‘मेरो विवेकले गिलासमा भोट हाल्न दिँदैन’
‘२०७४ को चुनावमा कांग्रेस एक्लै लड्दा ३१ हजार २८६ जनाले मलाई विश्वास गरेर आफ्नो अमूल्य मत दिनुभएको थियो। उहाँहरूको सम्मानका लागि पनि म गिलासमा भोट हाल्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक गोविन्दराज पोखरेल आफ्नो गृहजिल्ला प्यूठानमा कांग्रेस बाहेकका उम्मेदवारलाई भोट दिन नसक्ने बताउँछन्। गठबन्धनले उम्मेदवार बनाउन लागेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई मत माग्न जानु आफ्नो विवेकले नदिने उनको धारणा छ। पोखरेलसँग हिमालखबरले गरेको संक्षिप्त कुराकानीः
यहाँले सामाजिक सञ्जालमा गठबन्धनको उम्मेदवारलाई भोट माग्दिनँ भनेर लेख्नुभयो। किन?
हो, म कांग्रेस बाहेकलाई भोट माग्दिनँ। किनभने, गठबन्धनले अहिले जसलाई उम्मेदवार बनाउने चर्चा छ, उहाँ र म २०७४ को संसदीय चुनावमा प्यूठानबाट उम्मेदवार थियौं। उहाँ जनमोर्चाको उम्मेदवार भए पनि एमाले र माओवादी केन्द्रको भोटले मलाई पराजित गर्नुभयो। अहिले फेरि उहाँलाई कांग्रेसले गठबन्धन गरेर जिताउनुपर्ने कुनै कारण छैन। त्यस कारण भोट माग्दिनँ‚ प्रचारप्रचार गर्दिनँ भनेको हुँ।
भनिन्छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन। दुर्गा पौडेलसँग अघिल्लो चुनावमा पराजित भएकै कारणले भोट माग्दिनँ भन्नु त आफैंमा अराजनीतिक कुरा भएन र?
यो बिल्कुल राजनीतिक कुरा हो। २०७४ सालमा मैले प्यूठानी जनतालाई दुर्गाजीभन्दा म योग्य छु भनेको थिएँ। म तपाईंहरूको सेवा गर्न चाहन्छु मलाई भोट दिनुस् भनें। यो पाँच वर्षमा के त्यस्तो उलटपुलट भयो? जसले गर्दा तिनै मतदाताकहाँ मलाई होइन, दुर्गाजीलाई भोट दिनुपर्यो भन्न जाऊँ? कुन मुखले म रूखमा होइन गिलासमा भोट हाल्नुस् भन्न जाने?
दुर्गाजीलाई कांग्रेसले गठबन्धन गरेर जिताउनुपर्ने कुनै कारण छैन। त्यस कारण भोट माग्दिनँ‚ प्रचार प्रचार गर्दिनँ भनेको हुँ।
संघीय संसद्को सबैभन्दा ठूलो दल एमाले विरुद्ध यहाँ केन्द्रीय सदस्य हुनुभएको पार्टी कांग्रेस सहितको पाँच दलीय गठबन्धन छ। दुर्गा पौडेललाई भोट हाल्दिनँ भन्नु त गठबन्धनको मर्म विपरीत भएन र?
यो गठबन्धन कुनै अजेन्डा वा देश हित गर्न बनेको होइन। त्यस्तो गठबन्धन जोगाउने नाममा म आफ्नो विवेकलाई बन्दकी राखेर गिलासमा भोट हाल्नुस् भन्न सक्दिनँ।
निर्देशन पालना नगरेको भनेर कांग्रेस सभापतिले अनुशासनको कारबाही गर्यो भने के गर्नुहुन्छ?
तपाईंले एउटा कुरा बुझ्नु जरुरी छ। म कांग्रेसको कार्यकर्ता भएको हुनाले कांग्रेस विरुद्ध हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि हुन्नँ। कांग्रेसका उम्मेदवार जिताउन प्यूठानमा मात्रै किन देशभरि लाग्छुु। समानुपातिकमा कांग्रेसको भोट बढाउन पनि दिलोज्यान दिएर लाग्छु। रूखमा भोट नहाल्नु वा कांग्रेस उम्मेदवारलाई नजिताउनु भने पो कारबाही हुने हो। रूखमा भोट हाल्नुस्, कांग्रेसलाई बलियो बनाऔं भन्दा मलाई पार्टीले कारबाही गर्ला जस्तो लाग्दैन। पार्टी हितमा काम गर्नेलाई कारबाही गर्ने विधान पनि छैन।
यहाँको यो निर्णयले त गठबन्धनले प्रधान शत्रु ठानेको एमाले उम्मेदवारलाई फाइदा हुने देखियो नि?
दुर्गा पौडेलजीलाई भोट माग्न मेरो विवेकले नै दिंदैन। मैले आफ्नो विवेकको राजनीति गर्ने हो। आफ्नो विवेक प्रयोग गर्दा कसलाई फाइदा पुग्छ भन्ने मेरा लागि दोस्रो प्राथमिकताको विषय हो।
यो गठबन्धन कुनै अजेन्डा वा देश हित गर्न बनेको होइन। त्यस्तो गठबन्धन जोगाउने नाममा म आफ्नो विवेकलाई बन्दकी राखेर गिलासमा भोट हाल्नुस् भन्न सक्दिनँ।
यो विषयमा प्यूठानका कांग्रेसका अन्य नेता तथा कार्यकर्तासँग सरसल्लाह गर्नुभएको छ?
यो मेरो एकल निर्णय हो। तर‚ मेरो जस्तै धारणा राख्ने धेरै कांग्रेसजन हुनुहुँदो रहेछ भन्ने त मेरो फेसबूकमा आएका प्रतिक्रिया हेर्दा थाहा भइहाल्छ नि।
यहाँले गठबन्धनको पक्षमा भोट मात्रै नमाग्ने हो कि उम्मेदवारी पनि दिने?
म कांग्रेस कार्यकर्ता हुँ। सधैं कांग्रेस र कांग्रेस उम्मेदवारका पक्षमा उभिन्छु। एउटा पार्टीको केन्द्रीय सदस्य भएको नाताले स्वतन्त्र उम्मेदवारी दिनेबारे कुनै निर्णय गरेको छैन। जबकि‚ गठबन्धनकै साथीहरूबाट मलाई उम्मेदवारी दिन दबाब छ।
त्यसो भए गठबन्धनबाट जनमोर्चाकै उम्मेदवार उठे भने प्रत्यक्षतर्फको भोट कसलाई दिनुहुन्छ?
२०७४ को चुनावमा कांग्रेस एक्लै लड्दा ३१ हजार २८६ जनाले मलाई विश्वास गरेर आफ्नो अमूल्य मत दिनुभएको थियो। उहाँहरूको सम्मानका लागि पनि म गिलासमा भोट हाल्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ। कांग्रेस हुँ, रूखमा भोट माग्छु, रूखमै भोट हाल्छु। यसमा यदि वा र भनिराख्न जरुरी नै छैन।