विश्वका आठमध्ये एक चरा खतरामा
पर्यावरणीय सूचकका रूपमा रहेका पन्छीहरू उच्च जोखिममा रहेको देखिएको छ। पन्छी संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था बर्डलाइफ इन्टरनेशनलले हालै प्रकाशित गरेको प्रतिवेदनले चराहरू सङ्कटमा रहेको देखाएको हो।
प्रतिवेदनमा कुल चरा प्रजातिको झण्डै आधा प्रजाति जोखिममा रहेको र विश्वका प्रत्येक आठ प्रजातिमा एक प्रजाति लोप हुने खतरामा रहेको जनाएको छ। विश्वका चराहरूको स्थितिबारे चार चार वर्षमा प्रकाशन हुने स्टेट अफ द वर्ल्डस् बर्डस्–२०२२ शीर्षकको प्रतिवेदनमा कृषि भूमिको विस्तार, डढेलो, प्राकृतिक स्रोतसाधनको दोहन, जलवायु परिवर्तन, वनविनाशका कारण चराले ठूलो जोखिम बेहोर्नुपरिरहेको उल्लेख छ।
मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका कारण विश्वमा अस्तित्वमा रहेका कुल चरा प्रजातिमा ४९ प्रतिशत जोखिममा रहेको प्रतिवेदनको ठहर छ। सन् २०१८ को प्रतिवदेनले विश्वमा अस्तित्वमा रहेका ४० प्रतिशत चरा प्रजाति ह्रासोन्मुख अवस्थामा रहेको औंल्याएको थियो।
बर्ड लाइफ इन्टरन्याशनलले सार्वजनिक गरेको प्रतिवेदनले जनाए अनुसार‚ कृषि भूमिको विस्तारले चराका कुल प्रजातिमा ७३ प्रतिशतलाई जीवन धान्न सकस परिरहेको छ। विश्वमा चरा प्रजातिको संख्या ११ हजार रहेको अनुमान छ।
उक्त प्रतिवेदनबारे जानकारी दिंदै बर्डलाइफको स्थानीय साझेदार नेपाल पन्छी संरक्षण संघले जारी गरेको विज्ञप्तिमा यस्तो निराशाका बाबजूद पनि चरा हाम्रा लागि आशाको किरण भएको जनाइएको छ। प्रभावकारी संरक्षण कार्य गर्न सकिए चराहरूलाई जोगाउन सकिने संघले जनाएको छ। सन् २०१३ देखि थालिएका संरक्षण कार्यक्रमहरूले विश्वव्यापी खतरामा परेका ७२६ चरा प्रजातिलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह हुन सकेको र ४५० भन्दा बढी स्थानलाई महत्त्वपूर्ण पन्छी तथा जैविक विविधता क्षेत्रका रूपमा पहिचान गरी तिनको संरक्षण हुन सकेको संघले जनाएको छ।