‘नेपालले आफ्नो हितका लागि निर्णय गर्ने हो, अरूका लागि होइन’
‘जवाफदेही, लोकतन्त्र र पारदर्शितामा आधारित कार्यक्रमलाई अघि बढाउन नदिन केही समूहले एमसीसीबारे गलत प्रचार गरे।’
नेपालमा आफ्नो चारवर्षे कार्यकाल सकेर फर्किन लागेका निवर्तमान अमेरिकी राजदूत र्यान्डी बेरीले आफ्नो चारवर्षे कार्यकालबारे हिमालसँग कुरा गरे। उनको कुराकानीको विषयवस्तु, कोभिड–१९ महामारी, अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजनाको पक्ष-विपक्षमा भएको बहस, मानव अधिकार, प्रेस स्वतन्त्रताबारे सम्बन्धित छ।
नेपाल आउँदाको तपाईंको अपेक्षा के थियो? के ती अपेक्षा पूरा भए त?
नेपालका लागि अमेरिकी राजदूत नियुक्त भएपछिको मेरो उद्देश्य अमेरिका र नेपालबीचको मित्रता अझ प्रगाढ बनाउनु थियो। हामी भौगोलिक रूपमा टाढा भए पनि हाम्रा प्रजातान्त्रिक मूल्य-मान्यता, उन्नत विश्वको आकांक्षा, मानव अधिकारको सम्मान, गुणस्तरीय शिक्षा र स्वास्थ्य, भ्रष्टाचार विरुद्धको लडाइँ, जलवायु परिवर्तनसँगको लडाइँ, समावेशी आर्थिक वृद्धि जस्ता विषय समान छन्।
म जति दिन नेपालमा रहें प्रत्येक दिन मैले यिनै विषयमाथि आफूलाई केन्द्रित गरिरहें। हामीले यूएसएआईडी मार्फत नेपाल सरकारसँग धेरै क्षेत्रमा साझेदार र सहकार्य गरेका छौं। हामीले गरेका परियोजना असल शासन, दिगो आर्थिक वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र शैक्षिक कार्यक्रममा केन्द्रित छन्।
त्यस्तै, मानव अधिकारको प्रवर्द्धन गर्दै महिला र बालबालिका तथा ‘एलजीबीटीआई’का समुदायलाई पनि हामीले सहयोग गरेका छौं। हामीले जलवायु परिवर्तनमैत्री नीतिनिर्माणमा सरकारलाई सघाएका छौं र हामी दुवै मुलुकले जलवायु सङ्कट कम गर्दै लोकतन्त्रलाई सबल बनाउने प्रतिबद्धताहरूलाई अघि बढाएका छौं।
एमसीसी मार्फत आउने अनुदानको अर्थ आगामी वर्षमा नेपालीहरूका लागि थप रोजगारी, सडक सुविधाको बढोत्तरी र भरपर्दो बिजुली उपलब्ध हुनु हो।
एमसीसी मार्फत आउने अनुदानको अर्थ आगामी वर्षमा नेपालीहरूका लागि थप रोजगारी, सडक सुविधाको बढोत्तरी र भरपर्दो बिजुली उपलब्ध हुनु हो।
हामीले दुई देशका जनताबीचको सम्बन्ध सौहार्द राख्ने कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छौं। हामीले हरेक वर्ष राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मीहरू गरी १०० नेपालीहरूलाई अमेरिकामा अध्ययन भ्रमणका लागि लाने गरेका छौं। अमेरिकामा स्नातक र स्नातकोत्तर पढ्ने विद्यार्थीहरूमा नेपाली विद्यार्थीको संख्या १२औं स्थानमा छ।
राजदूतका रूपमा आएपछि मेरो अपेक्षा अमेरिका–नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाउने थियो र यो लक्ष्यमा हामी दिनप्रतिदिन अग्रसर भइरहेका छौं।
कोभिडका कारण विगत चार वर्षमा धेरै सङ्कट झेल्नुपर्यो। यी दुवै देशले महामारीलाई कसरी सम्हाले भन्ने तपाईंको विश्लेषण के छ?
नेपालले वास्तवमा राम्रो काम गरेको छ। कोभिड–१९ को महामारी फैलिंदै गर्दाका शुरुआती दिनमा सरकारले तीव्र गतिमा काम गरेको थियो। तत्कालै अमेरिकी सरकारले नेपालको स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्यो र महामारीको सामना गर्न यूएसएआईडी मार्फत अमेरिकी रक्षा मन्त्रालयबाट अक्सिजन ट्याङक, श्वासप्रश्वासका सामग्री, पीपीई, स्वास्थ्य परीक्षण सामग्री प्रदान गर्यो। त्यो सहयोग जारी छ। आजसम्म हामीले नेपाललाई कोभिड सहयोग स्वरूप खोप बाहेक १६ करोड अमेरिकी डलर बराबरको सहयोग गरिसकेका छौं।
मलाई केमा गर्व लागेको छ भने, हामीले नेपालका बालबालिका लक्षित एक करोड ३० लाख डोज खोप उपलब्ध गरायौं। उल्लेखनीय कुरा के छ भने, अमेरिकाभन्दा नेपालमा खोपको दर अधिक छ।
कोभ्याक्स सहमति अनुसार चल्नुपर्दा र अन्य कैयौं देशको माग हुँदाहुँदै नेपाललाई त्यत्रो डोज खोप उपलब्ध गराउन कत्तिको गाह्रो भयो?
राष्ट्रपति बाइडेनले विश्वमै अमेरिका कोभिड–१९ खोपको आपूर्तिकर्ता बन्न चाहन्छ भन्ने घोषणा गर्नुअघि नै विज्ञहरूले खोपको उच्चतम आवश्यकता भएका देशमा खोप उपलब्ध गराउने गृहकार्य गरिरहेका थिए। हामी कोभ्याससँग साझेदारी गरेर खोप उपलब्ध गराउन सफल भयौं, जुन काममा यूनिसेफले वितरण सञ्जालको जिम्मा लिइदियो। कोभ्यासले खोप वितरणमा मद्दत गर्यो, र खोपको सबैभन्दा बढी खाँचो जहाँ थियो, त्यहाँ पुग्न सक्यो।
एमसीसी अनुमोदनसँगै नेपाल सरकारले सार्वभौम देशको हितका लागि निर्णय गरेको छ।
त्यही वेला नेपालमा भने एमसीसीको बहस बहकिएको थियो। जुन किसिमले बहसहरू भए त्यसलाई हेर्दा अनुमोदन प्रक्रिया सहज बनाउन सकिन्थ्यो भन्ने तपाईंलाई लागेको थियो?
त्यति वेला पनि हामीले तत्कालका तत्काल गलत बुझाइलाई प्रष्ट्याएका थियौं। जवाफदेही, लोकतन्त्र र पारदर्शितामा आधारित कार्यक्रमलाई अघि बढाउन नदिन केही समूहले एमसीसीबारे गलत प्रचार गरे। यसले गर्दा एमसीसीका कार्यक्रमहरू वर्षौंसम्म विलम्बमा परे। यसो हुनु भनेको नेपाली जनतालाई रोजगारी, भरपर्दो सडक सञ्जाल, दिगो ऊर्जाको पहुँचमा भएको ढिलाइ हो।
तर, यो भूखण्डमा हुने ध्रुवीकृत भूराजनीतिका कारण एमसीसीले नेपाललाई आफ्ना नजिकका छिमेकीसँगको सम्बन्ध बिग्रने गरी पक्षधरताका लागि बाध्य पारेको हो कि?
नेपालले आफ्नो हितका लागि निर्णय गर्ने हो, अरू कुनै देशको हितका लागि निर्णय गर्ने होइन। एमसीसी अनुमोदनसँगै नेपाल सरकारले सार्वभौम देशको हितका लागि निर्णय गरेको छ। शुरूमा सरकार यो कार्यक्रममा सहभागी हुन चाहन्थ्यो, किनभने यो कार्यक्रमले अन्य देशमा राम्रो परिणाम देखाएको थियो। पछि त नेपाल सरकारले आफ्नो जनताको उच्चतम हित कसरी हुन सक्छ भनेर कार्यक्रमको खाका पनि आफैं बनायो।
तपाईंले दुई वर्षअघि नेपाली टाइम्समा लेख्नुभएको लेखमा अमेरिकाको स्पष्टवक्ता र लोकतन्त्रको पक्षधरताको प्रतिरक्षा गर्नुभएको थियो, जबकि यी विषयमा अमेरिकाभित्रै पनि उन्नत अवस्था देखिंदैन। यसरी हेर्दा अरू देशमाथि यसोउसो भन्नु आजका दिनमा खोक्रो जस्तो देखिंदैन?
मैले हिजो जे भनेको थिएँ, आज पनि त्यही नै भन्छु। त्यो के भने हामी अमेरिकीहरू मानव अधिकारको सम्बन्धमा मुखर किन छौं भने हामीलाई थाहा छ- हामी पूर्ण छैनौं। हामी हाम्रा समस्यालाई ढाकछोप गर्ने पक्षमा छैनौं। अमेरिकीहरूले आफ्नो दैनिक जीवनमा भोग्नुपरेका रङ्गभेद र लैङ्गिक असमानताका विषयमा आफ्नो देशमा सक्रिय रूपमा कुरा गर्छौं। हाम्रो देशमा विद्यमान यी समस्याले हामीलाई ती विषयमा बोल्नै अयोग्य बनाउने त होइन नि, आखिर ती विषयमा भद्रता सहित बोल्ने ठूलो अवसर हामीलाई प्राप्त छ।
नेपालको हालको वस्तुस्थितिका आधारमा तपाईंले नेपालको सामाजिक–आर्थिक प्रगतिको सम्भावना कस्तो देख्नुभएको छ?
नेपालमा अहिले अवसरका झ्यालहरू खुलेका छन्। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरसँग जुध्ने र मुलुकमा लोकतन्त्रलाई सुदृढ बनाउने महत्त्वाकांक्षी प्रतिबद्धता गर्नुभएको छ। यी विषयले लगानीकर्तालाई आकर्षित गर्ने र आर्थिक विकासमा मद्दत पुग्नेछ। मलाई यो भन्न पाउँदा गर्व लाग्छ कि अमेरिकी सरकारले नेपालको दिगो विकास र आर्थिक उन्नतिमा लक्षित विभिन्न कार्यक्रमलाई यूएसएआईडी, एमसीसी अनुदान, अमेरिकी अन्तर्राष्ट्रिय वित्तीय विकास निगम मार्फत सहयोग गर्दै आएको छ। हालै हामीले अमेरिकी व्यवसायीका लागि नेपालमा पहिलो अमेरिकी च्याम्बर अफ कमर्शको स्थापना गरेका छौं। यी यावत् क्रियाकलापले नेपाललाई दिगो आर्थिक विकासमा अघि बढ्ने अवसर दिएको छ।
नेपालाट फर्किंदै गर्दा कस्ता सम्झनाहरू लिएर जाँदै छु जस्तो लागिरहेको छ?
नेपाल विशाल परिदृश्य, अग्ला हिमाल र सांस्कृतिक समृद्धिले भरिपूर्ण ठाउँ हो। मैले नेपालमा भेटेका मान्छेहरूले मेरो जीवन नै परिवर्तन गरिदिएका छन्। नेपालमा व्याप्त करुणा, उदारता र आतिथ्य अतुलनीय छ। यी सबका लागि म आफूलाई कृतज्ञ ठान्छु। म जहाँ गए पनि नेपालका यी विशेषता मेरो साथमै हुनेछन्।
यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।