व्यवसाय बन्दै पराल तह लगाउन शुरू भएको च्याउखेती
खेर गइरहेको पराल उपयोगका लागि गरिएको च्याउखेती अहिले व्यावसायिक भएको छ। गत आर्थिक वर्ष नेपालमा १३ हजार २४१ मेट्रिक टन च्याउ उत्पादन भएको थियो।
च्याउ धेरैले मन पराउँछन्। अझ शाकाहारीहरूले च्याउलाई विशेष मान्छन्। अचेल नेपालको तराई, पहाड जतासुकै च्याउ सर्वसुलभ छ। नेपालमा २०६० सालसम्म कन्ने (ओइस्टर) र गोब्रे (ह्वाइटनेक) गरी दुई जातका च्याउ मात्र खेती गरिए पनि अहिले पाते, डल्ले, सिताकी, राजा र रातो च्याउ उत्पादन हुन थालेका छन्। प्रति किलो २०० देखि १५ सय रुपैयाँसम्म बिक्ने च्याउ नेपाली किसानका लागि राम्रो वैकल्पिक खेती भएको छ।
सरकारले च्याउखेती प्रवर्द्धन गर्नुअघि काठमाडौंको बजारमा व्यावसायिक रूपमा उत्पादित च्याउ उपलब्ध थिएन। २०५० सालतिर काठमाडौंको बजारमा व्यावसायिक रूपमा उत्पादित च्याउ उपलब्ध हुन थाल्यो। त्यसअघि काठमाडौं उपत्यका आसपासका तामाङ समुदायका सदस्यले जङ्गली च्याउ पेरुङ्गोमा हालेर काठमाडौंको असन रणमुक्तेश्वर (खिचापोखरी) र ललितपुरको लगनखेलमा बेच्न ल्याउँथे।
कृषि विभाग अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले बीउ विकास गरी च्याउखेती प्रवर्द्धन कार्यक्रम चलाएको थियो। शुरूमा भक्तपुरको दधिकोट र काठमाडौंको बलम्बुमा च्याउखेती गरिएको थियो। कन्ने च्याउ आएपछि च्याउखेती गर्नेको संख्या बढ्यो। हाल लमजुङ, स्याङ्जा, काभ्रे, कैलाली, रुपन्देही, ताप्लेजुङ लगायत जिल्लामा व्यावसायिक च्याउखेती हुँदै आएको छ।
काठमाडौंमा केही अघिसम्म दैनिक २० टन च्याउ बिक्री हुने अनुमान थियो। तर‚ पछिल्लो समय बिक्री घटेको व्यवसायी बताउँछन्। यस्तै‚ खेतीका लागि आवश्यक वस्तुको भाउ बढे पनि च्याउको भाउ लामो समयदेखि एकनास रहेकाले अहिले च्याउखेती गर्नेको संख्या घटेको एरिस मसरूमका ओमकृष्ण श्रेष्ठ बताउँछन्। “पराल प्रति किलो ४६ रुपैयाँसम्म पर्न थालेको छ, त्यो पनि भनेको वेला पाइँदैन। प्लास्टिक किलोको ३२० रुपैयाँ पर्छ‚” श्रेष्ठ भन्छन्, “तर‚ च्याउको बिक्री दर भने लामो समयदेखि २०० रुपैयाँ हाराहारी मात्रै छ।”
प्रति एकाइमा नाफा कम भए पनि बिक्रीको मात्रा अधिक हुँदा कुल नाफा बढेको केही व्यवसायी बताउँछन्। “हिजो किलोमा ५० रुपैयाँ नाफा खाएर २० किलो बेच्थ्यौं‚ अहिले किलोमा १० रुपैयाँ नाफा हुँदा ७०० किलो बेचिरहेका छौं,” भोर्लेटार च्याउ उद्योग दमौलीका किसान मनोरञ्जन पौडेल भन्छन्, “नाफा कम भए पनि मात्रा बढेका कारण बजार नराम्रो छैन।” पोखरा महानगपालिका–३२, लालेआहालमा रहेको उत्पादन केन्द्रबाट वार्षिक २४ हजार किलो च्याउ उत्पादन हुँदा करीब ६० लाख रुपैयाँको कारोबार हुने गरेको उनी बताउँछन्।
भक्तपुरको मसरूम सीड नेपाल एन्ड रिसर्च सेन्टरका आकाश बादे आफ्नो फार्मबाट वार्षिक करीब एक करोड रुपैयाँको च्याउ बिक्री हुने गरेको बताउँछन्। फार्मले पछिल्लो समय सिताकी र राजा च्याउ उत्पादन गर्दै आएको छ। नयाँ प्रजातिको राजा च्याउ भने कम परिणाममा उत्पादन गरिरहेको उनको भनाइ छ। सिताकी च्याउ प्रति किलो एक हजारमा बिक्रीवितरण हुने गरेको छ। सिताकी च्याउको बढीजसो उत्पादन माघ-फागुनमा हुन्छ।
सरकारले कृषिलाई प्राथमिकतामा राखे पनि च्याउखेती भने प्राथमिकतामा नपरेको बादेको गुनासो छ। उनी भन्छन्‚ “खर्बौं रुपैयाँ लगानीको च्याउखेतीका कारण नेपाली आत्मनिर्भर छन्। तर‚ अहिलेसम्म पनि च्याउखेतीका लागि सरकारको कुनै पनि नीति-नियम बनाएको छैन। यो क्षेत्रलाई हेर्ने कुनै निकाय पनि छैन।”
उनको अनुमानमा, देशभर १८ हजार मानिस च्याउखेतीमा आबद्ध छन्। च्याउ उत्पादन र बजारीकरणमा काम गर्नेको संख्या एक लाखभन्दा बढी रहेको अनुमान छ।
के हो च्याउ?
च्याउ वनस्पति वर्गमा पर्ने भए पनि यसले आफ्नो खाना आफैं बनाउन सक्दैन। अन्य वनस्पतिमा पाइने हरितकण (क्लोरोफिल) च्याउमा पाइँदैन। त्यसैले च्याउ प्राङ्गारिक पदार्थमा पर्दछ। यो फूल पनि होइन, पात पनि होइन। वनस्पति विज्ञानमा यसलाई ‘फ्रूटिङ बडी’ भनिन्छ।
साधारणतया खानयोग्य च्याउलाई ‘मसरूम’ र विषालु च्याउलाई भ्यागुताको मल ‘टोड स्टूल’ भनिन्छ। यी दुवै च्याउ एउटै जातका पनि हुन सक्छन्। सजिलै छुट्याउन सकिंदैन। यिनको रङ, आकार अन्य गुणको पहिचान गरेर खान योग्य हो/होइन पत्ता लगाउनुपर्छ।
च्याउ शाकाहारीका लागि प्रोटिनको गतिलो स्रोत हो। च्याउमा पौष्टिक र औषधीय गुण पाइन्छ। भिटामिन, मिनरल्स र माइक्रो न्युट्रियन्ट पनि पाइन्छ। “शरीरलाई आवश्यक नौ प्रकारका एमिनो एसिड च्याउमा पाइन्छन्,” च्याउविज्ञ केशरीलक्ष्मी मानन्धर भन्छिन्, “साधारणतया च्याउले निरोधक शक्ति (इम्युनिटी) र प्रतिरोध शक्ति (रेसिस्टेन्स) बढाउन मद्दत गर्दछ।”
ग्यानोडर्मा नामक रातो च्याउमा मधुमेह, उच्च रक्तचाप, क्यान्सर, एचआईभी जस्ता रोग नियन्त्रणमा फाइदा गर्ने तत्त्व पाइन्छ।
च्याउखेतीका लागि तरकारी र अन्य बालीलाई जस्तो धेरै जमीनको आवश्यक पर्दैन। गोठ, छाप्रो, घरभित्र पनि खेती गर्न सकिन्छ। च्याउखेतीमा लगानी कम र प्रतिफल अधिक हुन्छ। “काठमाडौंमै पनि बाली भित्र्याएपछिको फुर्सदमा किसानहरूले च्याउखेती गर्थे,” मानन्धर भन्छिन्, “हाल भने च्याउखेती व्यावसायिक रूपमै अघि बढेको छ।” स्वरोजगार प्रवर्द्धन गर्न च्याउखेती अत्यन्तै उपयोगी हुने उनी बताउँछिन्। नेपालको भौगोलिक विविधतामा विभिन्न च्याउको प्रजाति खेती उपयुक्त हुन्छ।
च्याउखेती गर्न पराल, गहुँको छ्वाली, मकैको ढोड तथा खोस्टा र उखुका छोक्रा जस्ता बालीको अवशेष प्रयोग गर्न सकिन्छ। च्याउखेती गर्दा वातावरण दूषित हुने कुनै पनि अवशेष निस्कँदैन।
विश्वमा हजारौं प्रकारका च्याउको पहिचान र वर्गीकरण भइसकेको छ। कृत्रिम तरीकाले उमार्ने प्रविधिको विकास भएपछि नगदे बालीका रूपमा च्याउखेती गर्न थालिएको छ। विश्वमा करीब ३० प्रजातिका च्याउको व्यावसायिक उत्पादन गरिन्छ। “नेपालमा कन्ने र गोब्रे च्याउ मात्रै उत्पादन हुने गरेकोमा हाल सिताकी र राजा गरी थप दुई प्रजातिको व्यावसायिक उत्पादन शुरू भएको छ‚” च्याउविज्ञ महेशकुमार अधिकारी भन्छन्‚ “केही व्यवसायीले रातो च्याउ पनि उत्पादन थालेका छन्।”
सन् १८३८ देखि हालसम्मको अनुसन्धानमा नेपालमा पाइएका ७२१ जाति र २४६७ प्रजातिका ढुसी तथा च्याउमध्ये एक हजार २७१ प्रजातिका च्याउ भएको पत्ता लागेको छ। प्राकृतिक विज्ञान संग्रहालय छाउनीले नेपालका विभिन्न स्थानबाट सङ्कलन गरेको ११४ च्याउका नमूनामा २५ विषालु पहिचान भएको मानन्धर बताउँछिन्।
कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन। सेतो दूध आउने च्याउ प्रायः विषालु हुन्छ। विषालु च्याउ खाएको ८/१० घण्टामा मात्रै यसको असर देखिन्छ। “विगतमा च्याउ खान हुन्छ/हुँदैन भनेर चाँदीको चम्चा वा गहना पकाएको च्याउको तरकारीमा हालेर जाँच्ने गरिन्थ्यो,” मानन्धर भन्छिन्, “तर त्यसले च्याउमा हुने धेरैमध्ये एउटा मात्र विषालु तत्त्वको मात्र जाँच हुन्छ। जबकि‚ च्याउमा अनेकथरी विष पाइन्छ।”
जङ्गली च्याउ खाँदा होशियार हुनुपर्छ। जङ्गली च्याउ असार-साउनमा जङ्गलतिर पाइन्छन्। हाल सस्तोमा विदेश निर्यात भइरहेको गुच्ची च्याउ र अन्य जङ्गली च्याउलाई व्यवस्थित गर्ने हो भने बढी फाइदा लिन सकिने मानन्धर बताउँछिन्। “नेपालबाट एक-दुई घण्टाको हवाई दूरीमा रहेको भारत तथा एशियाका अन्य शहरमा च्याउको माग र खपत धेरै छ‚” उनी भन्छिन्‚ “ती ठाउँमा ताजा च्याउ पुर्याउन सकिए च्याउखेती विस्तार हुने र आर्थिक लाभ उच्च हुने सम्भावना छ।”
च्याउखेतीमा प्रयोग गरिसकिएको वस्तु पनि काम लाग्छ। “गोब्रे च्याउखेतीबाट काम नलाग्ने अवशेष तरकारी तथा फूलखेतीका लागि प्रयोग गर्न सकिन्छ,” मानन्धर भन्छिन्, “कन्ने च्याउ उत्पादन गरिसकेको अवशेष गाईवस्तुलाई खुवाउँदा पोषिलो हुन्छ।”
नेपाली च्याउको अभिलेख
नेपालमा सन् १८०८ देखि च्याउ सङ्कलन गर्न थालिएको अभिलेख पाइन्छ। ब्रिटिश नागरिक स्यारसु विलियमले नेपाली जङ्गली च्याउको प्रजाति सङ्कलन गरेका थिए। हिमालयन फन्गाई र हिमालयन फन्गाई रिसेन्ट एक्सप्लोरेशन इन नेपालमा नेपाली जङ्गली च्याउबारे विस्तृत वर्णन पाइने यस विषयमा विद्यावारिधि गरेका नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सदस्य-सचिव महेश अधिकारी बताउँछन्। उनका अनुसार‚ नेपाली च्याउबारे वैज्ञानिक अध्ययनको थालनी त्रिभुवन विश्वविद्यालयका माइक्रोबाइलोजी विषयका प्राध्यापक शैलेशचन्द्र सिंहले गरेका हुन्। नेपालमा १४६ प्रजातिका जङ्गली च्याउ पाइएका छन्। जसमध्ये १२ प्रजातिको खेती गर्न सकिन्छ।
करीब एक हजार वर्षअघि प्राचीन चीनमा ‘अरिकुतारिया’ च्याउखेती गरिएको अभिलेख पाइन्छ। चीनमा झण्डै ९०० वर्षअघि सिताकी, मिर्गे च्याउ पनि उमारिएको लिखत छ। यूरोपमा भने झण्डै ३०० वर्षअघि गोब्रे च्याउको सफल खेती गरिएको थियो। त्यही समयको हाराहारी चीनमा पराले च्याउको सफल खेती गरिएको थियो।
सन् १७०८ मा टर्नफोर्ट भन्ने व्यक्तिले घोडाको मलमा कसरी च्याउ फलाउन सकिन्छ भन्ने पुस्तक लेखेको पाइन्छ। सन् १७७७ मा बेलायतका एबर क्रोमबिसले घोडाको मलमा झारपात मिसाएर कम्पोस्ट मल बनाउने तरीका निकाले र बीउबाट च्याउ फलाए।
नेपालमा च्याउखेती अनुसन्धान २०३०/३१ सालमा खुमलटारस्थित बाली रोग विज्ञान महाशाखामा शुरू गरिएको थियो। शुरूआतमा घोडाको मलमा च्याउखेती गर्ने प्रयास गरिए पनि नेपाली कृषि वैज्ञानिक बुनु पाण्डेले भारतको सोलानमा रहेको च्याउ अनुसन्धान केन्द्रमा तालीम लिएर आएपछि परालको कम्पोस्ट बनाई गोब्रे च्याउखेती गर्ने प्रविधिको नेपालमा अनुसन्धान शुरू गरिएको हो। किसानहरूलाई भने २०३४/३५ सालमा च्याउखेती प्रवर्द्धन गरिएको हो। मानन्धर भन्छिन्‚ “तत्कालीन बाली रोग विज्ञान शाखाले गोब्रे च्याउको बीउ किसानहरूलाई उपलब्ध गराएको थियो।”
बाली रोग विज्ञान शाखामा २०४०/४१ मा कन्ने च्याउखेती थालियो। “यो च्याउ एक महीनामै उत्पादन हुने भएकाले एक वर्ष किसानहरूकहाँ नै उमारेर हेरियो र सफल पनि भयो,” मानन्धर बताउँछिन्, “कन्ने च्याउ गोब्रेभन्दा सजिलो र थोरै समयमा उत्पादन हुने भएकाले यो किसानहरूको रोजाइमा पर्यो।”
नेपालमा च्याउखेती शुरू गर्नेमा मानन्धर सहित बुनु पाण्डे‚ नरहरि खड्का, चन्द्रलक्ष्मी श्रेष्ठ, रामहरिसिंह डंगोल, भीमसेन खड्का लगायतका फिल्डम्यानहरूको संलग्नता थियो।
बजार विस्तारको विगत
नेपालमा ३५ वर्षअघि पूर्णशोभा मानन्धरले बृहत् स्तरमा व्यावसायिक च्याउखेती थालेकी थिइन्। २०४४ सालमा स्थापना भएको उनको स्नो ह्वाइट मसरूम फार्म ५-६ वर्ष सञ्चालन भएको थियो। भीमसेन अग्रवालले च्याउखेतीका लागि शुरू गरेको हिमालय हेल्थ फूड २०५० सालदेखि पाँच वर्ष जति चलेको थियो। यी दुवै संस्थाले नेपालमा च्याउ प्रवर्द्धनको शुरूआती कालमा ठूलो योगदान दिए। त्यस्तै, काभ्रेको पनौतीमा खोलिएको हिमालय मसरूम सोसाइटीको पनि च्याउखेती विस्तारमा ठूलो भूमिका छ।
कृषि कार्यालयबाट अवकाश पाएपछि च्याउविज्ञ केशरीलक्ष्मी मानन्धरले कृषि प्रविधि तालीम केन्द्र मार्फत सिताकी च्याउको बीउ विकासमा योगदान दिएकी हुन्। केन्द्रले गर्मी ठाउँमा पनि खेती गर्न सकिने दुई प्रजातिको च्याउ विकास गरेको थियो। तिनमा दूधे च्याउ र पराले च्याउ थिए। “सिताकी च्याउ उच्च पहाड र मध्य पहाडी भेगमा खेती गर्न सकिन्छ भने तराईमा दूधे र पराले च्याउखेती गर्न सकिन्छ। मध्य पहाडी भेगमा गोब्रे र कन्ने च्याउखेती गर्न सकिन्छ,” मानन्धर भन्छिन्।
महँगो रातो च्याउ
सिताकी च्याउ उत्पादन गर्दै आएको भैरव च्याउ उद्योग प्रालि तानसेनले ६ महीनादेखि रातो च्याउ पनि उत्पादन गर्न थालेको छ। गानोडर्मा भनिने रातो च्याउ सुकाएर बेच्दा किलोको २० हजारसम्म पर्ने बताइन्छ। भैरव च्याउ उद्योगले भने प्रति किलो १० हजारदेखि १५ हजार रुपैयाँमा बेच्ने गरेको छ।
पङ्खा आकारमा फैलिने यो च्याउ काठ जस्तो कडा हुन्छ। तीतो हुने यो च्याउ मुख्यतः औषधिका लागि प्रयोग गरिन्छ। सुकाएर यस च्याउको टुक्रालाई चिया जस्तै उमालेर पिउने गरिन्छ। रातो च्याउलाई ‘हेल्थ फूड सप्लिमेन्ट’ का रूपमा लिने गरिन्छ।
खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालयमा दर्ता हुने संस्थामा आकाश बादेको ‘मसरूम सीड नेपाल एन्ड रिसर्च सेन्टर’ मात्र हो। “रातो च्याउ विदेश पठाउन सकियो भने राम्रो आम्दानी हुन सक्छ,” बादे भन्छन्, “हामीले ४० ग्रामको बट्टा दुई हजारमा बिक्री गर्ने गरेका छौं। व्यक्तिगत तवरमा मान्छेहरूले विदेश पनि लैजाने गरेका छन्। व्यावसायिक हिसाबले बाहिर पठाउने प्रक्रियामा छौं।”
कृषि विभागका अनुसार‚ आर्थिक वर्ष २०७५/७६ मा ११ हजार २५५ मेट्रिक टन च्याउ उत्पादन भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा १२ हजार ६०७ मेट्रिक टन च्याउ उत्पादन भएको थियो। गत वर्ष भने १३ हजार २४१ मेट्रिक टन च्याउ उत्पादन भएको थियो।
पराल तह लगाउन च्याउखेती
कृषि विभागका पूर्व महानिर्देशक बागवानीविद् शिवबहादुर नेपाली प्रधान कृषि विभागमा हुँदा २०२७/२८ सालतिर च्याउको काम गरेको सम्झन्छन्। “एक पटक जेठ-असारतिर धान रोप्ने वेलामा फिल्ड निरीक्षणमा जाँदा खेतमा परालको कुन्यु त्यसै देखेपछि किसानहरूलाई पराल त खेतमा त्यसै छ त, किन होला भनी सोधें,” प्रधानले ती दिन सम्झिए।
उनीहरूले धेरै धान फल्ने हाई इल्डिङ भेराइटी (एचवाईभी) प्रजातिको धानले उत्पादन बढाए पनि पराल भने छोटो, खस्रो र कडा भएको बताए। त्यस्तो पराल गाईवस्तुले खाएनन्‚ छाना छाउनलाई पनि छोटो भयो। अब पराललाई कि कागज बनाउन कि च्याउखेतीमा प्रयोग गर्नुपर्थ्यो। “कागज उत्पादनको काम कृषि अन्तर्गतको परेन, तर च्याउ उत्पादन गर्ने काम त कृषि अन्तर्गतकै हो‚” प्रधान भन्छन्‚ “अनि त्यसका लागि आवश्यक लेखापढी थालें। कृषि शिक्षाका लागि चर्चित भारतको कोयम्बटुर कृषि कलेजमा सोधखोज गर्दा त्यहाँबाट च्याउको बीउ प्राप्त हुने आश्वासन प्राप्त भयो।”
कोयम्बटुरबाट टेस्टट्युबमा च्याउको बीउ आएपछि पराल मिलाउने, भिजेको परालमा पिंधेको मुसुराको दालको पीठो छर्कने र त्यसमा भारतबाट प्राप्त च्याउको बीउ हाल्ने काम गरेको उनी स्मरण गर्छन्। “एक ठाउँमा सफल हुन सकेन, तर अर्को ठाउँमा पराले च्याउ (भोलभेरिया भोलमेसिया) सफल भयो,” उनी भन्छन्।
२०३० सालमा कृषि योजना निर्माणमा सलंग्न हुने अवसर पाउँदा आफूले च्याउखेतीलाई पनि योजनामा समावेश गर्न सकेको प्रधान बताउँछन्। “हरियो तरकारीको तुलनामा च्याउ केही महँगो छ भने सिताकी च्याउ अझ महँगो छ,” प्रधान भन्छन्, “सिताकी किलोको हजार–बाह्र सयसम्म पर्छ। आममानिसले उपयोग गर्न गाह्रो छ। यदि यसको खेती बढ्दै गयो भने मूल्य कम हुन सक्छ र रोजगारी तथा व्यवसाय पनि बढ्न सक्छ।”
सफल हुन नसकेको एउटा योजना
च्याउ विकासका लागि राजा वीरेन्द्रको पालामा एउटा ठूलो आयोजनाको तयारी भए पनि भवितव्यले उक्त योजना सफल हुन नसकेको प्रधान बताउँछन्। आफू राजदरबारको जाँचबुझ केन्द्रमा कार्यरत हुँदा कृषि योजना बनाउने काम गरेका कारण जापानी च्याउविज्ञ डा. मोरी नेपाल आउँदा भेटघाटको मौका पाएको उनी स्मरण गर्छन्।
“कृषि वैज्ञानिकका रूपमा कार्यरत भएका हुँदा डा. किशाकी मोरीसँग भेट्न पाएँ। एक दिन हेलिकोप्टरमा सोलुखुम्बु लैजाने क्रममा खराब मौसमका कारण जिरीबाटै फर्कनुपर्यो। त्यसपछि उहाँलाई लिएर ललितपुरको बज्रबाराही मन्दिरको जङ्गलमा भएको बाँझको बोट देखाउन लगें‚” प्रधानले भने‚ “किनभने, सिताकी च्याउ बाँझ (क्वेरकस) र कटुस (क्यास्टोनपसिस)मा राम्रोसँग फस्टाउँथ्यो। एउटा रूखमा सिताकी च्याउको बीउ पनि लगाएँ। तर, सो च्याउ फस्टायो वा फस्टाएन, आफू नेपालमा नभएको हुँदा देख्न पाइनँ।”
पछि जाईकाको निम्तोमा दुई हप्ताका लागि जापानको टोकियो जान पाउँदा मोरीको संस्थामा स्थलगत अवलोकन गर्ने अवसर पाएको प्रधान बताउँछन्। उक्त इन्स्टिच्यूटमा दुईवटा ठूल्ठूला अग्ला कटुसका बोटलाई घरभित्रै पारेर च्याउ उमारिएको देख्न पाएको उनले स्मरण गरे। “मोरीको त्यो इन्स्टिच्यूटमा लन्च खाँदा पनि शुरूको सुपदेखि मेनकोर्स र अन्तिमको डेर्जटसम्मका सबै परिकार च्याउकै थिए,” उनले वर्षौं अघिको घटना सुनाए।
मोरी नेपाल आउने कार्यक्रम तय भएको रहेछ। उनले राजा वीरेन्द्रसँग भेट गर्ने इच्छा गरे। प्रधानले उक्त कुरा दरबारमा जानकारी गराएँ। “पछि उहाँले वीरन्द्र सरकारसँग दर्शनभेटको अवसर पाउनुभयो। दर्शनभेट कार्यक्रममा संयोगले मलाई पनि दरबारमा उपस्थित हुनू भन्ने जानकारी आयो। वीरेन्द्र सरकार जापानमा पढेको हुँदा उहाँहरूको कुराले लय लियो,” प्रधान भन्छन्, “कुरै कुरामा डा. मोरीले नेपालमा सिताकी च्याउको ठूलो सम्भावना छ, उत्पादनको बजारीकरण म गरिदिन्छु भनेर राजा समक्ष भने। जवाफमा वीरेन्द्र सरकारले मलाई ‘१०० हेक्टर जङ्गल खोज्नु र सिताकीको खेती गर्नु’ भन्ने हुकुम भयो। मैले जो हुकुम सरकार भनें।”
तर, त्यसको केही समयपछि नै मोरीको हङकङमा स्वर्गारोहण भयो। मोरीको सम्भावना र सरकारको हुकुम दुवै कार्यान्वयन हुन सकेन। यद्यपि, हाल भने नेपालमा च्याउखेती व्यावसायिक रूपमा फस्टाउँदै गएको छ। र, दशैंको माहोलमा च्याउ पनि राम्रै बिक्री हुने भएकाले व्यवसायीलाई दशैं पनि विशेष हुने गरेको छ।