साहित्यमा समाजको खोज
जसरी साहित्य विनाको समाजको परिकल्पना गर्न सकिंदैन त्यसै गरी समाज अनुपस्थित साहित्यको पनि सामाजिक अस्तित्व रहँदैन।
“वास्तविकताभन्दा ठूलो साहित्य छैन।”
साहित्य र सामाजिक यथार्थको सम्बन्ध आकलन गर्न इन्द्रबहादुर राई (प्राक्कथन, उपन्यास आज रमिता छ) को उपरोक्त उक्तिभन्दा अर्को सशक्त दृष्टान्त शायदै होला। साहित्य-समाज सम्बन्धबारेको बहस नेपाली साहित्यवृत्तमा नौलो होइन। तर, यस्ता बहस निष्कर्षमा विरलै पुग्छन्।
साहित्य समाजको ऐना रहेको र यसले समाजको प्रतिविम्ब उतार्नुपर्ने भनाइ आम प्रचलनमा छ। अर्कातर्फ, थप आग्रहयुक्त भनाइ पनि सुनिन्छन्- साहित्यले समाजलाई दिशानिर्देश गर्ने, समाजलाई ‘सही’ बाटोमा डोर्याउने दायित्वबोध गर्नुपर्छ आदि। केही चाहिं साहित्य सर्जकको दिमागी उपज वा भावनात्मक आवेग रहेको भन्दै त्यसले समाजलाई प्रतिविम्बन वा दिशानिर्देश गर्नुपर्छ/पर्दैन भन्ने बहस नै असान्दर्भिक ठान्छन्। उनीहरूका विचारमा साहित्यलाई साहित्यकारकै मर्जीमा छाडिदिनुपर्छ, सामाजिक प्रतिनिधित्व वा दिशानिर्देशनको बोझ बोकाइनु हुँदैन। साहित्य र समाजको सम्बन्धलाई केन्द्रमा राखेर भएका यस्ता अनगिन्ती बहसले थप बहसको आवश्यकतालाई अझ सान्दर्भिक बनाएका छन्।
लेखन कला हो र विज्ञान पनि। साहित्य कलापूर्ण भाषामा गरिने सामाजिक यथार्थको अभिव्यक्ति हो। यद्यपि, यथार्थ सधैं मूर्त र अन्तिम नहुने भएकाले त्यस्तो कलापूर्ण अभिव्यक्ति पनि यही नै अन्तिम भन्ने हुँदैन। भाषाको कलात्मकता, नवीनता र प्रयोगधर्मिता मार्फत साहित्यको संरचना, विषयवस्तु र आशय समय अनुसार परिवर्तन भइरहेको हुन्छ। यो मेरो विधागत ज्ञानका आधारमा समाज-साहित्यको सम्बन्धबारे गर्न सकिने निर्क्योल हो। यसलाई साहित्यको समाज-मानवशास्त्रीय परिचर्चा पनि भन्न सकिन्छ।
साहित्यका सबै विधा वा सिर्जना र तिनको समाजसँगको सम्बन्धबारे चर्चा हुन सक्छ। लेखनका दृष्टिले आख्यान र गैरआख्यानका अनेक भेद होलान्, तर शिल्पका दृष्टिले उनीहरूले एकअर्काबाट धेरै सिक्न सक्छन्। सांस्कृतिक मानवशास्त्रको विद्यार्थीका नाताले म चाहिं मानवशास्त्रको त्यस्तो रचना रुचाउँछु जसले उपन्यास पढे जस्तो आनन्द देओस्। त्यसै गरी साहित्यको औसत पाठकका नाताले त्यस्तो उपन्यास चाहन्छु जसमा समाजशास्त्र वा मानवशास्त्रको कुनै पाठमा जस्तो सामाजिक यथार्थ र मानवीय व्यवहार पढ्न पाइयोस्।
आख्यान पनि सिर्जनाका अन्य विधा जस्तै साहित्यकारको निजी यत्नबाट सिर्जित कथ्य वा वृत्तान्त हो, यो सामाजिक उत्पादन पनि हो। त्यसैले त साहित्यमा सामाजिक यथार्थसँगको सम्बन्ध खोजिन्छ। तर, पूर्ण यथार्थसङ्गत हुनुपर्छ भन्ने आग्रह अस्वाभाविक हुन्छ। साहित्यकारद्वारा निर्मित काल्पनिकी पनि सामाजिक उत्पादन नै हुन्, तर समकालीन यथार्थसँग ती मेल नखान सक्छन्। साहित्यमा लाक्षणिक अभिव्यक्ति र अभिव्यञ्जना अपेक्षित हुन्छ तसर्थ यथार्थको अभिव्यक्ति सामान्यतया सपाट र सरल हुँदैन। यथार्थ बहुआयामिक हुन्छ, कतिपय अवस्थामा तरल। तसर्थ यथार्थको सम्पूर्णताको प्रतिनिधित्व आख्यानले मात्र होइन, गैरआख्यानले समेत गर्न सक्दैन।
आख्यान पनि सिर्जनाका अन्य विधा जस्तै साहित्यकारको निजी यत्नबाट सिर्जित कथ्य वा वृत्तान्त हो, यो सामाजिक उत्पादन पनि हो। त्यसैले त साहित्यमा सामाजिक यथार्थसँगको सम्बन्ध खोजिन्छ।
सामाजिक संरचना, तिनमा निहित जटिलता, मानवीय सम्बन्ध र व्यवहार आदिलाई समय-सन्दर्भमा बोध गर्ने र वृत्तान्त तयार गर्ने सवालमा विधा र विधिका हिसाबले मानवशास्त्र अब्बल ठानिन्छ। यिनीहरू विशिष्ट विषयमा केन्द्रित रही लामो समय निश्चित स्थान र समुदायसँगै बस्छन्, ताकि मानव व्यवहारका अनेकन् पाटा बुझ्न सकियोस्। तर, वर्षौं अध्ययन गरेर लेखिएका मानवशास्त्रका ‘क्लासिक’ ठानिने ‘मोनोग्राफ’ बारे पनि पछिल्ला मानवशास्त्रीले आलोचना गरेका छन्, तिनले यथार्थको एकाङ्गी पाटो मात्र समेटेको भनेर। आख्यान होस् वा गैरआख्यान, प्रतिनिधित्वको सङ्कट यति वेलाको यथार्थ हो। तसर्थ, आख्यानले सम्पूर्णतामा यथार्थलाई प्रतिविम्बन गरोस् भन्नु आदर्श आकांक्षा मात्र हुनेछ। यथार्थलाई सम्पूर्णतामा उजागर गर्ने सवालमा साहित्य सधैं अपूर्ण हुन्छ। तथापि, समाज र साहित्यको सह-उद्विकासी सम्बन्धबारे मीमांसा भइरहनुपर्छ।
अमेरिकी समाजशास्त्री चार्ल्स राइट मिल्स लिखित द सोसियोलोजिकल इम्याजिनेशन (१९५९) का अनुसार, व्यक्ति (यहाँ आख्यानका चरित्र) नितान्त निजी जीवन मात्र बाँच्दैन, आफू बाँचेको समय र सन्दर्भ पनि बाँच्छ। तसर्थ, व्यक्ति (लेखक वा लेखकको पात्र) मार्फत तत् समय र सन्दर्भ पनि बुझ्न सकिन्छ। मिल्सका अनुसार, व्यक्तिका चुनौती र बृहत्तर सामाजिक मुद्दा अर्थात् व्यक्तिको जीवन र इतिहासबीचको सम्बन्ध बुझ्न सहयोग पुग्छ। उनी व्यक्तिको जीवनका घटना र समाजका बृहत्तर घटना अलग गरेर हेर्न नसकिने बताउँछन्। यो अवधारणाले साहित्यको पाठकले लेखक र कृति दुवै बुझ्नुपर्ने आग्रह गर्छ।
रसियाली दार्शनिक तथा समालोचक मिखाइल बाख्तिनका अनुसार, कुनै पनि साहित्यिक वृत्तान्त वा आख्यान आदिले समय-स्थानको गर्भाशयमा रूप र आकार ग्रहण गर्छ। उनी त्यसलाई ‘क्रोनोटोप’ भन्छन्। साहित्यमा त्यो समाकृति नै कलापूर्ण ढङ्गबाट भाषा मार्फत अभिव्यक्त हुन्छ। समय र भूगोलबाट अलग्गिएको साहित्यको उभिने जमिन हुन्न। यद्यपि, उनी सिर्जनामा समय र स्थानमध्ये कुनै एकको प्रभुत्व, अग्रस्थान वा महत्त्व स्विकार्दैनन्। बरु ती पूर्ण रूपमा एकअर्कामा निर्भर हुन्छन्। जुन सामाजिक-सांस्कृतिक भावभूमिमा साहित्य सिर्जना गरिएको हो, त्यसलाई देख्न र बुझ्न दृष्टि प्रदान गर्नुका साथै तत्कालीन विश्वदृष्टिकोण पनि उजागर गर्ने भएकाले ‘क्रोनोटोप’ आख्यान वा वृत्तान्तको विशेषता मात्र नभई संज्ञानात्मक अवधारणा पनि हो।
साहित्यका तीन पाटा लेखक, परिवेश (पाठ) र पाठक साहित्य उत्पादनका सामाजिक शक्ति हुन्। यिनको अवस्थितिका आधारमा साहित्य र समाजबीचको सम्बन्धबारे छलफल गर्दा सहज हुनेछ। व्यक्तिको सामाजिक अवस्थिति, समय सन्दर्भ र परिवेशले साहित्य निर्माणमा प्रभाव पार्छ। समाजको परिवर्तनसँगै साहित्यका ती उत्पादनका शक्तिहरूमा पनि परिवर्तन भइरहन्छ। अर्थात्, सामाजिक परिवर्तनसँगै साहित्यको स्वरूप, संरचना र कारिगरीमा पनि अनिवार्य परिवर्तन हुन्छ। प्रत्यक्ष-अप्रत्यक्ष त्यस्तो परिवर्तनको प्रतिक्रियास्वरूप पक्ष वा विपक्षमा साहित्य सिर्जना हुन्छन्, अधिकांशतः। कहिले कुनै खास घटनाको प्रतिक्रियामा त कहिले प्रक्रिया र परम्पराको प्रतिक्रियास्वरूप।
साहित्यका तीन पाटा लेखक, परिवेश (पाठ) र पाठक साहित्य उत्पादनका सामाजिक शक्ति हुन्। यिनको अवस्थितिका आधारमा साहित्य र समाजबीचको सम्बन्धबारे छलफल गर्दा सहज हुनेछ।
उत्पादनका तीन शक्ति एउटै रेखामा भए त्यो साहित्य बढी पठनीय र सान्दर्भिक बन्न पुग्छ। बुद्धिसागरको कर्नाली ब्लुज उपन्यासका अनुवादक माइकल हटले एक अनौपचारिक कुराकानीमा भनेका थिए कि त्यो किताब बुद्धिसागरले बाहेक अर्कोले लेख्नै सक्दैनथे, यसको अनुवाद त झन् कठिनतम काम हो। साहित्यमा लेखक, कृति र परिवेशको शक्ति दर्शाउने चुस्त-दुरुस्त उदाहरण यो उपन्यास पनि हो। नारायण वाग्लेको उपन्यास पल्पसा क्याफे जुन परिवेशमा प्रकाशन भयो र पाठकले जसरी मन पराए त्यो यस्तै संयोग हो। उपन्यासकारले गुणवत्ताका हिसाबले अझै अब्बल उपन्यास पनि लेख्न सक्लान्, तर पाठकले त्यसरी नै ग्रहण गर्लान् भन्न सकिन्न।
उलार अत्यधिक मन पराइएको अर्को उपन्यास हो। नयनराज पाण्डेको उक्त उपन्यास पहिलो पटक प्रकाशन भएको वर्षौंसम्म गुमनाम जस्तै रह्यो। जब पुनः प्रकाशित भयो, लोकप्रिय भयो। लेखक उही, कृति उही तर परिवेश र पाठक फरक समयका। प्रेतकल्प लगायत केही सफल उपन्यास लेखिसकेका साहित्यकार नारायण ढकाल बारम्बार भन्ने गर्छन् कि उनले अहिलेसम्म आफैंले पढ्न चाहेको उपन्यास लेख्न सकेका छैनन्। अर्थात्, लेखक ढकाल र पाठक ढकाल एकै परिरेखामा उभिन सकेका छैनन्। साहित्य उत्पादनको सामाजिक शक्तिको सान्दर्भिकता बुझ्न यी केही सामान्य उदाहरण मात्र हुन्।
पछिल्ला केही वर्ष अमुक कृतिका विरुद्धमा, तिनले तत्तत् समुदाय र तिनको यथार्थको गलत प्रतिविम्बन गरेको भन्दै विभिन्न स्वरूपमा विरोध भएको हामीले देखेका छौं। त्यस्तै एक उदाहरण हो, ध्रुवचन्द्र गौतमको प्रतिनिधि उपन्यास अलिखितप्रतिको एक टिप्पणी। उक्त पुस्तकबारे अध्येता रामअवतार यादवले लेखेका छन्, “ध्रुवचन्द्र गौतमको अलिखित मधेशीलाई होच्याउने मामलामा एउटा उत्कृष्ट उदाहरण हो। वास्तवमा भन्ने हो भने पहाडी अहङ्कारको चरम नमूना हो।”
नेपालको मात्र विशिष्ट चरित्र होइन यो। डीएच लरेन्सको उपन्यास लेडी चाटर्लीज लभर देखि सलमान रुश्दीको सटानिक भर्सेजसम्म यस्ता धेरै उदाहरण छन् जसलाई मानिसले फरक फरक कारणले विरोध गरे, प्रतिबन्ध लगाउनेसम्मको माग गरे। रुश्दीलाई त उनको चौथो उपन्यास सटानिक भर्सेज (१९८८)को प्रकाशन लगत्तै फतवा नै जारी गरियो। विश्वप्रसिद्ध अनि पुरस्कृत यी लेखकलाई ज्यान जोगाउने चुनौती समेत आइलाग्यो। तथापि, उनले सिर्जनशील जीवनलाई निरन्तरता दिई नै रहे। गत २२ अगस्टमा न्यूयोर्कको एक साहित्य समारोहमै रुश्दीलाई सांघातिक हमला भयो। यी यस्ता उदाहरण हुन्, जसले साहित्य र समाजको सम्बन्धको प्रगाढता र तीव्रता बुझ्न मद्दत गर्छन्।
यी उदाहरण यहाँ यस कारण प्रस्तुत गरियो कि अब पाठक कुनै आख्यानको पठनमा समेत निष्क्रिय रहेनन्। नेपालका सन्दर्भमा पनि लेखक र पाठकको बीचमा गतिशील सम्बन्ध बन्दै छ। परम्परागत साहित्यिक समीक्षामा मात्र सीमित हुन्न अब कुनै सिर्जनाप्रतिको पाठकीय अभिमत। यसले लेखक थप जिम्मेवार बन्नुपर्ने, लेख्ने परिवेशबारे अधिक ज्ञान र अनुभव संग्रह गर्नुपर्ने र पाठकीय चेतनालाई समेत सचेततापूर्वक निगरानी गर्नुपर्ने आवश्यकता उजागर गरेको छ।
यसर्थ पनि साहित्यिक सिर्जना पहिलाभन्दा पनि बढी सामाजिक उत्पादन बन्दै गरेको देखिन्छ। साहित्यको पाठले सजिलै राजनीतिक रूप ग्रहण गर्न थालेको छ वा त्यस्तो परिघटना प्रकट हुन थालेको छ। साहित्यकारले अब आफ्नै भूमिका र दायित्वलाई पुनः परिभाषित गर्दै जानुपर्नेेछ। लेखक बदलिँदो समयसँगै चनाखो, संवेदनशील, सूक्ष्म ग्रहणकर्ता र अनुभूतिशील बन्नुपर्ने कुरा झनै प्रमाणित बन्दै गएको छ।
साहित्यकारले अब आफ्नै भूमिका र दायित्वलाई पुनः परिभाषित गर्दै जानुपर्नेेछ। लेखक बदलिँदो समयसँगै चनाखो, संवेदनशील, सूक्ष्म ग्रहणकर्ता र अनुभूतिशील बन्नुपर्ने कुरा झनै प्रमाणित बन्दै गएको छ।
हामीलाई लाग्न सक्छ कि निरन्तर उपभोक्तावादी बन्दै गएको समाजमा बजारको अहं भूमिका हुन्छ। लेखन पेशा, प्रकाशन लगानी र पठन उपभोग बन्दै गरेको समयमा साहित्यको मानक पनि यसको बिक्री नै हो। बजारले साहित्यको मानक तयार गर्दैगर्दा लेखक आफ्नो सामाजिक जिम्मेवारी र जवाफदेहीबाट भने उम्कन सक्ने देखिन्न। बजार मूलतः नाफाको उद्देश्यबाट प्रेरित हुन्छ, तर कुनै साहित्यिक कृति हिजो, आज र भोलि पनि धेरै बिकेका आधारमा लोकप्रिय ठानिने र त्यसैका आधारमा साहित्यको सिर्जनात्मक मूल्यको पनि निर्धारण भने हुनेछैन।
थप एक उदाहरण सान्दर्भिक नै होला। जनकराज सापकोटाको पुस्तक नेपाली उपन्यासमा बसाइँसराइः दुःखदेखि दुःखसम्म त्यस्तो उदाहरण हो जसका आधारमा भन्न सकिन्छ कि नेपाली आख्यानका आधारमा पनि बसाइँसराइको सामाजिक इतिहास अर्थात् यसका राजनीतिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक आयाम बुझ्न सकिन्छ। नेपाली उपन्यासको आरम्भकालमा लेखिएको र कतिपयका अनुसार पहिलो नेपाली उपन्यास, रूपनारायण सिंहको भ्रमरदेखि पछिल्ला विभिन्न कालखण्डमा लेखिएका बाइस नेपाली उपन्यासमा आधारित यो पुस्तकले आख्यान पनि हाम्रो जस्तो मुलुक जहाँ सामाजिक शास्त्रको विधागत अध्ययन त्यति पुरानो नभएको समयको सामाजिक इतिहास पर्गेल्ने समाजशास्त्रीय उपाय हुन सक्ने उदाहरण पेश गर्न सक्छ।
भारतीय समालोचक मैनेजर पाण्डेयको अवलोकनमा ‘गम्भीर र कलात्मक साहित्यको सामाजिक अस्तित्व सङ्कटमा छ।’ त्यस्तो सङ्कट किन आइलागेको छ त ? लेखक र पाठकको बीचमा कुन खाडल वा शक्ति छ, जसकारण यी दुई बीचको दूरी बढ्दो छ ? यो समस्याको समाधान नखोज्ने हो भने साहित्य र समाजको परस्पर सम्बन्धबारे भनिने परम्परागत कथनको मात्र कुनै अर्थ रहनेछैन। साहित्य उत्पादनको सामाजिक शक्तिमध्येका लेखक र पाठकले सामूहिक रूपमा यस्तो विमर्श धेरैभन्दा धेरै गर्नु आवश्यक छ ताकि अपेक्षित पाठ (आख्यान) उत्पादन हुन सकून्। साहित्यकारको एकान्त साधना मात्र पर्याप्त हुनेछैन, अबको साहित्य लेखनका लागि।
अन्त्यमा, साहित्य विनाको समाजको परिकल्पना गर्न सकिँदैन भने समाज अनुपस्थित साहित्यको पनि सामाजिक अस्तित्व रहँदैन। समाजको प्रतिविम्ब, प्रभाव, प्रतिनिधित्वको तहबारे बहस हुन सक्छन्, तर परस्पर सम्बन्ध अनिवार्य छ। साहित्यको सामाजिक अस्तित्वको अनिवार्यताबारे मात्र होइन, साहित्यको सामाजिक जीवनबारे परिचर्चा गरिनु झनै आवश्यक छ।
(ढकाल मानवशास्त्री हुन्। हिमालको २०७९ असोज अङ्कबाट।)