गीत फल्ने गाउँ
गीतमा रैथाने शब्द, भाका र कथा भर्न सिपालु गायक दाजुभाइ प्रकाश, देवेन्द्र र सुनीलका धेरैजसो गीतले गाउँबाटै तयार भएर शहर गुन्जाएका छन्।
गायक प्रकाश सपूत २०७४ सालको दशैं मनाउन बाग्लुङको धम्जास्थित घर पुगेका थिए। त्यही वेला खाडी मुलुकबाट गाउँले दाजुको शव आइपुग्यो। मृतककी पत्नी जसलाई प्रकाश भाउजू भन्थे, पतिको शवमा छाँद हाल्दै बिलौना गर्दै थिइन्। छाती पिट्दै भनिरहेकी थिइन्, “एक वचन त बोल। किन बोल्दैनौ..।”
त्यो विलापले प्रकाशको मर्म कोतर्यो। भाइ देवेन्द्र बब्लुलाई छटपटी सुनाए, “अब वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको कथा समेटेर एउटा गीत लेख्न पर्यो।” नभन्दै प्रकाशले तिनै भाउजूको बिलौना टिपेर गीत तयार पारेः
धन ल्याउँछु भन्दै गएका थियौ
उडेर आकाशमा
कस्तो भई गयौ कस्तो भई आयौ
काठैको बाकसमा
बोल...माया, एक वचन बोल
तिम्रो बोली, छ मलाई अनमोल।
प्रकाशलाई लाग्छ– यो गीत उनलाई गाउँले दियो, तर यसले बोक्ने कथा परदेशबाट काठको बाकसमा फर्केर आउने सबै नेपालीको हो। “हाम्रो गाउँमा मान्छे बित्दा छेउमा बसी रुँदै–रुँदै बह पोख्ने चलन पनि छ, त्यो आफैंमा अलग्गै भाका जस्तो लाग्छ,” उनी भन्छन्, “मैले त्यही भाका बोल मायामा समेटेको छु।”
देवेन्द्र पनि आफूहरूलाई गाउँले यस्ता धेरै सिर्जना दिएको ठान्छन्। “धम्जा हाम्रा लागि गीत रचना गर्ने उर्वर स्थान हो,” उनी भन्छन्, “दाइले जहिल्यै गाउँका कथाव्यथा उठाउनुभयो, म पनि त्यही वातावरणमा हुर्किएँ।” उनीहरू गाउँबाट शब्द मात्र सापटी लिँदैनन्, सकेसम्म सङ्गीत र लय पनि रैथाने शैलीकै राख्छन्। गीत लेख्दा र सङ्गीत भर्दा मिलेसम्म गाउँमै बस्न रुचाउँछन्।
घरछेउको खुला चौर, पुराना रूखको फेद र घरैमाथिको पाखो यी दाजुभाइका गीत उमार्ने थलो हुन्।
घरछेउको खुला चौर, पुराना रूखको फेद र घरैमाथिको पाखो यी दाजुभाइका गीत उमार्ने थलो हुन्। प्रकाशले लेखेको गलबन्दी च्यातियो तिम्ले तानेर, लाउने माया पाउने पीर यस्तै रहेछ जिन्दगी हजुर जस्ता गीत त्यहीं जन्मिएका हुन् जसमा उनका आँखैअघिका घटनाहरू चित्रित छन्। यी गीतसँग जोडिएका अनुभूति पनि उत्तिकै प्यारा छन् प्रकाशलाई। उनी कक्षा ७ तिर पढ्दा जिल्लामा विदेश जाने चलन ह्वात्तै बढेको थियो। सशस्त्र द्वन्द्वका कारण भारत, कतार, दुबई, मलेशिया जानेहरूको लर्को थियो। त्यही भएर पनि परदेशिएकाहरू र उनीहरूको आशमा पर्खिरहेकाहरूका भावना उनले नजिकबाट महसूस गरे। उनकै बुबा र भाइ पनि दशकभन्दा बढी परदेश बसे। परिस्थितिसँगै परदेशिनेहरूका कथा पनि फेरिँदै आए। त्यही परिवर्तन परदेशीको नहुने भरदेखि बोल मायासम्ममा विम्बित हुन्छ।
प्रकाश गीत लेख्दा कल्पनाको समुद्रमा डुबुल्की हान्दैनन्, मात्र आफू बाँचेको समयको कथा टपक्क टिप्छन्। “गलबन्दी च्यातियो तिम्ले तानेर गीत सिर्जनामा गाउँमा हुने पूजा–विवाह लगायतमा रातैभरि गाइने दोहोरी संस्कृतिको प्रेरणा छ,” उनी भन्छन्।
प्रकाश गीत सिर्जनामा ठाउँ नै प्रमुख हुन्छ भन्नेमा रूढ चाहिं छैनन्। कति गीत यात्राकै क्रममा पनि कोरेका छन्। “गाउँमा बसेर सिर्जना गर्नुको रस अर्कै छ, तर अहिले म अस्ट्रेलियाबाट फोनमा बाग्लुङबारे बोलिरहँदा पनि त्यहींको पाखोमा हिंडिरहेको अनुभूति गरिरहेछु,” उनी भन्छन्, “अर्कातिर लेखनको स्रोतले पनि फरक पर्दो रहेछ। मेरो खास स्रोत चाहिं बाग्लुङ, मैले बाँचेको जनयुद्धको समयको राजनीति, सांस्कृतिक र सामाजिक परिवर्तन हुन्। यी कुरा मनमा आएपछि जहाँ भए पनि गीत रचिँदा रहेछन्।” सङ्गीतका अनेक विधामध्ये माटोको सुगन्ध बोल्ने लोकविधामै आजीवन डुबिरहन चाहन्छन् प्रकाश। आफ्ना दुई भाइ पनि यही विधामा स्थापित हुँदै गएकोमा उनी हर्षित छन्।
भाइ देवेन्द्र भन्छन्, “मैले दाइबाट धेरै कुरा सिकें। तर, सङ्गीतमा टिकिरहन त आफूसँगै क्षमता हुनुपर्छ।” देवेन्द्रलाई पनि उनका धेरैजसो गीतको झिल्को गाउँले नै दिएको छ। कोभिड–१९ महामारी चर्किएपछि उनी २०७८ वैशाखमा घर गएका थिए। छेउकै पैयमको छहारीमा बसेर उनले फुराए–
झपक्कै फूलेको पैयमको फूल
हिजो राती बतासले झर्यो हो मयालु
धपक्कै बलेको मुहार देख्दा
टपक्कै टिपी लैजाऊँ जस्तो पार्यो हो मयालु
महामारीकै वेला घरमाथिको थुम्कामा बसेर वरिपरि नियाल्दै गरेका देवेन्द्रलाई गाउँ आधुनिक हुँदै गए जस्तो लाग्यो। बिजुलीबत्ती, मोटर र इन्टरनेट आएपछि मानिसहरू खुल्न थालेका थिए। यसरी खुल्दै गएको समाजले गर्ने मायाप्रीतिको कुरा कस्तो होला? उनले अहिलेका प्रेमी–प्रेमिकाका संवाद कल्पना गर्दै गीतमा ढाले,
म हाँसे हाँस्छौ र?
हाँस्छु का हाँस्छु का
म रोए रुन्छौ र?
रुन्छु का रुन्छु का...
त्यसो भए मुसुक्क हाँस....ला..ला..ला..ला..ला।
यो गीत यूट्युबमा ४५ लाख पटक हेरिएको छ।
भेटै हुन्न कि बोलको अर्को गीत उनलाई तब फुरेको थियो जब गाउँकै छिमेकी काकीले विदेशमा रहेका काकालाई फोनमा भनेकी थिइन्, “अब त कोरोना रोग पनि आयो, हाम्रो त भेटै हुन्न कि क्या हो।” यूट्युबमा ५२ लाख भ्यूज रहेको यही गीतको उत्तरमा उनले म त पर्खेको पर्ख्यै छु गीत पनि निकाले। काठमाडौंमा टोखा, धापासीमा बस्ने उनी गीत सिर्जना गर्न चाहिं गाउँ नै पुग्नुमा वातावरण पनि कारण रहेछ। “गाउँ गएपछि सिर्जनाको ढोका खुले जस्तो हुन्छ,” उनी भन्छन्, “अवसरका लागि काठमाडौं नबसी हुन्न। तर, यहाँ त ट्राफिक जाम भए जस्तै दिमाग पनि जाम हुन्छ।”
भेटै हुन्न कि बोलको अर्को गीत उनलाई तब फुरेको थियो जब गाउँकै छिमेकी काकीले विदेशमा रहेका काकालाई फोनमा भनेकी थिइन्, “अब त कोरोना रोग पनि आयो, हाम्रो त भेटै हुन्न कि क्या हो।”
कान्छो भाइ सुनील विक पनि पछिल्लो समय लोकगायनमा उत्तिकै रुचाइएका छन्। उनी सङ्गीतमा लाग्नुमा दाइहरूसँगै गाउँले र पारिवारिक वातावरणलाई कारण मान्छन्। “दाइहरू भएकाले सिक्न सजिलो भयो,” उनी भन्छन्, “तर लोककला गाउँले जीवनले नै दिएको हो।” सुनीलले आठ महीनाअघि आफ्नै शब्द, सङ्गीत, स्वर र निर्देशनमा निकालेको मया अझै लाउँछका, याद अझै आउँछका बोलको गीत गाउँमै तयार पारेका थिए।
उनीहरूको घरको माहोल पनि साङ्गीतिक नै छ। बुबा मारुनी नाच्ने, आमा रत्यौलीमा सिपालु, हजुरबुबा भजन गायनका पारखी। तीनै दाजुभाइ लोकगीतमा प्रकृतिको विम्ब र मानवीय संवेदना समेट्न रुचाउँछन्। “मानिस प्रकृतिकै पाटो हो। हामी पनि कहीं न कहीं हिमाल, फूल, माटो, नदी, हरिया फाँट, पहाड, तराईसँग जोडिएका छौं,” देवेन्द्र भन्छन्, “जीवनमा भोगेका कुराहरू देखाउन रूख, खोला, हरियाली, फूल र जङ्गललाई सङ्केत गर्दा रचना मीठो बन्छ।” उनीहरूको अर्को सबल पक्ष गहन भावको सरल प्रस्तुति हो। गीतमा बोलीचालीकै भाषा राख्छन्, रैथाने लवज उतार्छन्। मायालुलाई ‘मयालु’ भन्छन्, लाउँछलाई ‘लाउँच’।
गीत बन्ने प्रक्रियामा प्रकाश पहिला आफैं लय गुनगुनाउँछन्। त्यसपछि गीतको दुई लाइन कोर्छन्। त्यो हिंड्दा, यात्रा गर्दा वा जुनसुकै स्थानमा जतिसुकै वेला फुर्न सक्छ। त्यसपछि त्यही दुई लाइनलाई मूल विषयवस्तुमा टेकाएर पूरै गीत लेख्छन्। “त्यसपछि कथा अनुसार शुटिङ हुन्छ, पछि पछि गीतका शब्द थप्ने र बदल्ने पनि हुन्छ,” उनी भन्छन्। त्यसै गरी तयार भएको गीत हो पीर जसले सशस्त्र द्वन्द्वमा होमिएकाहरूको कथा भन्छ।
देवेन्द्र भने पहिला विषयको खोजीमा लाग्छन्। कहिलेकाहीं हिंड्दा/डुल्दै गर्दा विषयको झिल्को पाउँछन्। तिनमा कतै मिलन, कतै बिछोड, कतै विदेशिनुको पीडा त कतै गाउँले दोहोरीका रमाइला पाटा हुन्छन्। झिल्को भेटेपछि उनी कथा सोच्छन् र त्यसलाई शब्दहरूले गीतमा बाँध्छन्। शब्द काँटछाँटपछि मेलोडी बनाउँछन्, लय हाल्छन्। “विषयका भाव नमार्ने गरी कथामा उतार्न सकिए मात्र गीत पूर्ण हुन्छ,” उनी भन्छन्।
सुनीलले पनि पहिलो लोकगीत गाउँमै लेखे। त्यसपछि गिटारमा लय मिलाउन झण्डै एक साता लाग्यो। स्वर पनि आफैंले दिए। म्यूजिक भिडिओ गीत लेख्दा उनले सोचेको कथा अनुसारै बन्यो। तैपनि, उनलाई लेखन, सङ्गीत सिर्जना र गायनमा दाइहरूको जस्तो पकड बनाउन अझै मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ। “भविष्यमा दाइहरूको स्टाइलमा समाजका अझ गहकिला विषयवस्तुमा लोकगीत बनाउने इच्छा छ,” उनी भन्छन्। सुनीललाई दाइहरूकै बाटो पछ्याउँदै सङ्गीतमा निकै परसम्म जानु छ। बाग्लुङका खाद्यान्न, गरीबी, शिक्षा र स्वास्थ्यसम्मका विषयलाई गीतमा उतार्ने उनको ध्येय छ।
बाग्लुङले आफूलाई जति दियो त्यति फर्काउन नसके पनि जिल्लाका भाका र लय संरक्षण गर्ने, तिनलाई चर्चामा ल्याउने तीनै दाजुभाइको सपना हो। “गाउँमा अझै लोक वाद्यवादन बिलाएका छैनन्,” देवेन्द्र भन्छन्, “मारुनी र रत्यौलीका लय श्रोतासम्म पुग्नै बाँकी छन्।”
उनको बुझाइमा कुनै वेला आधुनिक र पप गीतले जसरी वर्चस्व लिए, त्यो बिस्तारै बिलाउँदै छ। तर, लोकगीत जति पुराना भए उति माया पाएका छन्। त्यसैले पनि मौलिक र रैथाने कुरा समाजमा कहिल्यै सकिँदैनन्। देवेन्द्र भन्छन्, “हामी लोकसंस्कृतिले नै बनेका छौं। त्यसैले हाम्रो गीतका बोली पनि मन पराइएको छ। हामी तीनै भाइको ध्यान लोक र लोकगीतमै छ।”
(हिमालको २०७९ असोज अंकबाट।)