर पखेटा लागेका चराका बच्चा उडेर गएपछि आफ्नो गुँडमा नफर्के जस्तै विदेश गएका फर्कंदैनन्। मर्ने वेला एक घुट्को पानी दिने पनि कोही नहुने भए।’ टीका थापेर फर्किंदा यस्ता पीडादायी उद्गार पनि सँगसँगै पछ्याउँदै आउँछन्।
दशैंमा खुशीसँगै पीडा, दुःख र अवसादका रङ्ग पनि वेलावेला छुन आइपुग्छन्। तर, यो आमरूपमा खुशीको चाड हो। धर्ती मनोरम, दृश्य हरियाली, आकाश शुभ्र, शान्त, स्निग्ध र विशाल निलो समुद्र जस्तो देखिन्छ। प्रकृतिको सुन्दरताले दिने शान्ति शरद् ऋतुको मौसममा जस्तो आनन्ददायी वसन्त ऋतुमा पनि हुँदैन। वसन्त ऋतुले उष्ममा पुर्याउँछ भने शरद्ले शीतलतामा। त्यो शीतलता, सद्भावना र स्वच्छताको ढोकासम्म पुर्याउन हामीलाई डोर्याउँछ दशैंले।
केही वर्षपछि देख्न–भेट्न नपाइने पाका आफन्तको त्यानो हात आफ्नो शिरमा पार्ने र टीका–जमरासँगै आशिषका केही वचन थाप्ने मौका दशैंले नै दिन्छ। त्यसैले सबै नेपालीको र नेपालीसँग संसारका विभिन्न कुनामा फैलँदै गएको दशैंलाई नेपालीपनको, नेपाली जनको विविधता र सुन्दरताले सिँगारौं।
काठमाडौं उपत्यकामा थुप्रिएका मेचीदेखि महाकालीसम्मका नेपाली हतारिएर दशैंमा घर जान कुद्छन्, हतारिन्छन्। तिनलाई देख्न, भेट्न र सुमसुम्याउन धमिलो हुँदै गएका आँखा र कमजोर हुँदै गएका ज्यान बोकेर गाउँमा पर्खिरहेका हुन्छन् वृद्ध हजुरबुबा, हजुरआमा वा आमाहरू। गाउँको गोरेटोले पनि तिनका पाइला पर्खिरहेको हुन्छ। दशैंले छपक्क छोप्छ नेपालीलाई र चुम्बकले फलाम ताने झैं तान्छ। हाम्रा स्मृति ताजा हुन्छन्, पछि स्मृति बन्ने नयाँ घटना र रमाइला क्षण आउँछन्। दशैंको विशेषता र शक्ति यस्तै यस्तै अनेकौं घटना र स्मृतिमा निहित छ, शायद।
(पूर्व मन्त्री पन्त नेकपा (एमाले)का स्थायी कमिटी सदस्य हुन्। हिमालको २०७९ असोज अंकबाट।)