मालगुडीका दिनहरू
जन्मिएँ म धनकुटाको डाँडागाउँ नामको पाखोमा, धरानको एउटा विपन्न टोलमा हुर्कें, बढें, पढें, किशोरावस्था पार गरें र जीवनको पहिलो एक कोरी वर्ष बिताएँ।
आमाको एकोहोरो ढिपीले गर्दा आखिर हाम्रो आफ्नै छानो ठडियो, खहरे खोलाको डिलदेखि शुरू भएको ६ वटा घरका लस्करको पुच्छारमा। वास्तवमा त्यो छानो मात्रै थियो, पूरा घर बनिनसकेको। तीन लहरमा तीन–तीन वटा गरी भुइँमा दुई–अढाई हात गाडिएका १२–१४ फिट उचाइका जम्मा नौ वटा सखुवाका खाँबामाथि काठकै डाँडाभाटा हालेर त्यसमाथि मट्टीतेलका टिनका पाता ठोकिएको छाना थियो। बेरबार, पर्खाल, गारो, भित्तो केही थिएन– चारैतिर ह्वाङह्वाङ्ती। काठका नौ वटा थामले थामेको त्यसलाई नौखुट्टे पाटी भन्दा पनि हुन्थ्यो।
खुकुलो ढुङ्गाको घेराबाट पुरिएको चरमाथि गेगर सहितको माटो पुरेर भुइँ हालिएको थियो। भुइँलाई घरको भुइँ जस्तो बनाउन पानी हालेर ठोक्न, पिट्न र सम्याउन बाँकी नै थियो। छानो हाल्ने काम के सिद्धियो, आमालाई त्यहाँ सर्न हतारो भयो। चार वटा खाँबामा बाँसका घाराको चेपुवा हाली त्यसमा घोंचाघारा, काठका तखता, बाकल आदि बाँधेर एउटा कोठा जस्तो निकालियो अनि एक साँझ आफ्नो थाङ्नाभोक्टा र हाँडाचिन्डा लिएर हामी तीन जना त्यहाँ सर्यौं– आमा, म र ममुनिको दुईवर्षे भाइ। यसै पनि बगर समानको भुइँमा सुत्न गाह्रो छँदै थियो, घोंचाको एक मान्छे जति अग्लो अस्थायी बारले पनि सुरक्षाको कुनै अनुभूति दिइरहेको थिएन। मट्टीतेलले बल्ने टिनको सानो ढिब्रीको पिलपिले प्रकाश बाक्लो अन्धकार चिर्न असमर्थ थियो। त्यसले मभित्र अतिशय डर जगाएको थियो नदेखिने भूत, प्रेत, पिशाचको साथै देख्न सकिने सर्प, बिच्छी र स्यालहरूको।
साविकका घरका लहरको अन्तिम कडी बनेर ठडिएको हाम्रो छानो या घरको छेउपट्टि सानोतिनो जङ्गल नै थियो– हाडे, करम, सिवालीका रूखहरू, पैलेटीका बुट्यानहरू, असारे काँडाका घारी, पोथ्रापोथ्री र झाडी सहितको। स्याल त सम्साँझै घुम्थे त्यहाँ। त्यसभन्दा पर्तिर एउटा सार्वजनिक पाटी थियो, जहाँ बटुवाहरू, विशेष गरी भरियाहरू बास बस्थे र दाउरा बालेर भात पकाउँथे। कुन सालमा कुन पुण्यात्माको प्रयासबाट त्यो पाटी बनेको थियो, थाहा भएन। तर, हामी त्यसको छेउमा सर्नुअघि नै त्यो पाटी त्यहाँ थियो। पछि त्यसलाई पहाडको कुनै गाउँबाट झरेका नौलाखे र दशलाखे नाउँका छोराहरू भएका एउटा सुकुम्बासी राई परिवारले आफ्नो स्थायी वासस्थान बनाएको थियो। बरु त्यो पाटी हाम्रो नवनिर्मित घर नामको छानोभन्दा गतिलो थियो। जस्तापाताको छानो थियो, जमीनबाट ढुङ्गाको चिठन लगाएर उठाएको मटान, काठका थामहरू र एकातिर भए पनि बलियो गारो थियो त्यसको। त्यस पाटीमा केही समयअघि मात्र एउटा बेवारिसे बटुवाको मृत्यु भएको थियो। त्यसले गर्दा त्यो पाटी आफैं भय उत्पादनको स्रोत बनेको थियो मेरा लागि।
कुनै साइत वा मुहूर्त नजुराई आमाले एकदमै हतारिएर गृहप्रवेश गर्ने निधो गर्नुभएको थियो। या कुनै जानपालाई घर सर्ने साइत हेराउनुभएको थियो कि त्यो मलाई थाहा भएन, तर मेरो हिसाबमा घर सर्ने हाम्रो काम हठात् भएको थियो। हुन पनि हामी जुन ठाउँमा बसेर गुजारा गरिरहेका थियौं, त्यो हाम्रो डेराभन्दा पनि आश्रयस्थल थियो। त्यो हाम्रो नाता पर्ने व्यक्तिको घरको पिंढी थियो अर्थात् सिकुवा। त्यही पिंढीमा पुरानो तन्ना, बर्को र फरिया बेरबार गरेर एक प्रकारको शरणार्थी जीवन बिताइरहेका थियौं। त्यो सिकुवाको बासबाट आमाले सकेसम्म चाँडो उन्मुक्ति खोज्नु स्वाभाविक थियो।
सडक छेउको सानो घडेरी भने नाताले बाको मामा पर्ने र मैले ठूले बाजे भनेर बोलाउने लक्ष्मणबहादुर आलेको उदारताबाट उपलब्ध भएको थियो। मेरी बज्यै टुहुरी हुँदा सानोमा ठूले बाजेका बाबु हवल्दार करबीर आलेले दत्तक पुत्रीका रूपमा पालेर बिहादान समेत गरेको हुँदा ठूले बाजेको लेखो त्यो घडेरी दिदीलाई दिएको दाइजो थियो। अर्थात्, मेरी बज्यैलाई आफ्नो भाइबाट दाइजोस्वरूप प्राप्त घडेरीमा हामीले छानो हालेका थियौं। घडेरी मिलेपछि आमाले घर बनाउन जान्ने सिकर्मी–डकर्मीहरूलाई अनेक नेहोरा गरी कसैलाई मितेरी साइनो समातेर, कसैलाई मामा, काका, निबा, दाइ वा भाइको नाता जोडेर त्यो ओत ठड्याउनुभएको थियो।
बाको के कुरा गर्ने ! एक त लरी ड्राइभरको पेशा, लकडी ढुवानी गर्न रातबिरात नभनी वनजङ्गल जानुपर्ने, त्यसमाथि कम्युनिष्ट भइखाएको। कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लागेको समय थियो त्यो। त्यसैले हाम्रा लागि उहाँको दर्शन दुर्लभ थियो। साता–दश दिनमा देखा पर्ने, हकारपकारका दुई–चार पङ्क्ति र परेमा दुई–चार लपेटा उपहार दिएर फेरि हराउने। बाको आउने–जाने क्यालेन्डर अनिश्चित भएकै कारण आमाले एक्लै भए पनि आफूले निर्माण गरेको ओतमा सरिहाल्ने निश्चय गर्नुभएको थियो शायद।
जुन ठाउँमा हामी पाटीतुल्य घर खडा गर्न आइपुगेका थियौं, त्यस टोललाई उस वेला ‘माथ्लो खहरे’ भनिन्थ्यो। माथ्लो खहरेको उत्तिकै चल्तीको अर्को नाम पनि थियो– माथ्लो छाताचोक।
सडकका घरहरूको लाइनमा हामी जोडिन त आइपुगेका थियौं, तर एकदमै दीनहीन पाराले। जुन ठाउँमा हामी पाटीतुल्य घर खडा गर्न आइपुगेका थियौं, त्यस टोललाई उस वेला ‘माथ्लो खहरे’ भनिन्थ्यो। किनभने, धरान बजारलाई लगभग बीच भागमा चिरेर उत्तरबाट दक्षिणतर्फ बग्ने खहरे खोलाले छुने चतरालाइनको एउटा सानो इलाकालाई ‘तल्लो खहरे’ भन्थे मानिसहरू। केवल असार–साउनमा, त्यो पनि पानी परेको वेलामा उर्लन्थ्यो खहरे। अरू समय भने सुक्खा बगर बनेर पस्रिने खहरेले बजारको सारा फोहोर, कुडाकर्कट एवं सिनो विसर्जनस्थलको र खुला सार्वजनिक शौचालयको भूमिका निर्वाह गर्थ्यो। माथ्लो खहरेको उत्तिकै चल्तीको अर्को नाम पनि थियो– माथ्लो छाताचोक। त्यो किनभने, धरान बजारको उत्तरपट्टि सिरानमा अवस्थित फुस्रेबाट बजारतिर झर्ने ठाडो र कच्ची सडक खहरेको बगरलाई नाघेर चोकमा आइपुगेपछि दुईतिर फाट्थ्यो। एउटा बायाँ लागेर पुरानो बजारतर्फ जान्थ्यो र दायाँपट्टिको अर्को सडक नयाँ बजारतर्फ।
सडक फाट्ने चोकमा काठको गोलाकार थाममाथि टिनको गोल छाना हालेर बनाइएको छाता थियो, अचेलभरि काठमाडौंको दोबाटो चौबाटोमा खडा ट्राफिक पोस्ट जस्तो। त्यस्तै ढाँचाको तर केही अग्लो, ठूलो र पुरानो अर्को छाता तल चतरालाइन चोकमा त्यसरी नै ठडिएको थियो। ट्राफिक शून्य बराबर भएको ग्राम्य परिवेशको उसवेलाको धरान बजारको सडकमाझ त्यसरी छाता बनाउने अक्किल कसको थियो कुन्नि ! चतरालाइन चोकमा मूल छाता रहेको ठाउँलाई ‘तल्लो छाताचोक’ भनिन्थ्यो भने माथ्लो खहरेले ‘माथ्लो छाताचोक’ भन्ने नाउँ पाएको थियो।
त्यस एरियालाई कोही कोही ‘पानीट्याङ्की टोल’ पनि भन्थे। त्यो किनभने, हाम्रो घर छेउको पाटीभन्दा एक–डेढ सय मिटर पर्तिर जमीन गहिरोसित खनेर राणाकालमै बनाइएको पानीको एउटा ठूलो ट्याङ्की थियो, जुन ट्याङ्कीमा महाभारत पर्वतको कोखबाट निःसृत सर्दु र खर्दु दुई खोलाबाट सङ्कलन गरेर ल्याइएको पानी जम्मा हुन्थ्यो र त्यो पानी धरान बजारमा पाइपबाट वितरण गरिन्थ्यो। उसैवेला निजी धारा जोडिएका निकै घरहरू थिए धरान बजारमा। निजी धारा राख्न नसक्नेहरू टोल टोलमा राखिएका सार्वजनिक धाराको पानी उपयोग गर्थे। जस्तो, हामी चोकनेर माहिला आलेको पसलघर छेउको आँपको रूखमै टाँसिएको धाराको पानी खान्थ्यौं।
त्यस ठाउँलाई अचेलभरि ‘लक्ष्मी चोक’ भनिन्छ र त्यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको प्रतिमा पनि स्थापित छ। तर, यसले त्यो नाउँ पाएको धेरै पछि २०१६ सालमा मात्रै हो, जुन वर्ष महाकविको मृत्यु भएको थियो। त्यसै साल टोलका पढालेखा हाम्रा अग्रज दाइहरूले महाकविको स्मृतिमा चोकैनेर लक्ष्मी वाचनालय खोलेका थिए। त्यससँगै चोकलाई बिस्तारै लक्ष्मी चोक भन्न थालियो र त्यहाँबाट नयाँ बजारतर्फ जाने सडकको नामकरण पनि पछि ‘लक्ष्मी सडक’ भयो। तर, देवकोटा शब्द छुटाएर लक्ष्मी मात्र राखिएबाट चोक र सडक दुवैको नामलाई कति जनाले धनधान्यकी देवीसित जोडेर पनि हेर्थे, सके अहिले पनि हेर्लान्। कतिले त त्यसै इलाकामा बस्ने एक प्रतिष्ठित व्यक्तिको नाउँबाट पो सडकको नामकरण भएको होला भन्ने पनि ठान्थे।
लक्ष्मी नाम धारण गरे पनि त्यस चोकमा दरिद्रनारायणहरूको बाहुल्य थियो, खास गरी चोकको पूर्वतर्फ बनेका घरका लहरहरूमा त्यो झल्कन्थ्यो। कसैको पनि घर पक्की थिएन। रैथाने बोलीमा ‘च्यादर’ भनिने जस्तापाताको छाना ठूलै थैलोवालले मात्रै हाल्न सक्थ्यो। त्यसैले धेरैजसो घरका छाना मट्टीतेलका टिन र कहिलेकाहीं अलकत्राका ड्रमका पाताले बनेका हुन्थे, भित्ता काठका बाकलले। हेर्दा दुई तला जस्तो देखिए पनि वास्तवमा त्यो टाँड मात्र हुन्थ्यो– मानिस सीधा उभिन नसक्ने, घरलाई धेरै अग्लो बनाउन सक्ने हैसियत नभएकाले। हाम्रै घरको ठ्याक्कै सामुन्ने फुसको छाना भएको र ढुङ्गामाटाले बनेको घर थियो घैंटेहरूको। घैंटेको परिवारको पेशा ढिकीमा चिउरा कुट्नु थियो र घैंटेको बाबु चाहिं डकर्मी काम गर्थ्यो।
हाम्रो लाइनतिर भन्दा नयाँबजारतिर जाने लाइनका घरहरू गतिला थिए। ठूलो दोकान भएको चिरीचा साहुको घरपछि पुलामी हवल्दारको फराकिलो बरन्डावाल पक्की घर थियो अनि पछि वाग्ले र पौडेल परिवारको घर। त्यसपछि शुरू हुन्थ्यो, बास्तोला दाजुभाइहरूको पाकेको इँट र माटाको जोडाइले बनेका ठूला घरहरूको लस्कर। जमीनदार थिए बास्तोलाहरू। नयाँ र पुरानो बजार जाने दुवै लाइनलाई समात्न झैं गरेर माझमा ठडिएको थियो सर्वाङ्ग काठले बनेको बडेमाको दुईतले घुमाउने घर। घरको मोहोडा गोलाकार प्रकृतिको हुनाले त्यसले त्यो नाउँ पाएको थियो। त्यस घरको घरधनी ताप्लेजुङ वा ओलाङचुङगोलातिरका कुनै भोटे महाजन हो भन्थे, जसलाई हामीले कहिल्यै देखेनौं। त्यस घुमाउने घरमा भाडावालहरू नै बस्थे धेरजसो। कति जनाले पसल चलाए, कोही भने डेरा गरी बस्थे।
धरान बजार साविकको जङ्गल फाँडेर त्यस माझ उम्रेको हुनाले काठपातको पौल थियो। धेरैजसो घरहरू तलदेखि माथिसम्मै काठैकाठले बनेका हुन्थे। इँटले बनेका पक्की घरहरू थोरै थिए। इँटमा पनि जोडाइ माटाको हुन्थ्यो, चुना सुर्खीबाट बनेका घर त पूरै धरान बजारमा औंलामा गन्न सकिने थिए। सिमेन्टको चलन भित्रिसकेको थिएन। घरहरू कच्ची–पक्की, राम्रा–नराम्रा जे जस्ता भए पनि कोठा भाडामा दिने चलन फुस्रेमा ब्रिटिश क्याम्प बसेदेखि नै शुरू भइसकेको थियो। मानिसहरू चर्पी बनाउन सिक्दै थिए र फुस्रे क्याम्पमा नोकरी गर्न आएका दार्जीलिङेहरूको सिको गरेर चर्पीलाई ‘पाइखाना’ वा ‘टट्टीखाना’ भन्न थालेका थिए।
भाडाको कोठामा डेरा गरी बस्नेहरूमा शुरू शुरूमा त फुस्रे क्याम्पमा काम गर्न आएका बाहिरियाहरू नै अधिकतर मात्रामा थिए। तर, त्यो क्याम्प घोपा सरेसँगै उनीहरू पनि उतैतिर लागे। उनीहरूको ठाउँ अब पहाडका विभिन्न स्थानबाट स्कूल वा कलेजमा पढ्न आएका विद्यार्थीहरूले लिए। त्यस बाहेक बनिबुतो गरेर गुजारा चलाउने, हात र बलको काम ज्यालादारीमा गर्ने ज्यामीहरू भाडाका कोठामा बसेर दुखम्सुखम् जीवन निर्वाह गर्ने अर्काथरी थिए। भारी बोक्ने वा गैंती, बेल्चा चलाउने काम ज्यालादारीमा गर्ने ज्यामीलाई ‘कुल्ली’ भनिन्थ्यो, जो ब्रिटिशहरूले स्थानीय जनबोलीमा थपिदिएको नयाँ लवज थियो।
घरहरू कच्ची–पक्की, राम्रा–नराम्रा जे जस्ता भए पनि कोठा भाडामा दिने चलन फुस्रेमा ब्रिटिश क्याम्प बसेदेखि नै शुरू भइसकेको थियो। मानिसहरू चर्पी बनाउन सिक्दै थिए।
घोपाको ब्रिटिश क्याम्प र धरान–जोगबनी सडक निर्माणको समयमा सयौं कुल्लीहरूले रोजगारी पाएका थिए। ब्रिटिश हाकिमबाट कुल्लीहरूलाई ज्यालादारीमा राख्ने वा झिक्ने अख्तियार पाएका व्यक्ति ‘सरदार’ कहलिन्थ्यो। कुल्लीहरूको त राजा नै मानिन्थ्यो सरदार। त्यसैले उसको खूबै भाउ हुन्थ्यो। दोकाने साहुहरूले पनि उसलाई उधारो पत्याउँथे। एक जना त्यस्तै सरदार हाम्रो टोलमा बस्न आइपुगेको थियो। रोजगारी पाउन सरदारलाई मुख देखाइरहनुपर्ने हुनाले हाम्रो टोल र छेउछाउको एरियामा डेरा गरी बस्ने कुल्लीहरू थुप्रै थिए। कमायो खायो गर्ने जीवनशैली भएका ती कुल्लीहरूको उपस्थितिले लक्ष्मी चोकलाई एक प्रकारले सर्वहारा बस्तीको स्वरूप दिएको थियो। अचेल कुल्ली शब्दलाई भरिया वा पोर्टर शब्दले प्रतिस्थापन गरेको छ। भारतमा भने भारी बोक्नेलाई अझै पनि कुल्ली नै भन्छन्। अंग्रेजी भाषामा लेख्ने प्रख्यात भारतीय लेखक मुल्कराज आनन्दले त त्यसै नाममा उपन्यास नै लेखेका थिए र यता आएर कुल्ली शीर्षकमा हिन्दी फिल्महरू पनि बनेका छन्।
आफ्नै घर भएका बासिन्दा पनि सर्वहारा कुल्लीहरूभन्दा धेरै उच्च हैसियतका थिएनन्। सिकर्मी, डकर्मी, चौकीदार, पिउन, सेवानिवृत्त सैनिक, ड्राइभर, खलासी, मिस्त्री, गुमस्ता कारोबारी, टुक्रे ठेकेदारी यस्तै यस्तै पेशा अपनाएका मानिसहरू थिए। अरू हेरी ठूलो काम भनेको स्कूलमा पढाउनु थियो। शिक्षकलाई मास्टर भनिन्थ्यो। सरकारी जागीर खाने हाम्रो टोलमा कोही पनि थिएन। खर्दार, बैदार पदवीधारी समेत कोही थिएनन्। मानिसहरू सानातिना चिया पसल र खुद्रे दुकान चलाउँथे, कागतको सानो सोलीमा सुर्तीको कक्कड बेह्रेर ‘पेपर’ बनाउँथे र बेच्थे। चुरोट त ठूलै कुरा भयो, पातमा बेरिएको बिंडीभन्दा कता हो कता सस्तो त्यो पेपर धूमपानका अम्मलीहरूमा लोकप्रिय थियो।
जीविकोपार्जनको साधनस्रोत ज्यादै सीमित भएको उसवेला हरेक व्यक्ति र परिवारका लागि दुई छाकको गर्जो टार्नु नै ठूलो चुनौती थियो। मानिसमा मुढेबल बाहेक इलम र सीपको पनि अभाव थियो। पानीको पाइप र धारा मर्मत गर्ने वा घर रङ्ग्याउने वा बिजुलीको काम गर्ने वा वेल्डिङ गर्ने जस्ता पेशेवर कामको शुरूआत नै भएको थिएन। किनभने, धरानमा बिजुली बत्ती आउनलाई अझै धेरै वर्ष बाँकी थियो। लेटाङमा उत्पादित बिजुलीको सुविधा केवल विराटनगर र रानी एरियालाई थियो, जहाँ राणाकालमै स्थापित जुट मिल र बबिन मिल जस्ता कारखाना सञ्चालित थिए। सीमित भए पनि पाइपबाट खानेपानी वितरण गर्ने प्रणाली आइसकेको हुनाले प्लम्बिङको काम गर्ने केही व्यक्ति थिए, जसलाई मानिसहरू ‘पिलम्बर’ भन्थे। तर, त्यस्ता पिलम्बर धरानभरिमा मुश्किलले तीन–चार जना थिए होलान्। साइकल नै दुर्लभ वस्तु थियो उसवेला। धरानको भिरालो भौगोलिक प्रकृति त्यस अनुकूल थिएन र मानिसहरूको साइकल किन्ने हैसियत पनि थिएन। त्यसैले साइकल रिक्सा वा ठेला रिक्सा चलाएर खाने सम्भावना पनि शून्य थियो। निरुपाय मानिसहरू, विशेषतः स्वास्नीमानिसहरू खोलाबाट ढुङ्गा ल्याएर गिटी कुट्थे।
धरान वास्तवमा अविभाजित धनकुटा जिल्लाका विभिन्न स्थानबाट झरेका मानिसहरूको बसोबासबाट सिर्जित बस्ती थियो, जो समयक्रममा बढेर ठूलो बजारबाट नगर उन्मुख हुँदै थियो। कोही यहाँ मधेशको खेतीको आयस्ता खान सजिलो हुनाले आएका थिए, कोही रोजगारीको खोजीमा र नयाँ ठाउँमा तकदीर आजमाउन। सबैथरीका मानिसको मिश्रण यहाँ बढ्दै गएको थियो। त्यसको प्रतिविम्ब हाम्रै टोलमा देख्न पाइन्थ्यो। लक्ष्मी चोकलाई केन्द्रबिन्दु मानेर आधा या पौने किलोमिटरको गोलाकार घेरा कोर्ने हो भने त्यस वृत्तभित्र ३६ जातका प्रतिनिधि पात्रहरू भेट्न सकिन्थ्यो।
सडकसित जोडिएको धेरै जमीन आले परिवारको हुनाले तीन–चार घर मगर परिवार त्यहाँ पहिलेबाटै थिए भने त्यसमाथि हाम्रो परिवार थपिएको थियो। एक घर भुजेलको थियो। पाखातिर एक–दुई राई परिवार थिए। राईहरूको मृतकलाई घरको आँगनमै गाड्ने अरूलाई अनौठो लाग्ने चलन थियो। ब्रिटिश सेनाबाट निवृत्त लिम्बू लाहुरेको परिवार पनि पछि आइपुग्यो। हात्तीसार उक्लिने बित्तिकै डिलमै जसो बसेका थिए सार्की र विश्वकर्माका परिवार। मसित अति मिल्ने मेरो बचपनको साथी गोविन्द बोहोराको घर धेरै टाढा थिएन।
डाक्टरी उपचार दुर्लभ भएको उसवेला मेरो मात्र होइन, मेरा भाइबहिनीको बाल्यकालमा झारफुक गरेर र चिन्ता बसेर उपचार गर्नेहरू तीन जना धामी थिए– लामा बाजे, दुङ्माली र गोले मामा। यी तीनै जना तामाङ थिए। परम्परादेखिको वणिक् वृत्तिका कारण नेवारहरूलाई साहु भन्ने चलन रहँदै आएको थियो र नेवार परिवार पनि थिए यहाँ। तर, नेवार हुँदैमा कोही साहु भइहाल्दैन। हाम्रो टोलमा पनि साँच्चिकै व्यापार गर्ने नेवार साहु एक–दुई मात्र थिए। अरूको वृत्ति गैरव्यापारिक र पसिना बगाउने खालको थियो, जस्तो घैंटेको बाबु र बिजुलीको बाबु सिपालु डकर्मी थिए भने डल्लेको बाबु सिकर्मी। बोलक्कड कान्छा कुसुले एउटा गुम्तीमा बसेर लुगा सिलाउँथ्यो। वेलाबखत रातो पछ्यौरा ओढेर हातको कठपुतलीको खेल देखाउँथ्यो।
जसरी आरके नारायण आजीवन मालगुडीसित मानसिक रूपमा जोडिए त्यसरी नै म पनि आफ्नो मालगुडीसित जोडिइरहेको महसूस गर्छु, त्यससित सदैव सम्पृक्त। म आज जे छु र जे छैनँ, जे भएँ र जे भइनँ, त्यसको प्रारूप त्यही मेरो मालगुडीमा पहिल्यै कोरिएको थियो शायद।
अधिकतर घर बाहुन परिवारकै थिए, त्यसमा पनि धेरैजसो जैसीहरूको। उसवेला हामीलाई पूर्वीया र कुमाइँको भेद थाहा थिएन र त्यो भेद कति गहिरो थियो त्यसबारे पनि अनभिज्ञ थियौं। आठराईबाट झरेका थपलिया, प्रसाईं र सिटौलाहरूका घर हाम्रो नजिकै थिए। पूर्वियाहरूमा आचार्य, ढकाल, बास्तोला, रिजाल, खनाल, अधिकारी, नेपाल, दाहाल, गुरागाईं, ओझा, पराजुली आदि टन्नै थिए। आचार्यलाई अचार्ज, खनाललाई खँदाल र भण्डारीलाई भँडारी भन्थे मानिसहरू। केही अचार्ज परिवार भैंसी पाल्थे र दूध बेच्थे। उपाध्याय पनि नभएका होइनन्। हाम्रो स्कूलका टीका भण्डारी गुरु, छेवैका वाग्ले र पौडेलहरू उपाध्याय थिए। पौडेल बाजे नै त थिए जनै पूर्णेमा हामीलाई डोरो बाँधिदिने, कुशे औंशीमा कुशको मुठा ल्याइदिने र नाग पञ्चमीको दिन घरमा नागको चित्र टाँसिदिने।
अंग्रेजी भाषामा लेख्ने भारतका विश्वविश्रुत लेखक आरके नारायणले आफ्नो लेखकीय काल्पनिकीमा मालगुडी नामक एउटा स्थानको निर्माण गरेका थिए र त्यही मालगुडीमा आधारित कथा–कहानीहरू रचना गरेका थिए। उनका धेरै पाठकलाई मालगुडी लेखकको रैथाने थलो कर्नाटकको कुनै गाउँ जस्तो लाग्न सक्थ्यो। तर, मैले यहाँ उल्लेख गरेको धरानको माथ्लो खहरे भनौं, माथ्लो छाताचोक भनौं, पानीट्याङ्की टोल भनौं र अचेलभरिको लक्ष्मी चोक भनौं, कुनै काल्पनिकीको उपज होइन। यो वास्तविक स्थल हो र यहाँ उल्लिखित विवरण वास्तविकतामा आधारित छन्। यद्यपि, म त्यस वास्तविक स्थललाई मालगुडीका रूपमा प्रत्यारोपण गरेर सम्झन चाहन्छु। जन्मिएँ म धनकुटाको डाँडागाउँ नामको पाखोमा, तर यहाँ उल्लेख गरेको दरिद्रताले बास गरेको धरानको एउटा विपन्न टोलमा हुर्कें, बढें, पढें, किशोरावस्था पार गरें र जीवनको पहिलो एक कोरी वर्ष बिताएँ। दुष्कर थियो जीवनयापन र अभावग्रस्त थियो जिन्दगी, पग पगमा ठोकर खानुपर्ने। तैपनि, जीवनको त्यसै अवधिको सजीव चित्रहरू झल्झली आँखामा आइरहन्छन्।
मैले आफू हुर्केको ठाउँलाई मालगुडी भनेर व्यञ्जनायुक्त अभिव्यक्ति दिन खोजेको होइन। अपितु त्यसो गरेर त्यस ठाउँलाई कोमल भावना सहित सम्झिरहन खोजेको हो। जसरी आरके नारायण आजीवन मालगुडीसित मानसिक रूपमा जोडिए त्यसरी नै म पनि आफ्नो मालगुडीसित जोडिइरहेको महसूस गर्छु, त्यससित सदैव सम्पृक्त। म आज जे छु र जे छैनँ, जे भएँ र जे भइनँ, त्यसको प्रारूप त्यही मेरो मालगुडीमा पहिल्यै कोरिएको थियो शायद।
कसरी म भुल्न सक्छु मेरो मालगुडीका ती कष्टसाध्य दिनहरू?
(हिमालको २०७९ असोज अंकबाट)