असोज २० मा नेपाल फर्किन्छुः सन्दीप लामिछाने
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल आउने भएका छन्।
एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि विदेशमा रहेका लामिछाने सम्पर्कविहीन छन्। यसपछि नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।
लामिछानेले आज सामाजिक सञ्जालमा लेख्दै सो आरोप विरुद्ध कानूनी लडाइँ लड्न नेपाल आउने बताएका छन्। उनले लेखेका छन्‚ ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदै छु र झूटो आरोप विरुद्ध कानूनी लडाइँ लड्न नेपाल सरकार समक्ष आत्मसमर्पण गर्नेछु।”
लामिछानेले आफू निर्दोष रहेको बताउँदै न्याय पाउनेमा पनि विश्वस्त रहेको बताएका छन्। उनले नेपालको न्यायप्रणालीमा विश्वस्त रहेको पनि बताएका छन्।